गृहपृष्ठ कुल बजेट खर्चको १ प्रतिशत बेरुजू

कुल बजेट खर्चको १ प्रतिशत बेरुजू

Finance Minister_NewsKarobar

गत आर्थिक वर्ष २०७६/७७ मा कुल बजेट खर्चको १ प्रतिशत रकम बेरुजू देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार बुझाएको आन्तरिक लेखापरीक्षण (आलेप) प्रतिवेदनअनुसार गत आवमा कुल खर्च १० खर्ब ९३ अर्ब ५५ करोड रूपैयाँ भएकोमा ११ अर्ब ३९ करोड ५५ लाख रूपैयाँ बेरुजू देखिएको हो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ भन्दा घटेको हो, समग्र बजेट खर्च नै अघिल्लो वर्षभन्दा घटेका कारण बेरुजू रकम पनि घटेको हो । आलेप प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ मा ११ खर्ब १० अर्ब ४५ करोड रूपैयाँ हुँदा बेरुजू १७ अर्ब २१ करोड रूपैयाँ थियो ।

प्रतिवेदनअनुसार सबैभन्दा बढी स्थानीय तहहरूमा ४ अर्ब २२ करोड रूपैयाँ बेरुजू देखिएको छ ।  स्थानीय तहको आन्तरिक लेखा प्रणालीको सही व्यवस्थापन नहुँदा बेरुजू बढ्ने क्रम देखिएको अधिकारीहरू बताउँछन् ।

संघीय निकायहरूमध्ये भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सर्वाधिक बेरुजू छ, सो मन्त्रालयमा  १ अर्ब ८४ करोड ४ लाख रुपैयाँ बेरुजू देखिएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ अर्ब ८४ करोड ४ लाख रुपैयाँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १ अर्ब ५२ करोड २ लाख रुपैयाँ, रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख रुपैयाँ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ६० करोड ६ लाख रुपैयाँ बेरुजू देखिएको छ ।

‘स्थानीय तहहरूमा आर्थिक ऐन-कानुनको पालनामा कमजोरी सबैभन्दा ठूलो कारणका रूपमा देखियो भने आर्थिक प्रशासन क्षमता पनि कमजोर देखियो,’ महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेल भन्छन् ।

महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि ऐनसहितका कानुनको प्रभावकारी पालना र लेखा प्रणाली प्रभावकारी तुल्याउनका लागि आवश्यक पहल गरिरहेको भन्दै प्रवक्ता पौडेलले आन्तरिक लेखापरीक्षणका जनशक्ति विकासमा स्थानीय तहहरूलाई सशक्त गर्नुपर्न आवश्यकता देखिएको बताए ।

‘औँल्याएको बेरुजू फर्छ्यौट गरि वित्तीय उत्तरदायित्व निर्वाहमा सहयोग अपे़क्षित छ,’ महालेखा नियन्त्रक मधुकुमार मरासिनीले प्रतिवेदन बुझाउने क्रममा भने ।

महालेखा नियन्त्रकको कार्यालयले गत आवमा १ हजार ३७६ सरकारी कार्यालयहरूको १४ हजार ३६८ कार्यक्रमहरूको आन्तरिक लेखापरीक्षण गरेर अर्थमन्त्रालयसमक्ष प्रतिवेदन बुझाएको हो ।

प्रकाशित समय १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु