गृहपृष्ठ अचम्मसँग घट्यो नेपालबाट बाहिरिने रेमिट्यान्स

अचम्मसँग घट्यो नेपालबाट बाहिरिने रेमिट्यान्स

भारतले लग्यो रु एक खर्ब ८० अर्ब

Remittance_NewsKarobar

सन् २०१८ मा नेपाल भित्रने रेमिट्यान्सको अघिल्लो वर्षका तुलनामा उल्लेख्य अनुपातमा बढेको भए पनि नेपालबाट बाहिरिने रेमिट्यान्स भने करिब ४४ प्रतिशतले घटेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।

बैंकले तयार पारेको द्विपक्षीय रेमिट्यान्स प्रवाह सूचकांक–२०१९ अनुसार सन् २०१८ मा नेपालबाट जम्मा १ अर्ब ८० करोड ७० लाख अमेरिकी डलर (करिब २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ) रेमिट्यान्सबापत नेपालबाट बाहिरिएको छ ।

सन् २०१७ मा नेपालबाट ३ अर्ब २२ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ६४ अर्ब रुपैयाँ) नेपालबाट बाहिरिएको थियो ।

बैंकका अनुसार सन् २०१८मा नेपालबाट भारतले सर्वाधिक धेरै १ खर्ब ८० अर्ब रुपैयाँ (१ अर्ब ५९ करोड ४० लाख अमेरिकी डलर) रेमिट्यान्स लगेको छ भने भारतबाट नेपालले १ खर्ब ५१ अर्ब रुपैयाँ (१ अर्ब ३३ करोड ७० लाख डलर) रेमिट्यान्स भित्रिएको छ ।

सन् २०१७ मा भारतले नेपालबाट सवा ३ खर्ब रुपैयाँ (३ अर्ब १ करोड ६० लाख डलर)बराबरको रेमिट्यान्स लगेको थियो भने भारतबाट नेपालमा सवा १ खर्ब रुपैयाँ (१ अर्ब २ करोड १० लाख डलर) रेमिट्यान्स भित्रिएको बैंकको विवरणमा उल्लेख छ ।

नेपालका खासगरी सीमावर्ति क्षेत्रमा रहेका उद्योग, व्यवसाय तथा कलकारखानाहरूमा ठूलो संख्यामा भारतीय नागरिकहरू कार्यरत छन् । तीबाहेक नेपालमा कवाडी संकलन र व्यापार, कपाल काट्ने व्यवसाय, पलम्बिङ, इलेक्ट्रेसियन, घर निर्माणमा मिस्त्रीलगायतका क्षेत्रमा समेत भारतीय कामदारहरू कार्यरत छन् ।

यस्तै, बारा–पर्सा, रुपन्देही, बाँके, मोरङलगायतका क्षेत्रहरूका मौसमी कृषि कामदारका रूपमा समेत भारतीयहरू आउने गरेका छन् भने काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा तरकारी व्यापार, फलफूल व्यापार आदिमा समेत भारतीय कामदार संलग्न छन् ।

यसरी नेपालका विभिन्न क्षेत्रमा संलग्न करिब ६ लाख भारतीयहरूले यहाँ काम गरेर भारतमा रेमिट्यान्स लाने गरेका हुन् ।

भारतपछि नेपालबाट रेमिट्यान्स धेरै लैजाने मुलुकमा चीन परेको छ । सन् २०१८ मा चीनले नेपालबाट करिब १६ अर्ब २७ करोड रुपैयाँ (१४ करोड ४० लाख अमेरिकी डलर) रेमिट्यान्स लगेको विश्व बैंकले जनाएको छ ।

नेपालका जलविद्युत्, सडकलगायतका पूर्वाधार आयोजनाहरू तथा चिनियाँ संयुक्त लगानीका होटल तथा रेष्टुँरा र उद्योगहरूका कार्यरत चिनियाँ नागरिकहरूले यो अनुपातको रेमिट्यान्स लगेका हुन् ।यसैगरि पाकिस्तानले ३ अर्ब ८४ करोड (३ करोड ४० लाख डलर), भुटानले ३ अर्ब ७२ अर्ब ९० लाख (३ करोड ३० लाख डलर) लगेका छन् भने श्रीलंकाले २२ करोड रुपैयाँ (२० लाख डलर) र बंगलादेशले ११ करोड (१० लाख डलर) रेमिट्यान्स नेपालबाट लगेका छन् ।

यो पनि पढ्नु होस्ः

नेपाल भित्रने रेमिट्यान्स १४ प्रतिशतले घट्छ : विश्व बैंक

रेमिट्यान्स सवा सात अर्ब डलरमात्रै : आईएमएफ

प्रकाशित समय १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु