गृहपृष्ठ धादिङमा चार महिनामै भित्रियो एक अर्ब रेमिट्यान्स

धादिङमा चार महिनामै भित्रियो एक अर्ब रेमिट्यान्स

Remittance_NewsKarobar

धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत एक अर्ब रूपैयाँको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालू वर्ष २०७७/७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गिरीले बताए ।

विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत् उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयबासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् । असोज महिनामा मात्रै ३३ करोड ५५ लाख रूपैयाँ बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेसियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक ४० देखि ५० लाख रूपैयाँसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ । कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ । (रासस)

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु