गृहपृष्ठ व्यापारिक भुक्तानीलाई आर्थिक चलखेल भन्नु गलत : व्यवसायी शेर्पा
व्यापारिक भुक्तानीलाई आर्थिक चलखेल भन्नु गलत : व्यवसायी शेर्पा
फेल्ट एन्ड यार्न प्रा.लि. सामान निर्यात गरेबापतको भुक्तानीलाई आर्थिक चलखेल भन्नु गलत भएको बताएको छ । नेपाल खोज पत्रकारिता केन्द्रले असोज ५ गते प्रकाशन गरेको समाचारमा फेल्ट एन्ड यार्न प्रालिको कारोबारका विषयमा भ्रामक तथ्य उल्लेख गरिएको भन्दै कम्पनीले खण्डन गरेको हो ।
विज्ञप्तिमार्फत कम्पनीले सामान निर्यात गरेबापत पाएको भुक्तानीलाई समाचारमा गलत रूपमा व्याख्या गरिएको आरोप लगाएको छ । कम्पनी सञ्चालक सुनिता शेर्पाले फिनसेन फाइल्समा शंकाको घेरामा कसरी राखियो भन्ने थाहा नहुँदै नेपाली मिडियामा एकपक्षीय ढंगले सामाचार प्रकाशन प्रसारण भएको गुनासो गरेकी छन् । ‘हाम्रो कम्पनीको व्यापारिक मूल उद्देश्य नै स्वदेशी उत्पादन विदेशमा निर्यात गरेर डलर भित्र्याउने हो । हाम्रो ग्राहक नै अन्तर्राष्ट्रिय बजार हो । यो अवस्थामा हाम्रा ग्राहकले सामान किनेबापत विदेशबाट बैंकमा पैसा पठाउने गर्छन्,’ उनले भनिन्, ‘त्यो हाम्रो मेहनतको कमाइ हो ।’
कम्पनीसँग विदेशबाट आएको रकमको वैधानिक कागजात हुँदाहुँदै अवैधानिक रकम भित्र्याएको आरोप लगाइएकोप्रति उनको आपत्ति छ । समाचारमा आएका बैंकका विवरणबारे सोधिएको भए कम्पनीले वैधानिक कागजात देखाउने र प्रस्ट पार्ने सञ्चालक शेर्पाले बताइन् ।
उनले केन्द्रले तयार पारेको सामाचारमा ‘फेल्ट एन्ड यार्न प्रालिको कसुरका सम्पूर्ण आधार पनि सार्वजनिक गर्न आग्रह गरेकी छन् । केन्द्रले समाचार सत्यताको प्रमाण पेस नगरे कानुनी लडाइँ लड्ने विज्ञप्तिमा उल्लेख छ ।
असोज ५ गते खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे) ले फेला पारेको फिनसेनको रिपोर्टका आधारमा केन्द्रले तयार गरेको समाचारमा फेल्ट एन्ड यार्नले आर्थिक चलखेल गरी अवैधानिक रकम भित्र्याएको उल्लेख थियो ।
प्रकाशित समय २१:२० बजे

















