गृहपृष्ठ मूल्यवृद्धि र कोरोनाले धस्कियो सुनचाँदी बजार
मूल्यवृद्धि र कोरोनाले धस्कियो सुनचाँदी बजार
सुनसान सुन पसल । फाइल तस्बिर
दैनिक ३० किलोभन्दा बढी सुन खपत हुने नेपाली बजारमा चालू आर्थिक वर्षको तीन महिना (साउनदेखि असोज)मा जम्मा सय किलो सुन आयात भएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)बाट मात्र सो सुन भित्रिएको हो । यो अविधमा यूएईबाट तीन हजार किलो चाँदी भित्रिएको छ । कोरोनाभाइरस संक्रमणका कारण बजार, पसल नखुलेका कारण मानिसको चहलपहल निकै कम भएपछि सुनचाँदी आयात तर बिक्री करिब ठप्प छ ।
मूल्यवृद्धि उच्च भएपछि गत वर्ष पनि यो अवधिमा शून्य परिमाणमा सुन भित्रिएको थियो भने चाँदी स्विट्जरल्यान्डबाट ९ हजार किलो र यूएईबाट एक हजार किलो आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसपटक हालसम्म स्विट्जरल्यान्डबाट चाँदी भित्रिएको छैन ।
गत वर्षको असोजसम्म सुन आयात ठप्प रहेकोमा कात्तिकमा मात्रै २ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँबराबरको भित्रिएको थियो । गत वर्ष साउन लागेसँगै मूल्य अकासिन थालेपछि सुन बिक्री ठप्प भएको थियो ।
गत वर्ष सुनको मूल्य अकासिएपछि मानिसहरूले ठूलो मात्रामा पुराना गरगहना बिक्रीका लागि ल्याएका थिए । एकातिर पुरानो सुन बजारमा आएको र अर्केतिर मूल्य उचालिएपछि माग कम भएकाले विदेशबाट सुन आयात गर्नै नपरेको व्यवसायीले बताएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिकसम्म पनि पसल-पसलमा सुनका गहना थुप्रिएका कारण व्यवसायीले नयाँ सुन किन्नै परेन । तिहार आसपासदेखि पुराना गहना सकिएको र मूल्य ७० हजार आसपासमै स्थिर देखिएपछि सुनको माग बढ्न थालेको थियो ।
गत वर्ष साउन १ गतेदेखि लगातार बढ्न थालेको सुन साउनभरमै प्रतितोला ७३ हजार रुपैयाँसम्म पुगको थियो । साउन १ गते प्रतितोला छापावाल सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँ थियो । मूल्य स्थिर हुँदै गएपछि कात्तिकदेखि मात्र बजारमा पहलपहल बढ्न थालेको थियो । चैतदेखि कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि चैतदेखि असारसम्म सुन आयात र बिक्री वितरण शून्यबराबर भयो । साउनयताका तीन महिनामा बल्ल सय किलो सुन आयात भएको हो ।
त्यसअघि के थियो ?
भन्सार विभागको तथ्यांकअनुसार दुई वर्षयता सुनचाँदी आयात अप्रत्यासित ढंगले घटेको छ । दुई वर्ष अघिसम्म नेपालमा तीन महिनामै अर्बौं मूल्यको सुनचाँदी आयात भइरहेको थियो । आर्थिक वर्ष २०७५/७६ को साउनदेखि असोजसम्मममै नेपालमा ३४ हजार किलो चाँदी र १७ सय किलोभन्दा बढी सुन भित्रिएको छ ।
समीक्षा अवधिमा चीनबाट १७ हजार किलो, हङकङ र दक्षिण कोरियाबाट चार/चार हजार किलो, स्विट्जरल्यान्डबाट ६ हजार किलो, थाइल्यान्डबाट एक हजार किलो, यूएईबाट २ हजार किलो, भारतबाट दुई किलो र अमेरिकाबाट एक किलो चाँदी भित्रिएको थियो । यो अवधिमा यूएईबाट १२ सय ५२ किलो, टर्कीबाट २५० किलो, स्विट्जरल्यान्डबाट २०० किलो, साउदी अरबबाट तीन किलो, अमेरिकाबाट दुई किलो, हङकङ र कतारबाट एक/एक किलो सुन आयात भएको विभागको तथ्यांकले देखाउँछ ।
विगत वर्षहरूमा अस्ट्रेलिया, अस्ट्रिया, बहराइन, बंगलादेश, क्यानडा, चीन, डेनमार्क, इजिप्टलगायतका देशबाट पनि नेपालमा सानो परिमाणमा सुन आयात हुन गरेको गत वर्षदेखि ती देशबाट सुन आयात हुन छाडेको छ । आव २०७४/७५ को साउनदेखि असोजसम्मको तीन महिनामा पनि ५५ हजार ६८५ किलो चाँदी यूएई, चीन, हङकङभारतलगायतका देशबाट भित्रिएको थियो । त्यस्तै यूएई, टर्कीलगायतका देशबाट १७ सय ५० किलो सुन भित्रिएको तथ्यांकले देखाउँछ । यसमध्ये ४५ हजार ६५५ किलो चाँदी र १४ सय ५० किलो सुन कुन देशबाट आयात भयो भन्नेमा भन्सार विभाग नै बेखबर छ ।
व्यवसायीहरूका अनुसार विगतमा नेपालमा दैनिक औसत ३० देखि ३५ किलो सुन बिक्री हुँदै आएको थियो । गत वर्षको मूल्यवृद्धि र यो वर्षको कोरोनाले सुन बजार उठ्न सकेको छैन ।
प्रकाशित समय ११:२३ बजे

















