गृहपृष्ठ खेतीयोग्य जमिन खण्डीकरणबाट रोक्न कृषि अनुसन्धान कार्यक्रम

खेतीयोग्य जमिन खण्डीकरणबाट रोक्न कृषि अनुसन्धान कार्यक्रम

बीउ नपाएर भारतीय बजारको गुणस्तरीय बीउ छरेका किसान अनुसन्धान केन्द्र स्थापनापछि खुसी

सुदूरपश्चिम प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डिकरण गर्ने प्रवृतिलाई निरुत्साहित पार्ने उद्देश्यका साथ प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको छ ।

पछिल्लो समय किसानले सहज रुपमा बिऊबिजन उपलब्ध गर्न नसक्ने तथा आवश्यक तालिमसमेत नपाउँदा कृषि क्षेत्रमा सोचेअनुरुप उपलब्धि हुन सकेको छैन । यो अवस्थालाई मध्यनजर गर्दै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउन लागेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ आइबीआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको छ । कृषि क्षेत्रमा ज्ञान अभावकै कारण भएको जमिनसमेत बाँझो छोडेर बिदेशी रहेका युवाहरुलाई यस कार्यक्रमले स्वदेशमै काम गर्न तर्फ प्रेरित गर्नेसमेत अपेक्षा लिइएको छ ।

यसमा बिउबिजन उत्पादन, कृषि अनुसन्धानका कार्यक्रम, कृषि क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुका लागि सिकाई केन्द्र रहने कृषि व्यवसाय, प्रवर्द्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टीकाराम थापाले बताए । उनले भने, ‘केन्द्रमा बीउ उत्पादन हुने हुँदा बीउ नपाएर भौतारिनुपर्ने बाध्यता हट्ने छ ।’

सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धानका लागि कतै ठाउँ नभएकाले यहाँ सो केन्द्र स्थापना भए कृषि अनुसन्धान पनि गरिने मन्त्रालयले जनाएको छ । केन्द्र सञ्चालन भए स्थानीयलाई रोजगारी सिर्जना हुने र सुदूरपश्चिममा कृषि क्षेत्रको धेरै विकास हुने थापाले बताए । यसका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिकासमेत मन्त्रालयले तयार पारिसकेको छ ।

मल तथा बीउ नपाएर भारतीय सीमावर्ती बजारको गुणस्तरीय बीउ छरेका किसानहरु भने कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको खबर सुनेर निकै खुसी भएका छन् । सरकारले ल्याएको सो योजनालाई स्थानीय कृषकले स्वागतयोग्य कुरा रहेको बताएका छन् । योजनाअनुसार चाँडो कार्यान्वयनमा किसानले जोड दिएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का किसान रुपेश खरेलले भने कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना भइ यहाँका किसानलाई ठूलो फाइदा हुने बताए । उनले भने, ‘अहिले भारतीय सीमावर्तीबाट मल तथा बीउ ल्याएर छर्ने गरेका छौं । तर, त्यो बीउ कति गुणस्तरीय छ भन्ने हामीलाई नै थाहा हुँदैन ।’ यसले सुदूरपश्चिममा कृषिको बिकास गर्नमा ठूलो मद्दत पुग्ने उनको विश्वास छ ।

पुनर्वास नगरपालिका–६ का किसान खडक खड्काले पनि भने कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना भए यहाँको कृषि क्षेत्र धेरै अगाडि बढ्ने बताए । ‘प्रदेश सरकारले ल्याएको यो कार्यक्रम धेरै राम्रो हो,’ उनले भने, ‘कार्यान्वयनमा ढिलासुस्ती गर्ने परिपाटी अन्त्य गरेर चाँडो केन्द्र स्थापना हुनुपर्छ ।’

प्रदेश सरकारको यो योजनामा स्थानीय तहको पनि समन्वय र सहकार्य रहने छ । प्रदेशले अगाडि सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले पुनर्वास नगरपालिकालाई मात्रै फाइदा नभएर सिंगो प्रदेशलाई फाइदा पुग्ने जनप्रतिनिधिको भनाई छ । यसले भएका किसानलाई सहजीकरण गर्नुका साथै बाँकी अन्य व्यक्तिलाई समेत कृषितर्फ प्रेरित गर्नमा भूमिका खेल्ने जनप्रतिनिधिको भनाई छ ।

हाम्रो नगरपालिकामा हुन लागेको भने कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्रका लागी हाम्रो पूर्ण सहकार्य रहने छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले भने, ‘हामीले आफ्नो क्षेत्रबाट खेल्ने भूमिका पूर्ण रुपमा खेल्ने छौं ।’ यहाँबाट कुनै कमि हुँदैन थापाले भने, ‘किसानको दैनिकीसँग जोडिएको यो केन्द्र चाँडो स्थापनामा सबैको सहकार्य हुनुपर्छ ।’

प्रदेश सरकारले अगाडि सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिमको कृषि क्षेत्र धेरै अगाडि बढ्ने छ । यहाँका किसानलाई यसले निकै फाइदा पुग्ने छ ।

प्रकाशित समय ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु