गृहपृष्ठ संकटका बेला पनि धेरै घटेन रेमिट्यान्स
संकटका बेला पनि धेरै घटेन रेमिट्यान्स
लकडाउनपछि भित्रियो २ खर्ब ८३ अर्ब
बितेको आर्थिक वर्ष २०७६/७७ (सन् १०१९/२०२०)मा विश्वव्यापी आर्थिक संस्थाहरूले नेपाल भित्रने रेमिट्यान्स औसतमा १४ प्रतिशतले घट्ने अनुमान गरेको भए पनि विदेशमा काम गरिरहेका नेपालीले लगभग अघिल्लो वर्षजति नै रेमिट्यान्स पठाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालमा ८ खर्ब ७५ अर्ब २ करोड रूपैयाँ रेमिट्यान्स पठाएका छन्, यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ का तुलनामा केवल ०.५ प्रतिशतमात्र कम हो ।
आव २०७५/७६मा नेपालमा कुल ८ खर्ब ७९ अर्ब २७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
विश्वभरिका श्रम गन्तव्यमा रहेका नेपालीहरूको रोजगारीमा उत्पन्न संकटका कारण राष्ट्र बैंकले बितेको वर्ष ६ प्रतिशतले रेमिट्यान्स घट्ने अनुमान गरेको थियो ।
कुल गार्हस्थ्य उत्पादनको तुलनामा भित्रिएको रेमिट्यान्स अनुपात २३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो २५ प्रतिशतको हाराहारी थियो ।
लकडाउनपछि भित्रियो २ खर्ब ८३ अर्ब
मुलुकमा कोरोना भाइरसको महामारी विस्तार नहोस् भनेर चैतदेखि लगाइएको लकडाउनयता असारसम्म कुल २ खर्ब ८३ अर्ब ८० करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षका समान अवधिका तुलनामा करिब ५ प्रतिशत कम हो ।
आव २०७५/७६मा चैतदेखि असार मसान्तसम्म २ खर्ब ९७ अर्ब १० करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
०७६ चैतमा ३४ अर्ब ५० करोड रूपैयाँमात्रै ०७७ वैशाखमा ५३ अर्ब ९० करोड, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब ४० करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । मासिक रूपमा भित्रिएको रेमिट्यान्समा जेठ र असारमा भित्रिएको रेमिट्यान्स गत वर्षभन्दा बढी हो ।
विदेशबाट नेपाल फर्केका श्रमिकले आफूले बोकेर ल्याएको आयका कारण यी रेमिट्यान्स बढेको हो । प्रायः आप्रवासी कामदारले यसबेलामा आफूसँग भएको सबै सञ्चित बोकेर स्वदेश फर्किएका छन् ।
कोरोना भाइरस महामारीका कारण यात्रा प्रतिबन्धलगायतका कारणले गत आवमा विदेश जाने नयाँ नेपाली कामदारको संख्यामा २०.५ प्रतिशतले र नवीकरण गरेर विदेश जाने कामदारका संख्यामा ३४.७ प्रतिशतले कमी आएको तथा विदेशका श्रम गन्तव्यबाट नेपाली फर्कने क्रम तीव् भएकाले चालू आर्थिक वर्षमा भने रेमिट्यान्स आय व्यापक घट्ने देखिन्छ ।
प्रकाशित समय १८:२६ बजे

















