गृहपृष्ठ नेपाल चेम्बर र इजराइल चेम्बरबीच समझदारी, आर्थिक सम्बन्ध सुदृढ हुने अपेक्षा
नेपाल चेम्बर र इजराइल चेम्बरबीच समझदारी, आर्थिक सम्बन्ध सुदृढ हुने अपेक्षा
नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सबीच समझदारी भएको छ । दुई देशबीचको आर्थिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले दुवै पक्षका पदाधिकारी र इजरायलस्थित नेपाली राजदूत अन्जान शाक्य तथा नेपालस्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको उपस्थितिमा भर्चुअल कार्यक्रममार्फत समझदारी गरिएको हो ।
समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सका उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले यो समझदारीले दुई देशबीच आर्थिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे । नेपाल र इजराइलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्थाबीच भएको समझदारीले महत्त्वपूर्ण अर्ग राख्ने उनले बताए ।
नेपाली राजदूत शाक्यले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तारका लागि दुवै चेम्बरको सोझो सम्पर्क कायम राख्न समझदारी भएको बताइन् । इजराइलमा नेपाली चियाको बजार क्रमशः विस्तार हुँदै गएकाले नेपाली उत्पादनका लागि इजराइल राम्रो गन्तव्य हुनेको उनको भनाइ छ ।
इजराइलका राजदूत वर्गरले नेपाल पर्यटकीय सम्भावना भएको मुलुक भएकाले साहसिक पर्यटनका लागि इजराइली पर्यटकको उपयुक्त गन्तव्य हुने बताए । हालसम्म नेपाल चेम्बरले विभिन्न ७० देशका विभिन्न चेम्बरसँग समझदारी गरिसकेको छ।
प्रकाशित समय ०७:४८ बजे

















