गृहपृष्ठ ‘नेपाल इकोनोमिक्स ओलम्पियड २०२०’ शुक्रबारदेखि

‘नेपाल इकोनोमिक्स ओलम्पियड २०२०’ शुक्रबारदेखि

‘नेपाल इकोनोमिक्स ओलम्पियड (एनईओ) २०२०’को राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । युवा अर्थशास्त्रीहरुको संस्था योङ इकोनोमिष्ट सोसाईटी नेपालले आयोजना गरेको प्रतियोगिताले अर्थशास्त्र, वित्त र व्यवासयमा प्रतिभाशाली विद्यार्थीको खोजी गर्नेछ ।

उत्कृष्ट पाँच प्रतिस्पर्धी विद्यार्थीले काजकिस्तानमा हुने ‘इन्टरनेशनल इकोनोमिक्स ओलम्पियड (आईईओ) २०२०’का लागि नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । आगामी जुन २१ देखि ३० सम्म काजकिस्तानको नुर सुल्तानमा प्रतियोगिता आयोजना हुने तय भएको छ । इन्टरनेशनल इकोनोमिक्स ओलम्पियड २०१९ मा नेपालकी दीपशिखा श्रेष्ठले काश्य पदक जितेकी थिइन् ।

सन् २०२० को इन्टरनेशनल ओलम्पियडमा स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रतियोगिताका तयारी भइरहेको सोसाईटीका अध्यक्ष अभिषेक पाण्डेले बताए । नेपाल इकोनोमिक्स ओलम्पियड २०२० का लागि क्षेत्रीय छनौट कार्यक्रम काठमाडौं, इटहरी, वीरगञ्ज, भरतपुर, बुटवल र पोखरामा आयोजना गरिएको थियो ।

गत १ फेब्रुअरीमा आयोजित प्रतिस्पर्धामा २ सय ५० जना सहभागी थिए । क्षेत्रीय छनौटकै अवसरमा करिब ६ सय विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता कार्यक्रमसमेत गरिएको थियो । राष्ट्रिय प्रतिस्पर्धाका लागि ६० जना विद्यार्थी छनौट भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

यूलेन्स स्कुल काठमाडौंमा हुने तीन दिने राष्ट्रिय छनौट प्रतिस्पर्धाकै क्रममा तालिम, मन्तव्य, अनुभव साटासाट, अन्तर्क्रियालगायत कार्यक्रमसमेत गरिने छ ।

प्रकाशित समय १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु