गृहपृष्ठ एफएनसीसीआइको स्टार्ट अप एण्ड इनोभेशन समिति विस्तार
एफएनसीसीआइको स्टार्ट अप एण्ड इनोभेशन समिति विस्तार
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एण्ड इनोभेशन समिति (Start up and Innovation Committee) ले पूर्णता पाएको छ । जसअनुसार समितिको सह–सभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् ।
साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ सोनर गोम्सर र कविराज जोशी छन् । त्यसैगरी समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी र शौरभ ज्योति र अनिल चित्रकार छन् । महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरे ।
कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसायनै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि वाहिरने युवा शक्तिलाई पर्याप्त रोजगारी सिर्जना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे । युवा जनशक्तिको वाहुल्यता रहेको, जैविक विविधताले भरिपूर्ण र दुई विशाल अर्थतन्त्र भएका छिमेकी देशको बीचमा हाम्रो अवस्थितिनै हाम्रो समृद्धिको बलियो आधार भएकाले हामीसँग भएको अथाह सम्भाव्यताबाट वास्तविक रूपमै फाइदा उठाउनु पर्नेमा अध्यक्षको जोड दिए । यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको बताए ।
महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सिर्जना, कामका लागि वाहिरनुपर्ने बाध्यताको अन्त्य, पढे लेखेको युवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सबै समिति फोरमको परिचालनमार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सिर्जनामा कार्य गर्ने बताए । समितिका सभापति आचार्यको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले देहायको निर्णयहरू समेत गरेको छ ।
१. नेपालमा स्टार्टअप सुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्ने ।
२. नविन सोचमा आधारित रहेर उद्यम गर्न चाहने ५० वटा स्टार्ट अपहरूको व्यवसायिक सफलताका लागि सुरूवाती पुँजी (लगानी) जुटाई दिने । सुरूवाती पुँजी स्टार्टअप समिति अन्तरगत रहेको इन्भेष्टर फोरम मार्फत जुटाइने छ ।
३. कविराज जोशीको संयोजकत्वमा इभेन्टस् म्यानेजम्यान्ट उप समिति गठन गर्ने ।
४. प्रत्येक महिनाको पहिलो शुक्रवार फस्ट फ्राइडे टल्क आयोजना गर्ने ।
५. महासंघको विद्यमान नेटवर्कमार्फत स्टार्ट अपका विषयमा देशैभर सचेतनामुलक कार्यक्रम लैजाने ।
५. समितिका भावी कार्यक्रम तथा योजनाका विषयलाई छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने ।
प्रकाशित समय १७:५३ बजे

















