गृहपृष्ठ महासंघ साधारण सभाको मोडालिटी तयार गर्न गठित समितिद्वारा सुझाव पेस
महासंघ साधारण सभाको मोडालिटी तयार गर्न गठित समितिद्वारा सुझाव पेस
नेपाल उद्योग वाणिज्य महासंघको महासंघको ५४औं वार्षिक साधारण सभा र निर्वाचनको कार्यलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले सुझाव प्रतिवेदन पेस गरेको छ । साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो । समितिलाई मन्त्रालय, निकाय, कोभिड १९ उच्चस्तरीय समिति र स्वास्थ्यसम्बन्धी विज्ञहरुका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो । समितिले प्राप्त कार्यादेशअनुसार कार्य सम्पन्न गरी महासंघका अध्यक्ष राणासमक्ष प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्य निर्देशन पालना गरी क) सबै क्षेत्र (जिल्ला/नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा ख) जिल्ला/नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा र ग) कम्प्युटराइज/ई-भोटिङमार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडल सुझाएको छ ।
समितिमा जिल्ला/नगर उद्योग वाणिज्य संघ क्षेत्रबाट अरुणराज सुमार्गी र डीबी बस्नेत, वस्तुगत क्षेत्रबाट ई. विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ र एसोसिएट क्षेत्रबाट भरतराज आचार्य र रञ्जितराज आचार्य छन् ।
प्रकाशित समय ०७:०२ बजे

















