गृहपृष्ठ वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य महासंघ अग्रसर

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य महासंघ अग्रसर

नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन अग्रसरता लिएको छ । महासंघमा पहिलोपटक स्थापना गरिएको वैदेशिक रोजगार फोरम विस्तार कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा विप्रेषणको योगदानलाई उच्च मूल्यांकन गरेर वैदेशिक रोजगार फोरम गठन गरिएको बताए ।

‘वार्षिक करिब ९ खर्ब रुपैयाँ हाराहारीमा भित्रिने विप्रेषणले मुलुकको अर्थतन्त्रमा निकै ठूलो योगदान पु‑याएको छ,’ कार्यक्रममा उनले भने, ‘तर अहिले पनि हामीले दक्ष जनशक्ति पठाउन नसक्दा न्यूनतम तलबमा अनेकन् समस्या झेल्दै विदेशी भूमिमा काम गर्न हाम्रा दाजुभाइ, दिदीबहिनीहरु बाध्य छन् । यो क्षेत्रलाई अझ बढी व्यवस्थित बनाउन, दक्ष जनशक्ति विकास गर्न तथा समस्यामा रहेका नेपालीलाई सकेको सहयोग गर्न सकियोस् भनेर महासंघले फोरम गठन गरेको हो ।’ नवगठित फोरमलाई वैदेशिक रोजगारीका समग्र मुद्दाहरुमा परिणामदायी काम गर्न उनले सुझाव दिए ।

महासंघको कार्यकारिणी समिति सदस्य विष्णुप्रसाद गैरेको सभापतित्वमा गठित वैदेशिक रोजगार फोरम विस्तार भएको हो । फोरमको सहसभापतिमा प्रज्ञान न्यौपाने छन् ।

सदस्यहरुमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गुरुर, विनायक पोखरेल र भवानी निरौला तथा आमन्त्रित सदस्यहरुमा सुनिता कर्माचार्य, थिरमणि पौडेल र सुवर्ण श्रेष्ठ छन् । फोरमका सल्लाहकारमा किरणकिशोर घिमिरे, रोहन गुरुर, सुजितकुमार श्रेष्ठ, नवराज केसी र नरेन्द्र ढकाल छन् ।

महासंघको रोजगारदाता परिषदका सभापति एवं प्रदेश उपाध्यक्ष रामचन्द्र संघाईले फोरमलाई यो क्षेत्रका सरोकारवाला निकायहरुसँग बसेर वैदेशिक रोजगारीका सम्भाव्यता तथा चुनौतीका वारेमा अध्ययन गरी ठोस सुझाव तयार गर्न अनुरोध गरे ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु