गृहपृष्ठ प्रदेशको आर्थिक समृद्धको यात्रामा सहकारी पनि सहभागी हुनुपर्छ :  मुख्यमन्त्री राई

प्रदेशको आर्थिक समृद्धको यात्रामा सहकारी पनि सहभागी हुनुपर्छ :  मुख्यमन्त्री राई

फाइल तस्बिर

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने बताउनुभएको छ । राष्ट्रसेवा बहुमुखी सहकारी संस्था लिको २१औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले छरिएर रहेका पुँजीलाई एकत्रित गरी कृषिको व्यावसायीकरण, आधुनिकीकरण र रोजगारी सिर्जना गरी प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गरे ।

उनले मुलुकको आर्थिक समृद्धको एउटा खम्बाका रूपमा रहेको सहकारीले जनताको विकास र समृद्धको चाहनालाई पूरा गर्न प्रदेश सरकारसँग हातेमालो गरी हिँड्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालनका लागि ल्याएको सहकारी ऐनको चर्चा गर्दै  अब चाँडै बन्ने नियमावली व्यवस्थाबाट उत्पादनमुखी र रोजगारी सिर्जनामा यसको प्रभावकारी कार्यान्वयनले ठोस रूप लिने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले विकास र समृद्धका लागि गर्न लागेको लगानी सम्मेलनमा पेस गर्ने विभिन्न परियोजनाका विस्तृत अध्ययन प्रतिवेदनमा (डिपिआर) मा सहकारी पुँजी लगानीका लागि स्पष्ट छनोटको प्रस्ताव गरेको जानकारीसमेत गराए । सहकारीका अध्यक्ष जीवन काफ्लेले आव २०७६/७७ का लागि ३३ करोड रुपैयाँको आयव्ययको प्रतिवेशन पेस गरे भने आव २०७५/७६ मा ४६ करोड रुपैयाँको कारोबार, २१ करोड रुपैयाँ निक्षेप संकलन, २३ करोड रुपैयाँ ऋण लगानी भएको जानकारी दिए ।

सोही अवसरमा मुख्यमन्त्री राईले सहकारीको आर्थिक विकासमा योगदान दिने रमेश पोखरेललाई दधिराम दाहाल सहकारी पुरस्कारबाट सम्मानित गरे । यसैगरी उनले सहकारीका ज्येष्ठ सदस्य, सहकारी सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गरेकामा सम्मान गरे । विसं २०५५ मा स्थापना भएको उक्त सहकारीमा ६३१ महिलासहित १ हजार ५८१ सेयर सदस्य छन् । (रासस)

प्रकाशित समय १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु