गृहपृष्ठ श्रम बजार सूचना प्रणालीको विकास गर्न बृहत् परियोजना स्थापना
श्रम बजार सूचना प्रणालीको विकास गर्न बृहत् परियोजना स्थापना
श्रम बजार सूचना प्रणालीको विकासका क्षेत्रमा काम गर्न नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा बृहत् परियोजना स्थापना गरिएको छ । महासंघको नेतृत्वमा साझेदार व्यावसायिक संस्थाहरु नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ तथा ब्रिटिस काउन्सिलको सहयोगमा परियोजना स्थापना गरिएको हो । इम्प्लोयर लिड लेबल मार्केट सेक्रेटरियट नाम दिइएको परियोजनाको सोमबार काठमाडौँमा उद्घाटन गरिएको छ ।
परियोजनामार्फत अकुपेसनल क्लासिफिकेसन स्ट्यान्डर्डको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गर्ने जनाइएको छ । कृषि, भौतिक निर्माण र पर्यटनका क्षेत्रमा परियोजना कार्यान्वयन हुनेछ । सरकारबाट स्वीकृतिप्राप्त यो परियोजनाको अवधि १४ महिनाको हुनेछ भने परियोजनाको कुल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ रुपैयाँ हुनेछ । महासंघको नेतृत्वमा साझेदार संस्थाको साझेदारीमा परियोजना कार्यान्वयनमा आउनेछ ।
मुलुकभित्र औद्योगिक व्यावसायिक क्षेत्रले श्रम बजारसम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नुपरेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने महासंघले जनाएको छ । त्यस्तै मुलुकको औद्योगिक विकासमा सहयोग पु-याउने, श्रम बजारसम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने, रोजगारी सिर्जना गर्ने र श्रम बजारसम्बन्धी तथ्यांक प्रणालीको विकासमा परियोजनाले काम गर्ने छ ।
कार्यक्रम महासंघ अध्यक्ष भवानी राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने लक्ष्यमा युरोपियन युनियन र ब्रिटिस काउन्सिलको सहयोग सराहनीय भएको बताइन् । त्यस्तै नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेपरेजले यो परियोजनाले नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पु-याउने र नेपालको आर्थिक विकासमा आवश्यक दक्ष जनशक्तिको आपूर्तिमा सघाउने धारणा राखिन् ।
ब्रिटिस काउन्सिलका देशीय निर्देशक साहिदा म्याकडाउगल र टिभेट इम्प्लोयर पार्टनसिप विज्ञ जोन माउन्टफोर्डले परियोजना नेपालको व्यावसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरु एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हानबीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताए । दक्षता परियोजनाको साझेदारीमा ब्रिटिस काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष सीपयुक्त जनशक्ति उत्पादनमार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सिर्जनामा टेवा पुग्ने उनीहरुको विश्वास छ ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले रोजगारीका लागि लाखौँ नेपाली बिदेसिनुपरेको अवस्थामा परियोजनाबाट राहत मिल्ने बताए । नेपालमा धेरै उद्योग भए पनि दक्ष जनशक्तिको अभावमा विदेशबाट कामदार ल्याउनुपर्ने र आफ्नो युवा जमात बिदेसिनुपर्ने बाध्यात्मक अवस्था कम गर्न परियोजनाले सहयोग गर्ने उनको भनाइ छ । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यो परियोजनाले नेपालको परिवेशमा रहेको जनशक्तिको माग र आपूर्तिलाई व्यवस्थापन हुने किसिमले तालिमको सञ्चालन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सहयोगी संस्थाहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, होटल संघ नेपालका अध्यक्ष सृजना राणा, साना तथा घरेलु उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश सिंह र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परियोजना सफल बनाउन पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । महासंघका परियोजना समन्वय समितिका सदस्य सुमित केडिया र परियोजनाको टिम लिडर चन्द्रकान्त अधिकारीले परियोजनाको सुरुवात, परियोजनाको उद्देश्य, क्रियाकलाप, कार्यक्षेत्र, अपेक्षित परिणामलगायत विषयमा जानकारी गराए । कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान, कार्यकारिणी समिति सदस्यहरु, विभिन्न वस्तुगत संघका प्रतिनिधिहरुको उपस्थििति थियो ।
प्रकाशित समय ०८:१० बजे

















