गृहपृष्ठ जनगणनाका लागि तथ्यांक विभागलाई सवा सात करोडका उपकरण
जनगणनाका लागि तथ्यांक विभागलाई सवा सात करोडका उपकरण
नयाँ संविधान र संघीय संरचनाअन्तर्गत हुन लागेको १२औं राष्ट्रिय जनगणना-२०७८ मा सघाउन संयुक्त राष्ट्रसंघीय जनसंख्य कोष (यूएनएफपीए)ले केन्द्रीय तथ्यांक विभागलाई ७ करोड २० लाख रूपैयाँबराबरको सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ ।
ती सूचना प्रविधि उपकरणमा पावर ब्यांक र आवश्यक सहायक सामग्रीसहित २ हजार २५० वटा ट्याबलेट, ३५ वटा ल्यापटप, ४७ वटा डेस्कटप कम्प्युटर, पाँच वटा घुम्ती वर्क स्टेसन, एउटा सर्भर, हाइ रिजोलुसनका तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्स् रहेको यूएनएफपीएले जनाएको छ ।
यी सामग्री यूएनएफपीएले बेलायत सरकार (यूकेऐड)को अनुदानमा खरिद गरेको हो । यसले विभागलाई उच्च प्रविधिजन्य मापदण्ड अनुरुपको गणना तथ्यांक उत्पादन गर्न सक्षम बनाउने कोषले विश्वास व्यक्त गरेको छ ।
केही गणना क्षेत्रमा ट्याबलेटको प्रयोगसहित राष्ट्रिय जनगणना २०७८ मा नवीन प्रविधिको उपयोगले केन्द्रीय तथ्यांक विभागबाट सबैभन्दा तल्लो प्रशासनिक इकाईका आधारमा खण्डीकृत हुनेगरी देशमा बसोबास गर्नेको सङ्ख्या र उनीहरूको स्वास्थ्य, कल्याण, समस्या तथा सम्भावना र आर्थिक तथा सामाजिक अवस्थालगायत उनीहरु के–कस्तो अवस्थामा बस्दै आएका छन् भन्ने बारेमा विस्तृत विवरण संकलन हुने कोषले विश्वास व्यक्त गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको राष्ट्रिय जनगणना सञ्चालक समितिको मार्गनिर्देशनमा विभागको नेतृत्वमा भइरहेको छ ।
‘सरकारको मार्गनिर्देशनअनुरुप हाम्रा कर्मचारी र उत्तरदाताको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै सबैभन्दा तल्लो प्रशासनिक तहमा रहेको तथ्यांक अभावलाई सम्बोधन गर्ने गरी गणना गर्न हामी प्रतिबद्ध छौं,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने ।
‘गणना तथ्यांक पूर्वाधारको मूलभूत पक्ष हो, यसले देशको संख्यात्मक विवरण प्रदान गर्ने भएकाले जनता र सरकार दुवैका लागि यो बहुमूल्य हुन्छ, नेपालका लागि यूएनएफपीएकी प्रतिनिधि लुब्ना बाकीले भनिन्, ‘गणना उच्चगुणस्तरको, अन्तर्राष्ट्रिय मापदण्डलाई स्थापित गरेको र विकासका प्रतिफलहरुका लागि व्यापक रुपमा प्रचारप्रसार तथा उपयोग गरिने तथ्यांक उत्पादन भएको सुनिश्चित गर्न नेपाल सरकारलाई प्राविधिक तथा आर्थिक सहायता प्रदान गर्न पाउँदा यूएनएफपीएले गौरवान्वित छ।’
यसैगरी काठमाडौंस्थित बेलायती दुतावासकी विकास निर्देशक लिसा होनानले जनगणना तथ्यांक संकलन तथा संग्रह गर्ने सबैभन्दा महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यसबाट महिला, पुरुष, बालबालिका, गरिब, जोखिममा रहेका र अन्य समूहहरुलाई प्रदान गरिने सेवाहरुमा सुधार ल्याउन मद्दत पुग्ने विश्व्स व्यक्त गरिन् ।
प्रकाशित समय १७:१४ बजे

















