गृहपृष्ठ सरकारले समयमा खरिद नगर्दा सस्तोमा धान बेच्दै कृषक

सरकारले समयमा खरिद नगर्दा सस्तोमा धान बेच्दै कृषक

मल र बीउ महँगोमा किनेका कैलालीका किसानले धानको उचित मूल्य नपाएको बताएका छन् । गत वर्षभन्दा पनि यो वर्ष धानको मूल्य कम भएपछि फेरि पनि लगानी कसरी उठाउने भन्ने चिन्ता उनीहरुमा बढेको हो । सरकारले एक त समयमा मल र बीउको उचित व्यवस्थापन नगरेको र जसोतसो उत्पादन गरेको बालीको समेत उचित बजार नपाएको उनीहरुको गुनासो छ ।

सरकारले धानको न्यूनतम् मूल्य तोके पनि गल्ला व्यापारीले सो मूल्यमा खरिद नगर्दा किसान सस्तो मूल्यमा धान बेच्न बाध्य छन् । सरकारले समर्थन मूल्य समयमै तोके पनि खरिदमा समेत ढिलाइ गर्ने हुँदा किसानले गल्ला व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन् ।

कैलालीमा अहिलेसम्म सरकारी निकायबाट धान खरिद सुरु भएको छैन । सरकारी स्वामित्वको कम्पनीले धान खरिद सुरु नगर्दा किसानले सस्तो मूल्यमा गल्ला व्यापारीकहाँ धान बेचिरहेका छन् ।

सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको अवस्थामा खरिदको व्यवस्था नहुँदा व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेको धनगढीका किसान वीरबहादुर चौधरीले गुनासो गरे । ‘व्यापारीले तोकेको प्रतिक्विन्टल २ हजार रुपैयाँमा धान बेचेर घर खर्च जोहो गर्नुपरेको छ,’ उनले भने, ‘हामीले घर खर्च चलाउन र हिउँदे खेती गर्नका लागि भए पनि धान बेच्नैपर्छ ।’

हिउँदे बालीका लागि बीउ तथा मल जोहो गर्न हतारमा धान बेच्नुको विकल्प आफूहरुसँग नहुने चौधरीले बताए । ‘सरकारी निकायले किनिदिन्छन् भनेर कहिलेसम्म बनेची बस्ने ?’ उनले प्रश्न गरे । उनी धान बेचेर हिउँदे बाली र तरकारीका लागि मल र बीउ खरिद गर्ने गर्छन् । सरकारले मूल्य तोकेर खरिद सुरु गर्दासम्म आफूहरुले पर्खिनै नसक्ने चौधरीले बताए ।

सरकारले एक महिनाअघि नै धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको छ । सरकारले प्रतिक्विन्टल मोटो धान दुई हजार ५३२ रुपैयाँ ८० पैसा र मध्यम धानको दुई हजार ६७३ रुपैयाँ १६ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको छ ।

संस्थानले धान खरिदका लागि समयमै काँटा सञ्चालन नगर्दा आफूहरुले बाध्य भएर गल्ला व्यापारीलाई धान बेचेर खर्चको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको धनगढीकै अर्का किसान लालवीर रानाले बताए । समयमै खरिदको व्यवस्था गर्न सके धान बिक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने उनको भनइ छ ।

कार्यालयले गत वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा २३ हजार क्विन्टलमात्र खरिद गरेको थियोे । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कैलालीले बिहीबारबाट धान खरिद सुरु गरेको जनाएको छ । टीकापुर र मोहनपुर धनगढीबाट धान खरिद सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए । ‘केही दिनभित्रै भजनी र जोशीपुरबाट पनि खरिद कार्य थाल्छौँ,’ उनले भने, ‘यो वर्ष ६ हजार ५ सय टन धान खरिद गर्ने लक्ष्य छ ।’

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु