गृहपृष्ठ तिहारलाई पोखरामा अढाइ करोडको फूलको माग, ८० प्रतिशत स्थानीय उत्पादन
तिहारलाई पोखरामा अढाइ करोडको फूलको माग, ८० प्रतिशत स्थानीय उत्पादन
फाइल तस्बिर
तिहार पर्वको अवसरमा पोखरामा करिब २ करोड ५० लाख रुपैयाँबराबरको फूल खपत हुने अनुमान गरिएको छ । फूलै फूलको पर्व भनेर चिनिने गरेको तिहारमा पोखरा क्षेत्रमा करिब साढे दुई करोडको फूलको माग हुने फ्लोरिकल्चर एसोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीका उपाध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार पोखरा क्षेत्रमा खपत हुने ८० प्रतिशत फूल स्थाीनय नै हुनेछ । भारतीय फूलले २० प्रतिशतजसो अझै पनि बजार लिने उपाध्यक्ष गुरुङले जनाए । यो वर्ष धेरै पानी परेकाले व्यावसायिक फूलखेती फस्टाएको उनको भनाइ छ ।
‘यो वर्षको तिहार गत वर्षको भन्दा केही छिटो भएकाले घर गाउँमा हुने तिहारे फूल समयमै सबै ठाउँमा फूल्ने सम्भावना कम छ,’ उनले भने, ‘व्यावसायिक रुपमा लगाएको फूल भने यो वर्ष धेरै राम्रोसँगै फुल्दै छ ।’ यो वर्ष प्रति थुँगाको ५–६ रुपैयाँ र प्रति माला २ सयदेखि ३ सय रुपैयाँसम्म पर्ने उपाध्यक्ष गुरुङले बताए । भारतीय फूल सस्तो हुने हुँदा सजावटका लागि प्रयोग हुने उनको भनाइ छ । उनका अनुसार भारतीय फूलको मालालाई भने ४० देखि ६० रुपैयाँ पर्छ ।
स्थानीय उत्पादन बढ्दै
पोखरा क्षेत्रका कृषक केही वर्षयता व्यावसायिक फूलखेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा ठूलो मात्रामा भारतबाट फूल आउने गरेकोमा अहिले ८० प्रतिशत स्थानीय उत्पादनले ओगट्ने र भारतबाट २० प्रतिशत फूल मात्र आउने गरेको व्यवसायी बताउँछन् ।
कृषकको फूलप्रति आकर्षण बढ्दै जाँदा काँस्कीसहित स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका जिल्लामा फूलखेती बढेको छ । फान कास्कीमा आबद्ध ३६ जना नर्सरी व्यवसायी पोखरा क्षेत्रका मात्र हुन् ।
मनकामना नर्सरीका सञ्चालक एवं उपाध्यक्ष गुरुङले यो वर्ष पनि तिहार पर्वलाई लक्षित गरी ४५ हजारवटा सयपत्री फूलका बेर्ना बिक्री गरेका छन् । यो वर्ष होटल तथा रेस्टुराँ व्यवसायी बढी फूल किन्न आएको उनले बताए ।
पोखराका बजारमा करिब ५० लाख मूल्यबराबरको भारतीय फूल भित्रिन सक्ने फान कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले बताउँछन् । उनका अनुसार एक करोड रुपैयाँबराबरको पोखराका नर्सरी व्यवसायी र एक करोडबराबरको व्यावसायिक कृषक तथा केही साना किसानबाट फूलको कारोबार हुने अनुमान छ । उनी गोल्डेन नर्सरीका सञ्चालक हुन् ।
निवर्तमान अध्यक्ष द्वाले यो वर्ष करिब ५ रोपनीमा ५ वटा टनेलभित्र फूलखेती गरेका छन् । ‘नर्सरी सञ्चालकका लागि तिहार पर्व भनेकै आयआर्जन गर्ने वर्ष दिनको राम्रो समय हो,‘ उनले भने, ‘यो सिजनमा हरेक पुष्प व्यवसायीले लाखौं आम्दानी गर्छन् ।’
फूल उत्पादन बढे पनि अझै फूलको बीउमा भने भारतलगायतका देशकै भर पर्नुपर्ने स्थिति छ । बीउको परनिर्भरताका कारण लाखौं रुपैया बाहिरिने गरेको उनले बताए । व्यावसायिक फूलखेती गर्नेको संख्या बढ्दै जाँदा भारतीय फूलको बजार विस्थापित हुँदै गएको निवर्तमान अध्यक्ष द्वाले बताए । अब फूलको बीउ उत्पादनमा पनि लाग्न उनले पुष्प व्यवसायीलाई सुझाएका छन् ।
प्रकाशित समय १२:५८ बजे

















