गृहपृष्ठ नेपाली कर्मचारीलाई ‘गोटी’ बनाउँदै कोकाकोलाका व्यवस्थापक

नेपाली कर्मचारीलाई ‘गोटी’ बनाउँदै कोकाकोलाका व्यवस्थापक

CocaCola_NewsKarobar

कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापारिक कम्पनी, बोटलर्स नेपाल लिमिटेडका व्यवस्थापकले कम्पनीको सेयर तथा कारोबारसम्बन्धि सरकारी छानबिनमा नेपाली कर्मचारीलाई ‘गोटी (मोहरा)’ बनाएर आफू पछाडि उभिने रणनीति अख्तियार गरेका छन् ।

केही वर्षअघि नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा केही कम्पनीले अपनाएको ‘भरियालाई मालिक देखाउने’ शैली बोटलर्स नेपालका व्यवस्थापकहरूले अवलम्बन गरेका हुन् । ती कम्पनी सञ्चालकहरूले भरियालगायत सामान्य मानिसका नाममा कम्पनी दर्ता गरेर करोडौँ रूपैयाँबराबरको भ्याट अपचलन गरेको अनुसन्धानबाट खुलेको थियो ।

बोटलर्स नेपालको ७६ प्रतिशत सेयर दुबईस्थित कोकाकोला साब्को प्रालिले बोटलिङ इन्भेस्टमेन्ट ग्रुप एटलान्टा (अमेरिका)लाई बिक्री गर्दा नेपाललाई तिर्नुपर्ने अर्बौँ रुपैयाँको पुँजीगत लाभकर नतिरेको विषयमा अहिले राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । यो प्रकरणमा पनि कोकाकोला कम्पनीका आधिकारिक प्रतिनिधि र उनीहरूका तर्फबाट नियुक्त भारतीय व्यवस्थापक, प्रबन्धनिर्देशक पुनीत बार्सेनीसहितका अधिकारीहरू आफू कानुनी वा अधिकारप्राप्त सरकारी निकायमा सामुन्ने देखा नपरी नेपाली कर्मचारीलाई ढालका रूपमा अगाडि सारिरहेका छन् ।

सन् २००४ र २०१४ मा गरी दुई पटकसम्म बोटलर्स नेपाल लिमिटेडको मुख्य सेयर नेपालबाहिर नै किनबेच गरिएको छ । पछिल्लो पटक करिब १६ देखि १७ अर्ब रूपैयाँबराबरमा नेपालको स्वामित्व किनबेच गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गत मंगलबार (मंसिर २३)गते अपराह्न विभागले बोटलर्स नेपाल लिमिटेडको बालाजुस्थित कार्यालयमा छापामा मारेर महत्वपूर्ण दस्तावेजहरू, कम्प्युटर, ल्यापटपसहितका उपकरण कब्जामा लिएको थियो ।

विभागले दस्तावेज र विद्युतीय उपकरणहरू कब्जामा लिएपछि अनुसन्धान र बयानका लागि बोलाउँदा बोटलर्स नेपालको उच्च व्यवस्थापनमा रहेका भारतीय व्यवस्थापकहरू नगइ नेपाली कर्मचारीहरू अशोक मण्डल र प्रतिमा बर्मालाई पठाउने गरेका छन् ।

स्मरणीय छ, दुवै कर्मचारीका नाममा बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी ट्रोयका ट्रेडर्सको स्वामित्व चलखेल गरेर नामसारी गरिएपछि वाणिज्य विभागले त्यसका व्यापारिक कारोबार अनुमति नै स्थगनमा राखेको छ ।

बर्मा अहिले बोटलर्स नेपालको कम्पनी सचिव छिन् । कानुनी सल्लाहकारका रूपमा रहेकी बर्माका नाममा बोटलर्सले कसरी स्वामित्व सेयर हस्तान्तरण गर्‍यो भन्ने विषयमा समेत वाणिज्य विभागले प्रश्न उठाएको छ ।

बोटलर्स नेपाल पब्लिक लिमिटेड कम्पनी भएकाले यसका सहायक कम्पनीको सेयर हकभोक हस्तान्तरण पनि साधारण सभाबाट पारित हुनुपर्ने हुन्छ, तर यो प्रक्रिया नै पूरा नगरी अर्थात सर्वसाधारण सेयरधनीलाई थाहै नदिइ मण्डल र बर्माको नाममा पास गरिएको कम्पनी रजिष्ट्रारको रेकर्डबाट देखिएको छ ।

राजस्व अनुसन्धान विभागले गत शुक्रबार (मंसिर २६) गतेबाट बयान लिन थालेकोमा बोटलर्सका उच्च व्यवस्थापकले मण्डल र बर्मालाई नै विभागमा पठाएका थिए भने विभागले बयान लिने क्रम जारी रहेको बताएको छ । मंगलबार पनि कोकका दुवै कर्मचारीसँग विभागले बयान लिइरहेको छ ।

यो पनि पढ्नु होस्ः

कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान

कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु