गृहपृष्ठ धनगढी उपमहानगरपालिकाले बजेट घटायो,

धनगढी उपमहानगरपालिकाले बजेट घटायो,

बजेट प्रस्तुत गर्दै उपप्रमुख भट्ट ।

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले करिब १ अर्ब बजेट घटाएको छ । गत वर्षको तुलनामा करिब १ अर्ब बजेट कम ल्याएको हो ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बुधबार आयोजित नगरसभामा उपमहानगरकी उपप्रमुख शुसिला मिश्र भट्टले १ अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट बजेट प्रस्तुत गरेकी हुन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि गत वर्ष २ अर्ब ५१ करोड बजेट बिनियोजन गरेको थियो । यस वर्ष भने कोरोनाका कारण आम्दानी घटेको भन्दै उपमहानगरपालिकाले ८८ करोड बराबर बजेट घटाएको हो ।

प्रस्तुत बजेटअनुसार पुँजीगततर्फ ७८ करोड मात्रै बजेट प्रस्तुत भएको छ । चालु खर्चतर्फ ८५ करोड बजेट प्रस्तुत भएको हो । बजेटमा आयतर्फ आन्तरिक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, वित्तीय समानीकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।

बजेटमा कोभिड- १९ बाट सिर्जित संकट व्यवस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चारलाई प्राथमिकतामा राखिएको छ । यसैगरी आगामी वर्षको बजेटमा पर्यटन प्रर्वद्धनको क्षेत्रमा विशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरणमा विशेष जोड दिने उल्लेख छ ।

कोरोना महामारीलाई मध्यनजर गरी स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट आएको उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए । बढ्दो बेरोजगारीलाई न्युनीकरण गर्ने कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिई बजेट प्रस्तुत भएको मेयर वडको भनाइ छ । साथै बजेट कार्यान्वयनका लागि समयमै अख्तियारी दिइनेसमेत मेयर वडले उल्लेख गरे ।

प्रस्तुत बजेटबारे विपक्षी नगरसभा सदस्यहरुले भने नकारात्मक टिप्पणी गरेका छन् । उपमहानगरपालिकाले यतिबेला केही नयाँ र देखाउनलायक कार्यक्रम ल्याउनुपर्नेमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको नेकपाबाट निर्वाचित नगरसभा सदस्य तथा धनगढी उपमहानगरपालिका ३ का अध्यक्ष बलबहादुर ऐरले बताए । सबै क्षेत्रलाई समेटेर बजेट बिनियोजन गर्नुपर्ने उपमहानगरले त्यो पनि गर्न नसकेको ऐरको टिप्पणी छ ।

प्रकाशित समय २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु