गृहपृष्ठ ट्राफिक नियम उल्लंघन गर्ने २० हजार चालकलाई १ करोड ७२ लाख जरिवाना
ट्राफिक नियम उल्लंघन गर्ने २० हजार चालकलाई १ करोड ७२ लाख जरिवाना
फाइल तस्बिर
ट्राफिक नियम पालना नगर्दा गत वर्ष कर्णाली प्रदेशका करिब २० हजार सवारी चालकले १ करोड ७२ लाख रुपैयाँभन्दा बढी जरिवाना तिरेका छन् । सवारी चालक अनुमतिपत्र नबोक्ने, नो पार्किङमा सवारी साधन रोक्नेलगायतका ट्राफिक नियम उल्लंघन गर्दा चालकहरुले सो जरिवाना तिरेका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ सालमा कर्णाली प्रदेशभर १९ हजार ७६४ जना सवारी चालकले १ करोड ७२ लाख ६४ हजार ३ सयरुपैयाँ जरिवाना तिरेका छन् । सबैभन्दा बढी ६ हजार ३१८ जना मोटरसाइकल चालकले ५६ लाख ९४ हजार राजस्व तिरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कार्यलयका अनुसार २ हजार ३५८ जना ट्रक चालकले २० लाख ३१ हजार २ सय, २ हजार ७६६ बस चालकले २४ लाख २१ हजार २ सय, ३ हजार २३७ जिप तथा भ्यान चालकले ३१ लाख ३६ हजार ४ सय, २ हजार ९२ ट्रयाक्टर चालकले १७ लाख ८४ हजार ५ सय र २ हजार ५९३ ट्याम्पो चालकले २१ लाख ९७ हजार राजस्व तिरेका हुन् ।
विभिन्न सवारी साधन तथा विभिन्न शीर्षक गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ७० लाख ५२ हजार ८ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले ३२ लाख ९१ हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले १७ लाख ५२ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले १४ लाख १५ हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले ९ लाख ४० हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले ५ लाख ३ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले १४ लाख ६३ हजार ५ सय, मुगुले ८७ हजार, डोल्पाले ७ लाख ५८ हजार ५ सय जरिवानाबापतको राजस्व उठाएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक गंगा बिकले जानकारी दिए । हुम्लामा भने कुनै पनि सवारी साधन कारबाहीमा नपरेको बिकले बताए ।
बिकले २०७६ सालको साउनमा प्रदेशभर १३ लाख ५६ हजार ७ सय, भदौमा १८ लाख १९ हजार ९ सय, असोजमा १८ लाख ४१ हजार ७ सय, कात्तिकमा १९ लाख ६३ हजार, मंसिरमा १९ लाख ३२ हजार ५ सय, पुसमा १६ लाख ७३ हजार, माघमा १९ लाख २२ हजार, फागुनमा १९ लाख ९७ हजार, चैत ७ लाख ५९ हजार ५ सय रुपैयाँ जरिवाना उठेको बताए । त्यस्तै २०७७ साल वैशाखमा १ लाख ५२ हजार ५ सय, जेठमा ५ लाख ५१ हजार ५ सय, असारमा १२ लाख ९५ हजार जरिवानाबापत राजस्व संकल भएको उनले जानकारी दिए ।
दुई महिनामै २० लाख जरिवाना
आर्थिक वर्ष २०७७/०७८ सालको साउन र भदौमा मात्रै प्रदेशभर २० लाख ४४ हजार ५ सय रुपैयाँ जरिवानाबापतको राजस्व संकलन भएको छ । कर्णाली प्रदेशका आठ जिल्लामा गरी उक्त राजश्व संकलन भएको हो । साउनमा १० लाख ६६ हजार ५ सय र भदौमा ९ लाख ९ लाख ७८ हजार राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार दुई महिनामा २ हजार ३१२ जना सवारी चालकले उक्त जरिवाना तिरेका हुन् । सवारी चालक अनुमतिपत्रको म्याद सकिएको, सवारी साधनको लाइट नभएको, ब्लुबुक नबोकेको, सवारी साधन नम्बर प्लेट मेटिएको वा नभएको तथा नो पार्किङ लेखेको स्थानमा सवारी साधन रोकेका कारण उनीहरुले उक्त जरिवाना तिरेका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासियाले चालकहरुले अटेरीकै कारण जरिवाना बढी तिर्नुपरेको बताए । सञ्चार माध्यममा सूचनालगायत पर्चा र पम्पलेटहरु बनाएर ट्राफिक नियम सिकाउँदा पनि छल्न खोज्ने प्रवृत्ति बढेको उनको भनाइ छ । ‘अन्जानमा भन्दा पनि ट्राफिक नियम जानाजान उल्लंघन गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘सवारी साधन चलाउँदा सुरक्षाका लागि ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने कुराको ज्ञान चालकलाई हुनुपर्छ ।’ दुर्घटनाको जोखिम हुँदाहुँदै पनि बढी क्षमतामा यात्रु बोक्ने, हेल्मेट नलगाउने, ओभर स्पिड गर्नेलगायतका थुप्रै दुर्घटना हुनसक्ने गतिविधि चालकले गर्ने गरेका छन् ।
प्रकाशित समय १७:१३ बजे

















