गृहपृष्ठ उत्पादन पूर्ण सुचारु नहुँदा राजस्व लक्ष्य भेट्नै मुश्किल
उत्पादन पूर्ण सुचारु नहुँदा राजस्व लक्ष्य भेट्नै मुश्किल
गत वर्षको बचतबाट खर्च चलाउँदै सरकार
कोभिड-१९ महामारीसँगै लकडाउनका कारण ठप्प बनेको मुलुकको औद्योगिक क्षेत्र अझै पूर्ण रूपमा सुचारु नहुँदा त्यसको प्रत्यक्ष असर सरकारको राजस्वमा परेको छ । औद्योगिक गतिविधि बढ्न नसकेकै कारण मूल कर स्रोतका रूपमा रहेको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कको असुली कमजोर भएको हो ।
अर्थमन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक अवधिमा लक्ष्यभन्दा साढे ८ प्रतिशत कम राजस्व संकलन भएको छ । कात्तिक मसान्तसम्म २ खर्ब ६२ अर्ब २८ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा जम्मा २ खर्ब ४० अर्ब १५ करोड रूपैयाँमात्रै राजस्व उठेको हो ।
कर तथा गैर करबाट संकलन हुने राजस्व असुली कमजोर भएपछि सरकारले गत वर्षको बचत र बेरुजु असुलीजस्ता अन्य शीर्षकबाट रकम संकलन गरेर खर्च जुटाउने रणनीति अख्तियार गरेको छ । कात्तिक मसान्तसम्म सरकारले यस्तो ‘अन्य प्राप्ति’बाट २४ अर्ब ५२ करोड रूपैयाँ परिचालन गरेको छ ।
यो विगत तीन वर्षकै सर्वाधिक बढी’अन्य प्राप्ति’ रकम उपयोग हो । आव २०७५/७६ मा ५ अर्ब २९ करोड रूपैयाँ ‘अन्य प्राप्ति’बाट खर्चयोग्य स्रोत संकलन गरिएकोमा गत आव २०७६/७७ मा पनि राजस्व संकटलन केही अपुग हुने अवस्था आएपछि १२ अर्ब २७ करोड रूपैयाँ ‘अन्य प्राप्ति’बाट उपयोग गरिएको थियो । आर्थिक वर्षका अन्त्यमा त राजस्व संकलन संशोधित लक्ष्यअनुसार भएको देखाउन ‘अन्य प्राप्ति’ असुली बढी देखाइएको थियो ।
सरकारले संकलन गरेको कुल संघीय राजस्व २ खर्ब ९ अर्ब २० करोड रूपैयाँमध्ये अन्तरसरकारी वित्तीय व्यवस्था ऐनअनुसार स्थानीय तहहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क बाँकी नै छ । बाँडफाँट गरिने राजस्व घटाउँदा संघीय सरकारको खातामा दाखिल हुने राजस्व अझ कम हुन्छ ।
संघीय राजस्व गत वर्षको पहिलो चौमासिक अवधिका तुलनामा २.७ प्रतिशत कम असुली भएको अर्थमन्त्रालयको विवरणले देखाएको छ ।
संकलित राजस्वमध्ये भ्याट लक्ष्यका तुलनामा ९ प्रतिशत कम उठेको छ । सरकारले कात्तिकसम्म ८६ अर्ब ३७ करोड रूपैयाँ भ्याट संकलन गर्ने लक्ष्य राखेकोमा ७८ अर्ब ६३ करोड रूपैयाँमात्रै उठेको छ ।
यसैगरी, अन्तःशुल्क लक्ष्यभन्दा १८ प्रतिशत कम उठेको छ । कात्तिक मसान्तसम्म ४९ अर्ब ६८ करोड रूपैयाँ अन्तःशुल्क असुल गर्ने लक्ष्य राखिएकोमा ४० अर्ब ६२ करोड रूपैयाँमात्रै उठेको छ । यसमध्ये आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क असुली २१ प्रतिशत नै कम छ भने आयात भने असुल हुने अन्तःशुल्क पनि लक्ष्यभन्दा १३.८६ प्रतिशत कम छ ।
पछिल्लो महिनामा दसैं-तिहारका कारण भएको आयात वृद्धिका कारण भन्सारतर्फ भने राजस्व असुली लक्ष्यअनुसार नै हुनसकेको छ भने आयकर असुलीमा पनि लक्ष्यभन्दा ५ प्रतिशत बढीको प्रगति देखिएको छ ।
पहिलो पटक प्रथम चौमासिकमै आन्तरिक ऋण
चालू आर्थिक वर्षको सुरुबाटै स्रोत संकट झेलेको सरकारले साउनबाटै आन्तरिक ऋण उठाउन थालेको थियो । यसरी चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमै सरकारले ५७ अर्ब रूपैयाँ राजस्व उठाइसकेको छ भने २० अर्ब ९१ करोड रूपैयाँ वैदेशिक ऋण प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ ।
गत वर्षका बचत, बेरुजु असुलीसहितका ‘अन्य प्राप्ति’, आन्तरिक र बाह्य ऋणसमेत गरी चालू आवको पहिलो चौमासिक अवधिमा सरकारले ३ खर्ब १७ अर्ब ९६ करोड रूपैयाँ संकलन गरेकोमा २ खर्ब ९६ अर्ब ७ करोड रूपैयाँ खर्च गरेको छ । सरकारसँग अहिले परिचालन गर्न मिल्ने ४८ अर्ब ८९ करोड रूपैयाँ खातामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रकाशित समय १४:०७ बजे

















