गृहपृष्ठ कर्णाली भित्रिने नाकामै परीक्षण, ८ जना सवारी चालकमा कोरोना संक्रमण
कर्णाली भित्रिने नाकामै परीक्षण, ८ जना सवारी चालकमा कोरोना संक्रमण
कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड- १९) समुदायस्तरमा फैलिएको समयमा प्रदेश भित्रिनेहरु समेत संक्रमणमुक्त छैनन् । कर्णालीको बबई नाकामा गरिएको परीक्षणमा मालबाहक सवारी चालक ८ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली तथा अन्य प्रदेशका सात जिल्लाका ती आठजना चालकमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । उनका अनुसार चितवनको भरतपुर महानगरनगरपालिका र राप्ती नगरपालिकाका दुईजना पुरुष, कञ्चनपुर बेलडाँडी गाउँपालिकाका दुईजना पुरुष, बनगाड कुपिण्डे नगरपालिकाका एकजना पुरुष, लम्कीचुहा नगरपालिका कैलालीका एकजना पुरुष, हरिवन नगरपालिका सर्लाहीका एकजना पुरुष, बुटवल उपमहानगरपालिका रुपन्देहीका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
गत भदौ १ गतेयता प्रदेश नं. ५ र कर्णाली प्रदेशका सीमा नाका बबईमा कर्णाली भित्रिनेहरुको आरटी-पीसीआर परीक्षण गर्न सुरु गरिएको थियो । करिब साढे ६ सय जनामा गरिएको परीक्षणमा दशजनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य प्रमुख वाग्लेले बताए । यसअघि दुईजनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेहरुमा सबै फलफुल, सरिया-सिमेन्ट लगायतका सामान ढुवानी गर्ने सवारी साधनका चालकहरु रहेको उनले बताए । हालसम्म कर्णालीमा अन्य प्रदेशका संक्रमितका संख्या ९६ पुगेको छ ।
प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार हालसम्म कर्णालीमा कोरोना संक्रमितका संख्या २ हजार २ सय ९५ पुगेको छ । सोमबार प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ११, चौरजहारी नगरपालिका पीसीआर परिक्षण प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा ३७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका गरिएको परीक्षणबाट ३ जनामा कोरोना पुष्टि भएको थियो ।
महाशाखाका अनुसार हालसम्म कर्णालीमा कोरोना निको भएकाहरुको संख्या १ हजार ९ सय ९२ पुगेको छ भने प्रदेशभर २ सय ९७ सक्रिय बिरामी रहेका छन् । गत जेठ ५ गतेयता कर्णालीमा कोरोनाका संक्रमित देखिन थालेदेखि हालसम्म ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
प्रकाशित समय १८:५७ बजे
















