गृहपृष्ठ चरित्र हत्या गर्ने पत्रकारिता नगर्न सहकारी सञ्चालकको आग्रह
चरित्र हत्या गर्ने पत्रकारिता नगर्न सहकारी सञ्चालकको आग्रह
मिलिजुली कालिञ्चोक सहकारीको पत्रकार सम्मेलन ।
दोलखाका सहकारी सञ्चालकहरुले व्यक्तिका चरित्र हत्या गर्ने पत्रकारिता नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । भीमेश्वर नगरपालिका ६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक वचत तथा ऋण सहकारी संस्थाले पत्रकार सम्मेलन गरी बिनाकारण व्यक्ति र संस्थाको चरित्र हत्या गर्ने पत्रकारिता नगर्न पत्रकार र सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ ।
केही अनलाइनमा सहकारीका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने र संस्थाका पदाधिकारीको चरित्र हत्या गर्ने गरी एकपक्षीय समाचार सम्प्रेसणले पत्रकारिताको विश्वसनीयतामा पनि शंका उत्पन्न भएको अध्यक्ष नारायणबहादुर श्रेष्ठले बताए । सहकारी संस्था प्रचलित कानुनको अधिनमा सञ्चालन भएको र ऋण लगानीमा ऋण उपसमिति र सञ्चालक समितिको निर्णयअनुसार समयसापेक्ष लगानी गर्ने हुँदा ऋण लगानीको निर्णयमा कुनै पनि भूमिका कर्मचारीको नहुने उनले प्रस्ट पारे ।
कालिञ्चोक एसियाली ऋण महासंघ (अक्कु)ले सञ्चालन गरेको एक्सेस ब्रान्डिङ कार्यक्रममा भाग लिएर २०७४ सालमा एक्सेस ब्रान्ड, २०७५ र २०७६ सालमा एक्सेस सिल्भर ब्रान्ड प्राप्त संस्था एकीकरणमा उत्कृष्ट, उत्कृष्ट करदाताको रुपमा नेफस्कुन, राष्ट्रिय सहकारी बैंकबाट समेत पटक-पटक उत्कृष्ट सहकारीको रुपमा सम्मानित संस्था भएको उनले जानकारी दिए । विभिन्न सूचकांक पूरा गरेर लिएका ब्रान्ड र सदस्यलाई पु-याएको सेवाबाट पाएको पुरस्कार र सम्मान लाखौं खर्च गरी लिएको भन्ने आरोप सरासर झुट भएको सहकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सहकारी एकीकरणका लागि प्रोत्साहन गरिरहेको अवस्थामा हालसम्म ९ वटा सहकारी मर्ज गरिसकेको र केही संस्थासँग मर्जको प्रक्रिया चलिरहेको अध्यक्ष श्रेष्ठले बताए । एकीकरणमा आउने सहकारीका सञ्चालकहरुलाई आर्थिक लाभ दिएर एकीकरण गरेको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको बताए । समाचारमा सोधनी हुन्छ होला तर यसमा सहकारीका पदाधिकारी र कर्मचारी कसैलाई पनि कसैले नसोधिएको बताए । व्यक्ति र संस्थाको चरित्र हत्या गर्ने गरी आएका समाचार प्रकाशक सम्पादकविरुद्ध कानुनी उपचारमा जाने उनले चेतावनी दिए ।
सहकारी मापदण्डभन्दा बाहिर कुनै पनि कोष सहकारीमा नहुने र भएका कोषहरुको कार्यविधिका आधारमा सञ्चालन हुने उनले बताए । सहकारीका सबै कोषहरुको नियमित रुपमा आन्तरिक र बाह्य लेखापरीक्षण हुने गरेको उनको भनाइ छ ।
तत्कालीन कालिञ्चोक सहकारीका अध्यक्ष राजेश उप्रेतीले आफ्नो नामसमेत जोडेर आर्थिक लेनदेनका आधारमा सहकारी मर्ज गरेको भन्ने समाचारको आफ्नो ध्यानाकार्षण भएको बताए । तत्कालिन सिंगटी साकोसका अध्यक्ष बोधराज श्रेष्ठ र चेतनशील साकोसका अध्यक्ष पुण्यप्रसाद घिमिरेले पनि भ्रामक समाचार लेखेर चरित्र हत्या गर्नेविरुद्ध कानुनी उपचार खोज्ने बताए ।
जिल्ला सहकारी संघ दोलखाले पनि विधिसम्मत् सञ्चालन भएको सहकारीका नाममा कपोलकल्पित र भ्रामक समाचार सप्रेषण भएकोप्रति ध्यानाकार्षण भएको जनाएको छ । संघका अध्यक्ष हेमन्त चौलागाईंले एक विज्ञप्ती जारी गरी सत्य तथ्य समाचार सप्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ ।
नेफस्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले आफू नेफस्कुनमा कार्यरत रहँदा कुनै पनि आर्थिक प्रलोभनमा परेर काम नगरेको र हाल आफू पदमा पनि नरहेको प्रस्ट पारेका छन् । संघीय सहकारी विभागले सञ्चारमाध्यममा आएको समाचारपछि नेफस्कुन र मिलीजुली कालिञ्चोक सहकारीसँग १५ दिने स्पष्टीकरण माग गरेको छ । मिलीजुली कालिञ्चोक साकोसको असोज मसान्तसम्मको वासलत १ अर्ब १९ करोड ३२ लाख ८७ हजार ३५२ रुपैयाँ छ । सहकारीमा सेयर सदस्य २२ हजार ४२५ र बालबचतकर्ता ८ हजार ७९१ छन् ।
प्रकाशित समय १५:४२ बजे

















