गृहपृष्ठ विद्युतीय माध्यमबाट कारोबार गर्न ब्रोकर्स एसोसिएसनको आग्रह
विद्युतीय माध्यमबाट कारोबार गर्न ब्रोकर्स एसोसिएसनको आग्रह
धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले सेयर लगानीकर्तालाई कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा शुक्रबार जारी विज्ञप्त मार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आईपीएसलगायतका विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध हुन र सोही अनुसार कारोबार गर्न भनेको हो ।
यस्तै धितोपत्र दलाल व्यवसायीलाई अग्रीम रुपमा तथा धितोपत्र खरिदपश्चात् गर्ने भुक्तानीसमेत विद्युतीय माध्यमबाट मात्रै गर्न आग्रह गरिएको छ । राजधानी काठमाडौँलगायतका विभिन्न स्थानमा कोरोनाको संक्रमण फैलिएपछि सरकारले निषेधाज्ञा घोषणा गरेको सन्दर्भमा त्यसलाई पूर्णरुपमा परिपालना गर्दै एसोसिएसनले यस्तो विषम अवस्थामा सीमित बैंकिङ कारोबार भएको तथा चेकमार्फत सेयर खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीलाई अप्ठ्यारो पर्ने जनाएको छ ।
एसोसिएसनले नेपाल धितापत्र बोर्डले भदौ ३ गते जारी गरेको निर्देशन र त्यसमा उल्लेख भएअनुसार थप १५ दिनभित्रमा धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम विद्युतीय भुक्तानी माध्यमबाट मात्रै गर्न समेत पुनः स्मरण गराइएको छ । सो अवधिमा धितोपत्र दलाल व्यवसायीले विद्युतीय माध्यमबाट भन्दा अन्य माध्यमबाट भुक्तानी लिन नसक्नेसमेत स्पष्ट पारेको छ ।
प्रकाशित समय २१:१५ बजे

















