गृहपृष्ठ नेपालको वैदेशिक व्यापार घाटा २२ प्रतिशतले घट्यो, निर्यात व्यापारमा लगातार वृद्धि
नेपालको वैदेशिक व्यापार घाटा २२ प्रतिशतले घट्यो, निर्यात व्यापारमा लगातार वृद्धि
चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा नेपालले करिब साढे ९५ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले आज जारी गरेको तथ्यांकअनुसार ९० मुलुकसँग (एक लाखभन्दा बढी कारोबार गर्ने) ९५ अर्ब ४२ करोड ८० लाख रुपैयाँबराबरको व्यापार गरेको हो ।
चालू आवको साउनमा भएको यो व्यापार १७.४२ प्रतिशत कम हो । गत वर्षको साउनमा नेपालले १ खर्ब १५ अर्ब ५६ करोड २४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
विभागका अनुसार नेपालले समीक्षा अवधिमा ८५ अर्ब ८० लाख रुपैयाँको सामान आयात गरेको छ भने ९ अर्ब ६२ करोड रुपैयाँको निर्यात गरेको छ । प्रतिशतका आधारमा आयात १९.६ प्रतिशतले घटेको छ भने निर्यात ८.८६ प्रतिशतले बढेको छ ।
गत वर्षको तुलनामा समग्र व्यापार घाटा २२.१७ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार गत वर्षको साउनमा ९७ अर्ब ८८ करोड ८२ लाख रुपैयाँको व्यापार घाटा भएकोमा यो वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ व्यापार घाटा भएको विभागले जनाएको छ ।
गत वर्षको साउनमा नेपालको व्यापार घाटा अघिल्लो वर्षको साउनको तुलनामा १३.९ प्रतिशतले घटेको थियो भने आयात व्यापार ११.५१ प्रतिशतले घटेको तथा निर्यात २७.८६ प्रतिशतले बढेको थियो ।
साउनमा १ अर्ब २३ करोडको रासायनिक मल आयात
भन्सार विभागको तथ्यांक अनुसार साउनमा मात्रै १ अर्ब २३ करोडको रासायनिक मल आयात भएको छ । कृषि तथा सहकारी मन्त्रालयले हालैमात्र समयमा कृषकसम्म मल पुर्याउन नसकिए पनि आगामी दिनमा मल अभाव हुन नदिने प्रतिबद्धता जनाएको थियो
मन्त्रालयले साउनमा ठूलो परिमाणमा मल आयात हुने जानकारी पनि गराएको थियो । नेपालबाट रासायनिक मल भने उत्पादन तथा निकासी हुँदैन ।
वार्षिक एक लाख रुपैयाँभन्दा कम मूल्यको व्यापार हुने मुलुकबाहेकलाई हेर्ने हो भने नेपालले चालू आवको साउनमा २७ मुलुकसँग एकतर्फी व्यापार गरेको छ । तीमध्ये सात मुलुकमा सामान निर्यातमात्र गरेको नेपालले २० मुलुकबाट सामान आयातमात्र गरेको छ ।
नेपालले बेनिन, कोमोरस, कोस्टा रिका, डोमिनिकन रिपब्लिक, इजिप्ट, गाबोन, जर्जिया, जोर्डन, दक्षिण कोरिया, माल्टा, ओमन, पाराग्वे, फिलिपिन्स, पुर्तो रिको, सिरिया लियोन, श्रीलंक, सुडान, स्वाजिल्यान्ड, युक्रेन र भेनेजुयलाबाट सामान आयातमात्र गरेको छ । त्यस्त् अजरबैजान, चाड, चिली, आइसल्यान्ड, लेबनान, लाइबेरिया र मलेसियामा सामान निर्यातमात्र गरेको छ । समीक्षा अवधिमा नेपालले १५ करोड २७ लाख २४ हजार रुपैयाँबराबरको सामान कुन देशबाट आयात गरेको हो भन्ने विभागलाई नै जानकारी छैन । यसरी आयातीय सामानलाई विभागले ‘नट स्पेसिफाइड’ भनेर उल्लेख गरेको छ ।
भारतसँग ठूलो व्यापार घाटा
पहिलो महिनामा नेपालको भारतसँगै सबैभन्दा ठूलो व्यापार घाटा भएको छ । साउनमा नेपालले ५६ अर्ब ३९ करोड २७ लाख रुपैयाँबराबरको सामान भारतबाट आयात गरेको छ भने ६ अर्ब ३१ करोड ७९ लाख रूपैयाँको सामान भारत निर्यात गरेको छ ।
त्यस्तै, नेपालले चीनबाट ११ अर्ब १७ लाख ७९ हजार रुपैयाँको आयात तथा ५ करोड ६० लाख रुपैयाँको मात्र सामान निर्यात गरेको छ । नेपालले चालू आवको पहिलो महिनामै दक्षिण कोरियासँग २ अर्ब १४ करोड, अर्जेन्टिनासँग १ अर्ब ९० करोड, दक्षिण अफ्रिकासँग १ अर्ब २८ करोड र युक्रेनसँग ९९ करोडको व्यापार घाटा गरेको छ ।
त्यस्तै बंगलादेशसँग ४० करोड, अस्ट्रेलियासँग २८ करोड, बेल्जियमसँग २० करोड, ब्राजिलसँग ४६ करोड, क्यानडासँग १ अर्ब ५४ करोड, इन्डोनेसियासँग ६१ करोड, जापानसँग ७३ करोड, मलेसियासँग ५८ करोड, म्यानमारसँग ३६ करोड, पाराग्वेसँग २८ करोड, साउदी अरबसँग ३० करोड, थाइल्यान्डसँग ५४ करोड, यूएईसँग ३३ करोड, अमेरिकासँग ३८ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरिसकेको विभागले जनाएको छ ।
सुन आयात शून्य, चाँदी १५ सय किलो आयात
नेपालमा समीक्षा अवधिमा कति पनि सुन आयात भएको छैन । २२ लाख ४२ हजार रुपैयाँबराबरको सुनका गहना भने आयात भएको तथ्यांकमा उल्लेख छ । यी गहना उत्तर कोरिया, कतार, यूएई र अमेरिकाबाट आयात भएका हुन् । विभागका अनुसार नेपालले यूएईबाट ७ करोड ६१ लाख ४६ हजार रुपैयाँबराबरको १ हजार किलो चाँदी आयात गरेको छ ।
भटमासको तेल र पाम आयल
साउनमा मात्रै नेपालमा २ अर्ब ५६ करोड २२ लाख रुपैयाँको भटमासको तेल (कच्चा तथा रिफाइन्ड) आयात भएको छ भने २ अर्ब २७ करोड ५ लाख रुपैयाँको कच्चा तथा रिफान्ड भटमासको तेल निकासी भएको छ ।
त्यस्तै नेपालमा कच्चा तथा रिफाइन गरी ४४ करोड ८८ लाख रूपैयाँबराबरको पाम आयल आयात भएको छ । विभागको तथ्यांकअनुसार यो अवधिमा पाम आयल कति पनि परिमाणमा निर्यात गरेको छैन ।
यो अवधिमा नेपालबाट ३ करोड ५९ लाख रुपैयाँको कच्चा सूर्यमुखी फूलको तेल, बीउ र प्रशोधित तेल निर्यात भएको छ भने १ अर्ब ५ करोड २६ लाख रुपैयाँको आयात भएको छ ।
अलैंची, अदुवा, यार्सागुम्बा
नेपालबाट एक महिनामा ४७ करोड ६२ लाख ६४ हजार रुपैयाँको ५ लाख ९५ हजार २८० किलो अलैँची निकासी भएको छ । विभागका अनुसार प्रतिकिलो औसत ८ सय रुपैयाँका दरले अलैँची भारत निकासी भएको हो । त्यस्तै १ करोड ५१ लाख ६२ हजार रुपैयाँको अदुवा तथा सुठो भारत र बंगलादेश निकासी भएको छ ।
साउनमा नेपालबाट ९३ लाख ६९ हजार रुपैयाँको १६ किलो यार्सागुम्बा निकासी भएको छ । प्रतिकिलो औसत ५ लाख ८५ हजार रुपैयाँका दरले भियतनाममा ३ र हङकङमा १३ किलो यार्सागुम्बा निर्यात भएको हो ।
नेपालबाट एक महिनामा अस्ट्रेलिया, भारत र अमेरिकामा २ करोड ३८ लाखको चिउरा निकासी भएको छ । त्यस्तै चीन र भारतमा १७ लाख ५४ हजारको रुद्राक्ष बाहिरिएको छ । चीनमा ११ लाख ५५ हजार र भारतमा ५ लाख ९९ हजारको रुद्राक्ष बिक्री भएको हो । त्यस्तै ७४ लाख १३ हजारको अगरबत्ती र १० लाख ८१ हजारको माछा मार्ने बल्छी निर्यात भएको छ ।
भन्सारअनुसार आयात‑निर्यात स्थिति
कोरोनाभाइरसका कारण भन्सारहरूको आयात‑निर्यात स्थिति पनि प्रभावित भएको छ । गत वर्ष साउनको कुल निर्यातको २९.१९ प्रतिशत वीरगन्जबाट, २८.१६ प्रतिशत विराटनगरबाट, २१.८१ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र ११.८४ प्रतिशत मेची भन्सारबाट निर्यात भएकोमा यो वर्ष २८.५ प्रतिशत वीरगन्जबाट, २४.८ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट, २४.१७ प्रतिशत विराटनगरबाट र १४.२३ प्रतिशत मेची भन्सारबाट निर्यात भएको छ ।
त्यस्तै गत वर्षको साउनमा वीरगन्जबाट ३३.९५, भैरहवाबाट १७.३६, वीरगन्ज ड्राइपोर्टबाट १४.६, विराटनगरबाट ११.५ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९.३३ प्रतिशत आयात भएको थियो भने यो वर्ष वीरगन्जबाट २७.५५, भैरहवाबाट २१.२९, विराटनगरबाट १२.२९, वीरगन्ज ड्राइपोर्टबाट ११ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०.४६ प्रतिशत आयात भएको छ । अन्य भन्सारको आयात‑निर्यात हिस्सा धेरै सानो भएकाले उल्लेख गरिएको छैन ।
प्रकाशित समय १४:२८ बजे

















