गृहपृष्ठ दुई वर्षभित्र रोजगार जनसंख्या १० लाखले बढ्ने
दुई वर्षभित्र रोजगार जनसंख्या १० लाखले बढ्ने
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले आउँदो २ वर्षमा नेपालको श्रमशक्तिमध्ये रोगजार जनसंख्या करिब १० लाखले बढ्ने प्रक्षेपण गरेको छ ।
आईएलओले सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट एन्ट सोसल आउटलुक ट्रेन्ड्स २०२०’ अनुसार यस वर्ष नेपालको रोजगारी दर ८२.६ प्रतिशतमा स्थिर छ भने बेरोजगारी दर १.४ प्रतिशतमा झरेको छ ।
आउँदा दुई वर्षमा रोजगारी र बेरोजगारी दर दुवैमा झिनो वृद्धि हुने आईएलओको प्रक्षेपण छ । आईएलओका अनुसार हाल नेपालमा रोजगारीमा रहेका जनसंख्या १ करोड ६७ लाख रहेकोमा सन् २०२२ मा यो अनुपात १ करोड ७७ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।
रोजगारी प्रदान गर्ने क्षेत्रहरूमध्ये कृषि नै अगाडि छ । आईएलओका अनुसार हाल कुल रोजगारीको करिब ६५ प्रतिशत हिस्सा कृषिले, २० प्रतिशत सेवाले र १५ प्रतिशत उद्योगले ओगटेको छ ।
आउँदो दुई वर्षमा कृषिमा रोजगारीको हिस्सा करिब १ प्रतिशतले घट्ने आईएलओको प्रक्षेपण छ ।
यस्तै, बेरोजगारी अनुपातमा वृद्धि भइ १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । हाल विश्वव्यापी रूपमा बेरोजगारी दर ५.४ प्रतिशतमा स्थिर छ ।
प्रकाशित समय १६:४८ बजे

















