गृहपृष्ठ उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै शेखर गोल्छा नेतृत्वका उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

शनिवार भएको मतदान गणना भइसकेपछि एशाेसिएटमा चन्द्र ढकालले ५२२ मत ल्याए भने प्रतिद्वन्द्वी किशाेर प्रधानले ३७५ मत ल्याए । वस्तुगतमा चन्द्र ढकालले ५९ किशाेर प्रधानले ३९ मत र जिल्ला-नगरतर्फ चन्द्र ढकालले ५२ र किशाेर प्रधानले ५३ मत ल्याएका हुन् ।

शनिबार राति नै आएको मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भएका हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

को हुन् चन्द्र ढकाल ?

२०४५ सालमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर सुरु गरेका ढकाल जागिर खाँदाखाँदै व्यवसायमा लागे । २०५० सालमा वाणिज्य बैंकको सहायक स्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए ।

नम्र स्वाभावका ढकाल कहिल्यै विवादित बनेनन् । सबैसँग असल सम्बन्ध स्थापित गर्न उनी सिपालु छन् । व्यावसायिक क्षेत्रमा छोटो समयमै सफलताको शिखरमा पुगेका ढकाल महासंघको राजनीतिमा पनि छोटो समयमै पकड जमाउन सफल भए । यस्तै विशेषताले उनी महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

जागिर छोडेर व्यवसायमा लागेको २३ वर्षमा १० वर्ष त महासंघमै बिताए । दुई कार्यकाल महासंघको कार्यसमिति सदस्यका रुपमा रहे । पशुपति मुरारकाको कार्यकालको अन्त्यतिर एसोसिएटतर्फको उपाध्यक्षमा चुनाव लड्ने भन्दै प्रचारमा लागे । उनले चाहेकै पद उनको भागमा पर्‍यो, कसैले दाबी गरेन । उनलाई व्यवसायमा सन् २००२ मा स्थापित इन्टरनेसनल मनी ट्रान्सफर (आईएमई) ले नै स्थापित गरायो । अहिले सवारीसाधन, जलविद्युत, ट्राभल एन्ड टुर्स, बिमा, बैंक, पर्यटन, सूचना प्रविधिलगायतमा उनको लगानी छ ।

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल ५५ वर्षमा प्रवेश गर्दै गर्दा देशका प्रतिष्ठित उद्यमीमा दर्ज भइसकेका छन् । ढकाल अध्यक्ष रहेको आईएमईले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेको छ । रेमिट्यान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी कर भुक्तान गरेबापत आईएमईले लगातार तीन पटक ठूला करदाताको रुपमा सम्मान पाएको छ । प्रबल जनसेवाश्री (चौथो) बाट सम्मानित उनी सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूत, लगानी बोर्डका आमन्त्रित सदस्य, उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष र रोजगारदाता परिषदका सभापति छन् ।

यो पनि पढ्नुहोस्

चन्द्रको चामत्कारिक छलाङ

चन्द्रप्रसाद ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक (मस्यौदासहित)

चन्द्र ढकाल : सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म

विकास र समृद्धिको यात्रालाई तीव्रता दिने समय यही हो : चन्द्रप्रसाद ढकाल

 

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु