गृहपृष्ठ आर्थिक पुनरुत्थानका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

आर्थिक पुनरुत्थानका कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

MOF_NewsKarobar

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

कोभिड -१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उनले आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए।

अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयको पुँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिए।

उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालू आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले आर्थिक वर्ष 2077/78 को प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, सोधभर्नाको अवस्था, बेरुजु फछर्यौटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी दिएका थिए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवहरु र महालेखा नियन्त्रक, अर्थमन्त्रालयका महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु, नियमनकारी निकाय एवं आयोजना प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

 

 

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु