गृहपृष्ठ रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा ल्याउन माग

रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा ल्याउन माग

नेपाली कांग्रेसका नेता एवं रसुवाका सांसद मोहन आचार्यले रसुवागढी नाका पूर्ण सञ्चालनमा ल्याउन माग गरेका छन् । २८५७औं सोनम ल्होछार लाङ ल्हो (गोरु वर्ग) को अवसरमा आरुखर्क जुरेढुंगा युवा समाज नौकुण्ड १ रसुवाको आयोजनामा सञ्चालित कार्यक्रममा उनले रसुवागढी नाका लामो समयदेखि पूर्ण सञ्चालनमा आउन नसक्दा नेपाल र चीनबीचको व्यापारिक कारोबार प्रभावित हुनुका साथै रसुवाका दाजुभाइको गरिखाने बाटो बन्द भएको बताए ।

ऋण गरेर ४ सयभन्दा बढी कन्टेनर खरिद गरेका रसुवाली आज किस्ता तिर्न नसकेर गाडी नै बुझाउने अवस्थामा पुगेको उनको भनाइ छ । नाका खोल्नका लागि सम्बन्धित निकायमा पटक‑पटक अनुरोध गर्दा पनि केही नलागेकाले सबैले आ‑आफ्नो क्षेत्रबाट आवाज उठाउन उनले सबैलाई आग्रह गरे ।

एक वर्षदेखि नाका पूर्ण सञ्चालनमा आउन नसक्दा पारी रहेका गाडी र १ हजारभन्दा बढी कन्टेनरमा रहेको सामग्री के‑कस्तो अवस्थामा छ भन्नेसमेत थाहा नभएको नेता आचार्यले बताए । कतिपय खाद्य सामग्रीको उपभोग्य मिति गुज्रिसकेको गुनासो व्यापारीहरुले गरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम तामाङले नाका सञ्चालनमा नआउँदा व्यापारीहरू ठूलो मर्कामा परेको तथा ब्याज र किस्ता तिर्न नसकेर एक जना व्यापारीले आत्महत्या नै गरेको खबरले दुःखी बनाएको बताए । चीनबाट नेपालतर्फ एकतर्फी मात्र सामान ल्याउने गरी नाका सञ्चालनमा ल्याइएको भन्दै उनले आपत्ति जनाए । चीनले गरिरहेको नियन्त्रण फुकुवा गर्न सरकारको तर्फबाट समेत ठोस पहल नभएको उनको आरोप छ । ‘यो एक प्रकारको अघोषित नाकाबन्दी नै हो,’ तामाङले भने ।

कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पु साङ्बो घले, आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङलगायतले नाका पूर्णरुपमा सञ्चालनमा ल्याउन सरोकारवालाको घ्यानाकर्षण गराए ।

गत वर्ष माघ १५ गतेदेखि रसुवागढी नाका बन्द छ । सुरुमा ल्होसारका कारण बन्द भएको भनिएको नाका पछि कोरोनाभाइरस महामारी फैलिएसँगै जेठ महिनाको २१ गतेसम्म पूर्णरुपमा बन्द गरियो । जेठ २२ गतेदेखि चीनबाट नेपालतर्फ एकतर्फी सामान ल्याउने गरी नाका सञ्चालनमा ल्याइएको छ ।

त्यसबीचमा पनि पटक‑पटक नाका बन्द भएको छ । नियमित सञ्चालन हुँदा यो नाकाबाट दैनिक सयभन्दा बढी कन्टेनर नेपाल भित्रिने गरेका थिए ।

प्रकाशित समय १२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु