गृहपृष्ठ राजस्व लक्ष्य पुर्याउन अभियान, महानगरको टोली करदाताका घर-घरमा
राजस्व लक्ष्य पुर्याउन अभियान, महानगरको टोली करदाताका घर-घरमा
भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई अभियानको रुपमा अघि बढाएको छ । कोरोना भाइरस कोभिड- १९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व संकलन बढ्दै गएको हो ।
भरतपुर महानगरपालिकाले हालसम्म २५ करोड ५० लाख राजस्व संकलन गरेको छ । असार मसान्तसम्ममा ९० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । जसमा रजिष्ट्रेसन सेवा शुल्कसमेत छ । गत वर्ष यसै हाराहारीमा राजस्व संकलन भएको थियो । महानगरको आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल राजस्वको दायरामा आउन नसकेका करदाताका घर-घरमा टोली परिचालन गर्न थालिएको बताउँछन् । महानगरले निजी क्षेत्रसँग सहकार्य गरेर राजस्व संकलनलाई तीव्रता दिएको छ । अर्यालले भने, ‘हामीले स्थलगत रुपमा कर दाताको नवीकरण र राजस्व संकलनसमेत गर्न थालेका छौँ ।’ महानगरमा करको दायरामा ६० प्रतिशत हाराहारी व्यवसायी आएका छन् । यसलाई ८० प्रतिशतमा पुर्याउने लक्ष्यका साथ अभियान थालिएको छ ।
महानगरपालिकाको राजस्व परामर्श र संकलन समितिका संयोजकसमेत रहेका उपप्रमुख पार्वती शाह ठकुरी हिजोआज हरेक हप्ता राजस्व संकलनको विषयमा नियमित छलफल गरी संकलनमा जोड दिएको बताउँछिन् । टोली परिचालनसँगै ठूला करदातालाई पत्राचार गर्ने काम भइरहेको उनको भनाइ छ । उनले भनिन्, ‘यो वर्ष हामीले दर बढाएका छैनाैं । दायरा बढाउने काममा लागि परेका छौँ ।’ सबैलाई करको दायरामा आउन अनुरोध गर्दै उनले सबैले कर तिरेमा दर बढाउनु नपर्ने बताए । सरोकारवालाको परामर्शमा दर तय भएकाले राजस्व संकलनमा सहयोग पुर्याउनुपर्ने उनको धारणा छ ।
महानगर प्रमुख रेनु दाहाल कोरोनाका कारण संकलनमा केही कमी भए पनि सन्तोषजनक रहेको बताइन् । महानगरपालिकाले कर संकलनलाई अभियानका रुपमा अघि बढाएको भन्दै उनले यसमा साथ र सहयोग गर्न निजी क्षेत्रसँग अनुरोध गरिन् । आन्तरिक आम्दानी बढाउन सकेमा महानगरको विकासमा थप सहयोग पुग्ने दाहालको भनाइ छ । आन्तरिक आम्दानी कम भए पनि महानगरपालिकाले संघीय सरकारका विभिन्न मन्त्रालयमा निरन्तर पहलकदमी गरेर ठूला आयोजना महानगर क्षेत्रमा पार्न सफल भएको दाहालले जानकारी दिइन् ।
चालु आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसार राजस्व असूलीका लागि साना ठूला करदाताको सूचीकरण, वडामा स्थलगत रूपमा कर शिक्षा र स्थलगतरूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखांकन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्थाजस्ता उपाय अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको उनले जानकारी दिइन् । करदातामैत्री प्रणाली विकासमार्फत करको लक्ष्य हासिल गर्न सकिने दाहाल अपेक्षा छ ।
चालु आव २०७७/७८ को लागि कूल राजस्व तीन अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक स्रोततर्फ ९० करोड अनुमान गरिएको छ । उनका अनुसार उक्त आन्तरिक राजस्वका स्रोतका शीर्षकमा मुख्य रूपमा घर बहाल करतर्फ आठ करोड, नक्सा पास दस्तुरतर्फ सात करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ चार करोड, व्यवसाय दस्तुरतर्फ छ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ सात करोड, अन्य क्षेत्र आय ४० करोड, अन्य बिक्रीमा ढुंगा-गिट्टी लगायतका बिक्रीबाट जम्मारु छ करोड ८० लाख रूपैयाँसमेत गरी राजस्व प्रक्षेपण गरिएको छ ।
भरतपुर महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो । विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुसअगाडि बुझाएको पाइन्छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ । जसका कारण आन्तरिक आम्दानीसमेत बढ्ने देखिन्छ । स्थानीय तहले मुख्यरुपमा आम्दानी गर्नसक्ने प्राकृतिक स्रोतबापतको कर यहाँ कम हुने भएकाले राजस्व तुलनात्मक हिसाबले कम रहेको छ । (रासस)
प्रकाशित समय १२:२१ बजे

















