गृहपृष्ठ कोरोना कोषमा सहयोग आउने क्रम जारी, हालसम्म २ अर्ब १३ करोड
कोरोना कोषमा सहयोग आउने क्रम जारी, हालसम्म २ अर्ब १३ करोड
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ रूपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म उक्त परिमाणमा सहयोग रकम जम्मा भएको हो ।
सरकारी संघसंस्था वा निकायबाट सहयोग आउने क्रम जारी छ । प्राप्त विवरणअनुसार अम्बे स्टिलले २५ लाख, सगरमाथा इन्स्योेन्स कम्पनीले १६ लाख, नेपाल इँटा उद्योग महासंघले पाँच लाख रूपैयाँ कोषमा जम्मा गरेका छन् ।
यस्तै नेपाल निजामती कर्मचारी संगठन, अर्थ विभागीय कार्य समितिले दुई लाख एक हजार १११, क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले एक लाख ६८ हजार ४५३, डिभिजन वन कार्यालय सल्यानले एक लाख ६२ हजार ५०५, चामुन्द्रा विन्दासैनी नगरपालिकाले एक लाख ५८ हजार १३३ जम्मा गरेको छ भने र भीमप्रसाद भट्टराईले एक लाख ३१ हजार १३१ रूपैयाँ रकम कोषमा जम्मा गरेका छन् ।
नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाको ४६ लाख ५९ हजार २८३ रूपैयाँ रकम जम्मा भएको प्रवक्ता पौडेलले जानकारी दिए । सरकारले गत चैत १० गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा उपचार कोष खाता सञ्चालनमा ल्याएको हो ।
प्रकाशित समय १८:१९ बजे

















