गृहपृष्ठ सरकारी निकायमा यसरी गरिन्छ भ्रष्टाचार

सरकारी निकायमा यसरी गरिन्छ भ्रष्टाचार

Corruption_NewsKarobar

पछिल्ला वर्षहरूमा नेपालमा भ्रष्टाचारका प्रकरणहरू बढ्दै गएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसनका नाममा १/२ हजार घुस खाएका अभियोगमा तल्ला तहका कर्मचारीहरू पक्राउ गर्ने क्रम बढेको छ ।

वितेको आर्थिक वर्ष २०७६/७७ अख्तियारकै इतिहासमा सर्वाधिक उजुरी परेको र अख्तियारद्वारा धेरै मुद्दा दायर गरिएको वर्ष सावित भएको छ । यसै क्रममा अख्तियारले नेपालमा हुने भ्रष्टाचारका क्षेत्रहरूको प्रवृत्तिगत विश्लेषण गरेको छ ।

आयोगले वितेका ६ वर्ष आर्थिक वर्ष ०७१/७२ देखि ०७६/७७ सम्म) परेका उजुरीका आधारमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी शिक्षा, संघीय मामला, भूमि व्यवस्था, स्वास्थ्य, गृह प्रशासन र वनलगायतका क्षेत्रसँग सम्बन्धित विषयमा पर्ने गरेको जनाएको छ ।

यसैगरी राजस्व प्रशासन, सार्वजनिक निर्माण र खरिद, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा समेत भ्रष्टाचार र अनियमिततता हुने उजुरी बढी पर्ने गरेको अख्तियारको विश्लेषणमा उल्लेख छ।

अख्तियारले गरेको हालसम्म परेका उजुरीका आधारमा पहिचान गरेको भ्रष्टाचारका निकाय र क्षेत्रगत प्रवृत्ति विश्लेषणको सारः

भूमि व्यवस्था (मालपोत/नापी कार्यालयहरू)मा हुने केही भ्रष्टाचारका स्वरूपः

  • सार्वजनिक जग्गालाई व्यक्ति/निजी कम्पनीको नाममा गैरकानुनी रूपले दर्ता गराई बेचबिखन गर्ने
  • सार्वजनिक पर्ती/सरकारी जग्गा व्यक्तिका नाममा घुसाई दर्ता गर्ने
  • सरकारले मुआब्जासमेत दिई अधिग्रहण गरेर लिएको सरकारी, सार्वजनिक र गुठी समेतका जग्गाहरू जफत भएको भनी व्यक्ति विशेषको नाममा दर्ता गर्ने
  • फिल्डबुक/कैफियत महलको विवरणविपरीत सरकारी तथा सार्वजनिक जग्गा (पर्ती, जंगल, बुट्यान, गुठी) छुट जग्गा दर्ताका नाममा व्यक्ति विशेषका नाममा दर्ता गर्ने
  • व्यक्तिको जग्गाको कित्ता हालसाबिक/एकीकरण गर्ने नाममा साँधमा रहेको सरकारी जग्गामध्येबाट घुसाउने
  • सरकारी जग्गा आफन्तका नाममा बाँटफाँट गरी बिक्री वितरणसमेत गर्ने
    फिल्डबुकमा सरकारी/सार्वजनिक जनिएको जग्गाको नक्कली जग्गाधनी प्रमाण पुर्जा बनाई मुद्दा हाली पेस गरी मिलापत्रका नाममा सरकारी जग्गा हडप्ने
  • सरकारी निकायमा रहेको दर्ता स्रेस्ताको कागजलाई हेरफेर गरी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने
  • स्रेस्तामा वास्तविक जग्गाधनीको नाम थर र अन्य विवरण सच्याई नक्कली जग्गाधनी कायम गरी वा हालसाबिक गर्दा एक व्यक्तिको जग्गा अर्को व्यक्तिको जग्गामा घुसाई दर्ता गर्ने
  • जग्गाको नाप नक्सा गर्दा, सेवाग्राहीलाई नक्सा ट्रेस उपलब्ध गराउँदा रिसवत लिने
  • जग्गाको कित्ताकाट/दर्ता/एकीकरण/हालसाबिक/नामसारी/अंशबण्डा/लालपुर्जा/धितोबन्धक/फुकुवा/मोहियानी कायमजस्ता कार्य गराउँदा विचौलियामार्फत वा सिधै रिसवत लिने
  • राजस्व निर्धारण गर्दा हेर्नुपर्ने वा परीक्षण गर्नुपर्ने कागजात नहेरी, स्थानीय निकायको घर/बाटो चारकिल्ला प्रमाणितको सिफारिस लगायतका आवश्यक प्रमाण कागजात संकलन नगरी कम राजस्व निर्धारण गर्ने
  • जग्गाको मूल्यांकन फरक पारी लिखतमा वास्तविक मूल्यभन्दा कम थैली कायम गरी कम रजिस्ट्रेसन शुल्क, पुँजीगत लाभकर निर्धारण गर्ने,
  • राजस्व रकम नक्कली रसिदबाट उठाइ प्रचलित कानुनबमोजिम दाखिला नगरी हिनामिना गर्ने
  • अदालतबाट रोक्का रहेको जग्गा मोठ नै नभिडाइ पास गर्ने/रोक्का जग्गा, रोक्का छैन भनी प्रमाणित गर्ने
  • जग्गाधनी दर्ता स्रेस्ता/मोहीका अभिलेखमा थपघट तथा सच्याउने कार्य गर्ने
  • महत्वपूर्ण सरकारी कागजात अनधिकृत रूपमा लुकाउने
  • जग्गा नामसारी गर्दा पालना गर्नुपर्ने कार्यविधि पालना नगरी कुनै अंशियारको हकमा असर पर्रने गरी नामसारी गरिदिने
  • जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरी गैर कानुनी तरिकाले हकहस्तान्तरण गर्ने
  • किर्ते जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाइ बेजिल्ले रजिष्ट्रेसनको गैरकानुनी लिखत तयार पार्ने

स्थानीय तहमा हुने भ्रष्टाचारका केही स्वरुपः

  • गाउँपालिका वा नगरपालाको बजेटबाट निर्माण गरिएका नाला, नहर, कुलो, सडक, शौचालय जस्ता संरचनाको मूल्यांकन गर्ने, कार्य-सम्पन्न प्रतिवदेन तयार गरिदिने, रकम निकासा तथा भुक्तानी दिने क्रममा घुस माग्ने
  • जन्म दर्ता, नाता प्रमाणित, उद्योग व्यवासय दर्ता, बसाइसराइ प्रमाणपत्र, चारकिल्ला सिफारिस, घर निर्माण सम्पन्न प्रमाण पत्र, घरगोठ बाटो प्रमाणित, कार्य सम्पन्नज प्रतिवेदन, नागरिकताको प्रतिलिपि लिन सिफारिस, घर निर्धारणलगायतमा सहयोग गर्रने भनी घुस (रिसवत) माग्ने
  • एक निकायबाट निर्माण भइसकेकोमा पुनः अर्को निकायबाट समेत सोही काम भएको भनी दोहोरो रकम लिने
  • नक्कली भरपाई र किर्ते सहीछाप बनाइ तोकिएको कामै नगरी भुक्तानी लिने
  • नाता प्रमाण पत्र र नामसारीको सिफारिस गर्दा कानुनले तोकेबमोजिमको प्रक्रिया र कार्यविधि अवलम्बन नगर्ने
  • विकास आयोजनाका नाममा जथाभावी रकम विनियोजन र खर्च गर्रने
  • उपभोक्ता समितिलाई अनाधिकृत रूपमा पेश्की दिइ सम्झौताबमोजिम आयोजनाको कुनै पनि कार्य नगरी खाइमास्ने
  • राजस्व चुहावट वा हिनामिना गर्ने
  • विद्यालयको भौतिक निर्माणको कार्य सम्पन्न नगर्ने, छात्रवृत्ति रकम वितरण नगर्ने, पाठ्यपुस्तक खरिद नगर्ने, शिक्षकहरूको तलब र सामाजिक सुरक्षा करबापतको रकमसमेत हिनामिना गर्ने
  • गाउँपालिका वा नगरपालिकाको बजेटबाट निर्माण गरिएका नहर, कुलो, कृषि सडक, बाटो, झोलुंगे पुल, कल्भर्ट, शौचालयजस्ता संरचनाको गलत मूल्यांकन गर्ने, कार्य सम्पन्न नभएकोमा कार्य सम्पन्न भएको प्रतिवेदन तयार पारिदिने, रकम निकासा तथा भुक्तानी दिने
  • नगरपालिका/गाउँपालिकाको बजेट निजी खातामा स्थानान्तरण गर्ने, रकम बैंकबाट निकाली घरव्यवहारमा लगाउने
  • सामाजिक सुरक्षा भत्तामा नक्कली भरपाई तयार पारी भुक्तानी दिने, मृत्यु भइसकेको व्यक्तिको नाममा समेत बदनियतपूर्वक भत्ता वितरण गरिदने, आफै औंठाछाप र किर्ते भरपाई गरी बढी रकम भुक्तानी लिइ हिनामिना गर्ने
  • नक्कली बैंक ग्यारेन्टीका आधारमा मोबिलाइजेसन पेश्की दिने

सार्वजनिक खरिद तथा निर्माणमा हुने भ्रष्टाचारका प्रकृतिः

  • सार्वजनिक निर्माण र खरिदसम्बन्धी कार्यहरूलाई टुक्राटुक्रा गरी सम्पन्न गर्ने गराउने
  • दरभाउपत्र वा बोलपत्रबाट खरिद गर्नुपर्नेमा सोझै बजारबाट खरिद गर्ने गराउने
  • लगत इस्टिमेट यथार्थपरक नबनाउने
  • लागत अनुमानभन्दा बढी कबोल गर्ने दरभाउपत्र/बोलपत्र स्वीकृत गर्ने
  • अनधिकृत कर्मचारीले दरभाउपत्र र बोलपत्र स्वीकृत गर्ने
  • खरिदअनुसार स्टोर दाखिला र जिन्सी सामानको अभिलेख दुरुस्त नराख्ने
  • कानुनद्वारा निर्धारित सर्रत र मापदण्डविपरीत निर्माण कार्य गराई वा निर्माण नै नगराई भुक्तानी लिने दिने
  • आर्थिक वर्षको अन्त्यतिर विनियोजित रकम सिध्याउन बोलपत्र बेगर सोझै मालसामान खरिद गर्ने
  • योजना, कार्यक्रम वा परियोजनाको लागत र समय बढाई स्रोतसाधनको दुरुपयोग गर्ने
  • सम्पन्न नभएको कुरा सम्पन्न देखाई गलत प्रतिवेदन दिने
  • नापजाँच फिल्डमा भएअनुसारको नगरी बदनियतपूर्वक नभएको/नगरेको काम देखाइ कार्य सम्पन्न प्रतिवेदन दिने

शिक्षाअन्तर्गत भ्रष्टाचारका केही स्वरुपः

  • शिक्षक लामो समय विदयालयमा हाजिर नरहेको अवस्थमा निजकै नाममा तलब भुक्तानी लिने
  • मिलेमतोमा परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकमा लेख्न लगाइ उत्तरपुस्तिका साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गर्ने
  • परीक्षाको प्रश्नप्रत्र अनधिकृत रूपमा निकाली परीक्षा हुनुअगावै म्यासेन्जरमा पठाउने, विभिन्न किसिमले सार्वजनिक गर्ने
  • स्थायी पदपूर्तिका लागि भएको परीक्षाको परिणाम फेरबदल गर्ने
  • उत्तरपुस्तिकमा थप लेख्ने कार्य गरी गराई अनुत्तीर्ण परीक्षार्थीलाई उत्तीर्ण गराउने
  • परीक्षार्थीको प्राप्तांक अनुचित ढंगले थपी परिणाम फेरबदल गर्ने
  • गैर-परीक्षार्थीलाई उत्तर लेख्न लगाउने
  • शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र/झुठा अध्यपन अनुमतिपत्र पेस गर्ने
  • विद्यालय भवन/शौचलय/विज्ञन ल्याबजस्ता निर्माण कार्यमा वास्तविक भन्दा बढी कार्य भएको देखाउने
  • छात्रवृत्ति वितरण/पुस्तक खरिदमा वास्तविकभन्दा बढी विद्यार्थी संख्या देखाई बढी रकम भुक्तानी लिई हिनामिना गर्ने
  • हुँदै नभएका विद्यालयहरूको कागजी रेकर्डमात्र खडा गरी अनियमितता गर्ने
  • किर्ते दस्तखत वा कागजात तयार गरी रकम हिनामिना गर्ने
  • स्वीकृति नलिइ अन्य शैक्षिक संस्थामा कामकाज गर्ने गराउने
  • मापदण्ड पूरा नगरेका शिक्षण संस्थाहरूलाई सम्बन्धन वा स्वीकृति दिने
  • कलेज सञ्चालन अनुमित, विद्यालय भवन निर्माणको भुक्तानी, शिक्षक नियुक्तिमा रिसवत माग्ने

गृह प्रशासन

  • सामान आयात/निर्यात, व्यापार व्यवसाय, बालुवा उत्खनन्, मुद्दा मामिलामा सहजीकरण गरिदिने भनी प्रहरी प्रशासनले रिसवत माग गर्ने
  • सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा पास गराइदिने भनी रकम लिने
  • सुरक्षा निकायबाट हुने सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गर्ने, खरिद प्रक्रियाको पलना नगरी सोझै खरिद गर्ने
  • प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पहरूमा अनियमितता गर्ने
  • सुरक्षाको नाममा कानुन र प्रक्रिया मिच्ने
  • नक्कली सेवा प्रदायक खडा गरी रकम हिनामिना गर्ने
  • दैवीप्रकोप उद्धारका राहत सामग्री खरिदमा अनियमितता गर्ने
  • भिजिट भिसा लिई विदेश जाने नेपालीहरूलाई अध्यागमन अनुमति दिँदा दुःख दिने,
  • अध्यागमन कार्यालयबाट घुस (रिसवत) लिइ यात्रा अनुमति दिन नहुने व्यक्तिलाई समेत अनुमति उपलब्ध गराउने
  • जिल्ला प्रशासन कार्यालयहरूमा अनियमितता गरी नागरिकता पाउनु नपर्ने व्यक्तिलाई नागरिकता प्रदान गर्ने
  • सडक दुर्घटनाको नक्कली चालक खडा गरी गलत अनुसन्धान प्रतिवेदन तयार पार्ने

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु