गृहपृष्ठ जाडोसँगै राडीपाखीको कारोबार बढ्यो

जाडोसँगै राडीपाखीको कारोबार बढ्यो

जाडो बढेसँगै रुकुम पूर्वमा राडीपाखीको व्यापार बढेको छ । चिसो सुरु हुन थालेसँगै जिल्लामा उत्पादित राडीपाखीको व्यापार बढ्दै गएको हो ।

भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट न्यानो कपडा तयार पारिएको हो । स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्विटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोबार बढेको स्थानीय व्यापारीले बताएका छन् । जिल्लामा बर्सेनि असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोबार बढ्ने गर्छ । पुथाउत्तरगंगा र भुमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडापालन गरिने भएकाले भेडाको ऊनबाट विभिन्न प्रकारका न्यानो कपडा तयार पारिन्छ ।

एउटा राडीपाखीको मूल्य १ हजार ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको पुथाउत्तरगंगा गाउँपालिका-५ की सूर्यकुमारी पुनले बताइन् । राडीपाखी न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक बिक्रीवितरण हुन्छ । ‘उत्पादन गरेको कपडाले राम्रै बजार पाएको छ,’ उनले भने । भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बढ्दै गए पनि मागअनुसारको कपडा उत्पादन गर्न नसकेको उनको भनाइ छ ।

जिल्लाको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका महिला राडीपाखीको बिक्रीबाट मनग्ये आम्दानी गर्दै आएका छन् । भुमे गाउँपालिका-८ की भोगीलाख विक प्रत्येक वर्ष आफैँले तयार पारेका राडीपाखी बिक्रीबाट २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको बताउँछिन् । ‘कपडा किन्न व्यापारी घरमै आउने गरेका छन्,’ उनले भनिन् । रुकुम पूर्वमा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँ, नेपालगन्ज,  सुर्खेतलगायत सहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत छ । (रासस)

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु