गृहपृष्ठ घरेलु तथा साना उद्योग महासंघद्वारा बैंकको ब्याज तथा हर्जाना छुट माग

घरेलु तथा साना उद्योग महासंघद्वारा बैंकको ब्याज तथा हर्जाना छुट माग

कोरोना भाइरसले ल्याएको विषम परिस्थितिका कारण गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा महासंघले घोषित आफ्ना कार्यक्रमहरु स्थगित गरेको हो ।

अन्य मुलुकको तुलनामा हालसम्म न्यून संक्रमण देखिएको भए पनि सजगता र सावधानी अपनाइएन भने यसले नेपालमा पनि महामारीको रुप लिनसक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ ।

महासंघद्वारा घोषित कार्यक्रमअन्तर्गत यही चैत १४, १५, १६ काठमाडाैंमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए ।

‘कोरोना भाइरसका कारण नेपालको औद्योगिक क्षेत्र, पर्यटन व्यवसाय तथा सानो पूँजीमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु धराशायीमा परेको तथा भ्रमण वर्ष २०२० समेत स्थगनमा परेको छ । संक्रमणको त्रासले नेपालको औद्योगिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको छ । छिमेकी राष्ट्र भारतसँग जोडिएका चार वटा नाका मात्र खोलेकाले उद्योग क्षेत्रलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा असहजता थपिएको छ,’ महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले भने ।

यसैगरी नेपालको औद्योगिक क्षेत्रमा कार्यरत विदेशी श्रमिकहरु सुरक्षाका लागि आफ्नो मुलुक फर्किएका र स्वदेशी जनशक्तिसमेत सुरक्षित स्थानतर्फ लागेकाले उद्योग क्षेत्रमा जनशक्तिको अभाव हुँदै गएको उनले बताए । कच्चा पदार्थ, जनशक्तिको अभाव, सन्त्रासको वातावरणका कारण उत्पादकत्वमा कमी भई नेपालको औद्योगिक क्षेत्रमा विचलन आएको भन्दै महासंघले यस्तै अवस्था अरु केही समय रहेमा उद्योगहरु बन्द गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

कोरोना भाइरसका कारणले औद्योगिक क्षेत्रलाई असर पारे पनि उद्योगहरुले कर्मचारी तथा मजदुरहरुलाई पारिश्रमिक दिइनुपर्ने, प्रशासनिक खर्च भइरहने र बैंकको ब्याज लागिरहने भएकाले उद्योग क्षेत्र खास गरेर लघु, घरेलु तथा साना उद्योगीहरु मर्माहत भएको महासंघले जनाएको छ ।   कोरोना भाइरसबाट पीडित लघु, घरेलु तथा साना उद्योगका लागि विभिन्न व्यवस्था गरिदिन पनि  सरकारसँग महासंघले आग्रह गरेको छ ।

कोरोना संक्रमण अवधिमा लागेको बैंकको व्याज तथा हर्जाना छुट हुनुपर्ने तथा चैत मसान्तसम्म बुझाउनु पर्ने आयकरको किस्ता बुझाउने म्याद अर्को तीन महिनाका लागि थप गर्नुपर्ने महासंघले माग गरेको छ । उद्योग नवीकरण गर्ने म्याद हाललाई कम्तीमा छ महिना थप गरी नवीकरण शुल्क मिनाहा गरिनुपर्ने, वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशी उद्योगमा प्रतिस्थापन गर्न वा नयाँ उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्न उचित सीप विकास तालिम प्रदान गर्नुपर्ने महासंघको आग्रह छ ।

राज्यका संयन्त्रबाट दिईने अन्य छुट, सुविधा वा सहुलियतको लागि निर्णय हुनुपर्ने भन्दै सरकारले सार्वजनिक स्थलहरुमा स्यानीटाइजर तथा माक्सको व्यवस्था गरिदिनु पर्नेमा महासंघको जोड छ ।
.

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु