गृहपृष्ठ सरकारले तिर्यो १० अर्ब ऋण
सरकारले तिर्यो १० अर्ब ऋण
ऋण लिएको कति? तथ्यांक बाझियो
सरकारले चालू आर्थिक वर्षको पहिलो चार महिनामा स्वदेशी र विदेशी ऋणको साँवा-ब्याजबापत करिब १० अर्ब रूपैयाँ तिरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले कात्तिकसम्म विदेशी दाताहरूबाट लिएको ऋणमध्येबाट साँवा ८ अर्ब ३ करोड २४ लाख र ब्याजबापत १ अर्ब ८४ करोड रूपैयाँ तिरेको छ ।
यसैगरी, आन्तरिक ऋणको साँबा-व्याजबापत ९ अर्ब ८५ करोड ५३ लाख रूपैयाँ तिरिएको छ । आन्तरिक ऋण छोटो अवधिका हुने भएकाले सरकारले हरेक वर्ष यसको तिर्नुपर्ने दायित्व पनि बढी हुन्छ ।
गत आर्थिक वर्षक २०७६/७७ को अन्त्यसम्म नेपाल सरकारले लिएकोमध्ये तिर्नुपर्ने ऋणभार १४ खर्ब १९ अर्ब ५६ करोड रूपैयाँ पुगेकोमा चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै सरकारले आन्तरिक ऋणबाट ५७ अर्ब र १४ अर्ब ७२ करोड रूपैयाँ वैदेशिक ऋण लिएको छ ।
नेपालले लिने प्रायः वैदेशिक ऋण लामो अवधिको र सहुलियतपूर्ण ब्याज (औसतमा १ देखि २ प्रतिशतबीच)को हुने गरे पनि २०४६ सालपछि लिएका ऋणहरूको तिर्नुपर्ने अवधि परिपक्व हुँदै गएपछि ऋण भुक्तानीको दायित्व बढ्दै गएको हो ।
यसअघि सरकारले प्रायःजसो आर्थिक वर्षको अन्तिम चौमासिक अवधिमा आन्तरिक ऋण उठाउने गरेकोमा चालू आर्थिक वर्षमा भने स्रोतको संकट परेपछि पहिलो महिनाबाटै आन्तरिक ऋण उठाइरहिकएको छ ।
तथ्यांक बाझियो
सरकारले चालू आर्थिक वर्षमा हालसम्म कति वैदेशिक ऋण लिएको छ भन्ने विषयमा सरकारका तीन निकायका तथ्यांक बाझिएको छ । औपचारिक तथ्यांकमा यति दिन्छु भनेर गरेकाे प्रतिज्ञा नभइ खुद प्राप्ति रकम देखाइन्छ, तर अर्थमन्त्रालय, महालेखा नियन्त्रक र राष्ट्र बैंकबीच तथ्यांक बाझिएको छ ।
सरकारको आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले चालू आवको पहिलो चौमासिक अवधिमा १४ अर्ब ७२ करोड रूपैयाँ वैदेशिक ऋण प्राप्त भएको उल्लेख गरेको भए पनि हालै अर्थमन्त्रालयले यो चौमासिक अवधिमा २० अर्ब ९१ करोड रूपैयाँ वैदेशिक ऋण प्राप्त भएको जनाएको थियो भने नेपाल राष्ट्र बैंकको नगद प्रवाहमा आधारित विवरणले १६ अर्ब ९८ करोड रूपैयाँ वैदेशिक ऋण प्राप्त भएको देखाएको छ ।
प्रकाशित समय १८:३० बजे

















