गृहपृष्ठ अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट, ५० प्रतिशत किसानले छाडे व्यवसाय
अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट, ५० प्रतिशत किसानले छाडे व्यवसाय
दानामा भएको चर्को मूल्यवृद्धिले लकडाउनयता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको छ । नेपाल अण्डा उत्पादक संघका अनुसार अण्डा बिक्रीबाट न्यूनतम् उत्पादन खर्चसमेत उठ्न सकेको छैन ।
संघका अनुसार लकडाउनअघि मुलुकभर दैनिक ५० लाख अण्डा उत्पादन हुँदै आएकोमा हाल ३० लाख अण्डा उत्पादन हुने गरेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब ४ प्रतिशत छ । तीमध्ये अण्डाको मात्र करिब १ प्रतिशत योगदान छ । ‘लकडाउनअघि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करिब ५० प्रतिशत किसानले यो व्यवसाय छाडेका छन्,’ संघका उपाध्यक्ष किरणभूषण ओलीले भने, ‘बैँकबाट कर्जा लिएर निर्माण गरिएका अधिकांश पोल्ट्री संरचनामा अहिले ताला लागेका छन् ।’
दानामा भएको चर्को मूल्यवृद्धिका कारण सबैभन्दा बढी अण्डा उत्पादक साना किसान प्रभावित भएको संघले जनाएको छ । पाँच हजारभन्दा कम कुखुरा पाल्ने किसानलाई साना किसान भन्ने गरिन्छ । नेपालमा एकै व्यक्तिले तीन लाखसम्म कुखुरा पाल्ने गरेका छन् ।
२८ वर्षदेखि कुखुरा पाल्दै आएका चितवनका व्यवसायी दिपक खनालले अण्डाको व्यापारमा विचौलिया हावी हुँदा किसानको जीवनस्तर माथि उठ्न नसकेको बताए । नेपालमा विशेषगरी चितवन, रुपन्देही, पोखरा र काठमाडौँमा पोल्ट्री व्यवसायी छन् । संघका अनुसार पोल्ट्री व्यवसायमा चार लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । (रासस)
प्रकाशित समय १७:१२ बजे

















