गृहपृष्ठ विश्वको झन्डै आधा सम्पत्ति १ प्रतिशत मानिसको हातमा

विश्वको झन्डै आधा सम्पत्ति १ प्रतिशत मानिसको हातमा

Wealth Pyramid_NewsKarobar

विश्वभरि १ प्रतिशत अति-धनाढ्यले कुल विश्व सम्पत्तिको ४३.४ प्रतिशत सम्पत्ति ओगट्दा तल्लो पिँढीका करिब ५४ प्रतिशतका हातमा जम्मा १.४ प्रतिशतमात्रै सम्पत्ति भएको एक अध्ययनले देखाएको छ ।

क्रेडिट सुइले सार्वजनिक गरेको ‘ग्लोबल वेल्थ रिपोर्ट-२०२०’ अनुसार विश्वका १ प्रतिशत अति-धनाढ्यका हातमा १७३.३ ट्रिलियन अमेरिकी डलरबराबरको सम्पत्ति छ, यो कुल विश्व सम्पत्तिको ४३.४ प्रतिशत हो ।

संख्यात्मक रूपमा हेर्दा विश्वभरि यी अति-धनाढ्यहरूको संख्या  ५ करोड १९ लाख देखिन्छ भने तल्लो पंक्तिमा रहेका २ अर्ब ७६ करोड ८० लाख जनसंख्या अर्थात ५३.६ प्रतिशतको हातमा केबल ५.४ ट्रिलियन अमेरिकी डलरमात्र छ, यो कुल विश्व सम्पत्तिको केबल १.४ प्रतिशतमात्रै हो ।

प्रतिवेदनले माथिल्लो पंक्तिका १० प्रतिशतले औसत ५५ देखि ७५ प्रतिशत सम्पत्तिको हिस्सा ओगटेको देखाएको छ ।

विश्वभरि कोरोना भाइरस महामारीका कारण उत्पन्न विश्व आर्थिक संकटले गर्दा तल्लो आय भएका लाखौँ व्यक्तिहरूले आय- उपार्जन गुमाउनु पर्दा त्यसले असमानता अझ बढाएको ‘ग्लोबल वेल्थ रिपोर्ट’ले जनाएको छ ।

प्रतिवेदनले अहिलेको महामारीले आय वितरणमा महत्त्वपूर्ण असर  पार्ने भन्दै उच्च आय भएका देशहरूमा सरकारले संकटकालीन लाभका प्याकेजले केही हदसम्म प्रभावलाई कम पारे पनि बेरोजगारी र कम आर्थिक गतिविधिले यी देशमा पनि कम आय हुने व्यक्तिहरू प्रतिकूल रूपमा प्रभावित हुँदा आय असमानता बढाउने जनाएको छ ।

प्रतिवेदनमा महामारी ‘तेस्रो विश्व’ भनिने गरिब देशहरूमा फैलिएसँगै यस्ता देशका प्रभावका कारण अन्तर्राष्ट्रिय आय भिन्नता पनि बढ्न सक्ने जोखिम औंल्याएको छ, ‘किनकी यस्ता देशमा घरेलु आम्दानीमा पर्ने प्रभावलाई कम तुल्याउनका सरकारहरूसँग आम्दानी कम छ, ’ प्रतिवेदनमा भनिएको छ ।

यसबाहेक विदेशमा काम गर्नेका परिवराले पाउने रेमिट्यान्स आय घट्दै जाँदा यसले पार्ने प्रभाव अझ नराम्रो भएर जाने चेतावनी प्रतिवेदनमा दिएको छ ।

‘ कोभिड-१९ महामारीका कारण विश्वव्यापी रूपमा आय असमानतामा परेको पूर्ण प्रभावको पूर्ण मूल्यांकन गर्न अहिले अहिलो चाँडो हुन्छ, तर यसका केही संकेत देखिएका छन् । केही शीर्ष स्थानमा रहेका  अर्बपतिहरू, विशेष गरी प्रविधि क्षेत्रका अर्बपतिहरूको बढ्दो सम्पत्तिप्रति आमनागरिकको ध्यानाकर्षण गरेको छ, तर पछिल्लो तथ्यांकले कम्तिमा एउटा देश अमेरिकमा आय असमानतामा कमी आएको देखाउँछ,’ प्रतिवेदनमा भनिएको छ ।

विश्वव्यापी असमानता देशहरू अनुसार फरक रहेको प्रतिवेदनमा उल्लेख छ । अहिलेको संकटले कम कुशल, महिला, अल्पसंख्यक, युवा र साना व्यवसायमा सर्वाधिक प्रभाव परेको भए पनि सम्पन्नहरूले चलाएका उद्योगसँग सम्बन्धित व्यक्तिहरू भने फस्टाएको प्रतिवेदनमा जनाइएको छ ।

यी हुन् अर्बपति भएका क्षेत्र

विश्वमा सर्वाधिक धनाढ्यहरू मूलतः लगानी र पुँजीबजारबाट आएको प्रतिवेदनमा उल्लेख छ । फोर्ब्स सूचीमा अर्बपतिका सूचीमा रहेका माथिल्ला पंक्तिका १ हजार जनामध्ये पहिलो स्थानमा वित्त तथा लगानी, दोस्रो स्थानमा प्रविधि, तेस्रो स्थानमा फेसन र खुद्रा बजार (रिटेल), चौथो स्थानमा रियल स्टेल, पाँचौँ स्थानमा खाद्य तथा पेय क्षेत्रका अर्बपति छन् ।

यस्तै, छैठौँ स्थानमा उत्पादनमूलक, सातौँमा विविध (डाइभर्सिफाइड), आठौंमा स्वास्थ्य हेरचाह (हेल्थकेयर), नवौँमा ऊर्जा र दसौँमा मिडिया र मनोरञ्जन क्षेत्रका अर्बपतिहरू छन् ।

महामारीले ठूला इक्विटी होल्डिङ भएका व्यक्ति,  मध्यम उमेरका मानिस र ‘पुरानो अर्थव्यवस्था’ का इँटा र मोर्टार रिटेलिङ, एयरलाइन्सजस्ता क्षेत्रमा लगानी गर्ने धनीहरूको व्यक्तिगत सम्पत्तिमा प्रभाव पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रेस्टुँरा, होटेल, व्यक्तिगत सेवा, र खुद्रा सामानलगायतका व्यवसाय र उद्योगहरूमा संलग्न महिला कामदारहरू तुलनात्मक रूपमा बढी प्रभावित भएको प्रतिवेदनमा जनाइएको छ । ‘नतिजा स्वरूप महामारीको कारण पुरुषहरू भन्दा बढी महिलाहरूले आफ्नो रोजगारी गुमाएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

‘सहस्राब्दी पुस्ताले आफ्नो वयस्कको जीवनको दोस्रो ठूलो आर्थिक झटक अनुभव गरेको छ, उनीहरू बेरोजगारी र स्थिरता अभावको अनुभव बाँडेका छन्’ प्रतिवेदनमा महामारीका असरले युवा पुस्तामा पारेको असर औंल्याउँदै भनिएको छ, ‘सम्पत्ति सञ्चयका सन्दर्भमा कम आर्थिक गतिविधि, सीमित यात्रा र भूमण्डलीकरणको अन्त्यका कारण उनीहरूको सम्भावनाहरू उदासीयुक्त बनेको छ ।’

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु