गृहपृष्ठ जनता आवासका कर्मचारीले ६ महिनादेखि पाएनन् तलब
जनता आवासका कर्मचारीले ६ महिनादेखि पाएनन् तलब
जनता आवास कार्यक्रमका कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशअन्तर्गत रहेर काम गर्दै आएका करार कर्मचारीले साउनदेखि तलब नपाएका हुन् ।
जनता आवास कार्यक्रमअन्तर्गत कार्यरत १० जिल्लाका १२ जना कर्मचारी तलब बिनै काम गर्न बाध्य भएको कर्मचारी पूर्णप्रसाद कुमाईले बताए । उनले हाजिर र नियुक्ति पत्रसमेत ६ महिनादेखि नभएको गुनासो गरे । ‘मैले काम गर्न थालेको करिब तीन वर्ष भयो,’ उनले भने, ‘आजसम्म काम गरियो तर असारदेखि हाम्रो नियुक्ति पनि छैन, तलब पनि छैन ।’ उनले काममा निरन्तर खट्नुपरे पनि तलब नपाउँदा फिल्ड जानसमेत समस्या भएको बताए ।
तलब नपाएको विषयमा कुरा राख्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाइसकेको जानकारी दिने गरेको छ । अर्थले भने भौतिकबाट पत्र नआएको भन्दै टारेको उनले सुनाए ।
पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख बासुदेव पौडेलले भने अस्थायी दरबन्दी स्वीकृत नभएकाले तलब दिन समस्या भएको बताए । ‘पहिले उहाँहरुले संघीय सरकारबाट तलब खानुहुन्थ्यो,’ उनले भने, ‘जनता आवास कार्यक्रम संघबाट प्रदेशमा हस्तान्तरण भएपछि प्रदेशको जिम्मेवारीमा छ ।’
गत आर्थिक वर्षको तलबका लागि संघीय सरकारले रकम पठाइदिए पनि यो वर्ष नपठाएको उनले बताए । उनका अनुसार प्रदेश सरकारले जनता आवासका अस्थायी कर्मचारीलाई चालू आवमा ६ महिनाको मात्रै तलब खुवाउने सम्झौता भएको छ । केही दिनभित्रै कर्मचारीलाई तलब खुवाउने गरी काम अगाडि बढेको उनले बताए ।
प्रकाशित समय ०८:०६ बजे

















