गृहपृष्ठ स्वास्थ्य सेवा विस्तारमा अस्पताल र बैंकबीच सहकार्य बढ्दो
स्वास्थ्य सेवा विस्तारमा अस्पताल र बैंकबीच सहकार्य बढ्दो
नेपाल मेडिसिटीको १० महिनामै ५० संघ-संस्थासँग सहकार्य, सनराइज बैंकले गर्यो ८४ निजी अस्पतालसँग हातेमालो
ठूला निजी अस्पताल र बैंक तथा वित्तीय संस्था एवं अन्य संघ–संस्थाबीच सेवा आदानप्रदानसम्बन्धी सम्झौता गर्ने क्रम बढेको छ । बिरामीको उपचारमा पहुँच बढाउन स्वास्थ्य संस्थाहरूले अभियानकै रूपमा सहकार्य अघि बढाएका हुन् ।
सम्झौतामा अस्पतालहरूले वित्तीय संस्थाका ग्राहक तथा कर्मचारीको उपचारमा विशेष छुट उपलब्ध गराउने गरेका छन् भने वित्तीय संस्थाहरूले पनि स्वास्थ्य बिमालगायत विभिन्न सुविधा दिने गरेका छन् ।
ललितपुरको भैंसीपाटीमा रहेको नेपालकै सुविधासम्पन्न अस्पताल नेपाल मेडिसिटीले सेवा विस्तारका लागि वित्तीय संस्था, बिमा कम्पनी, स्वास्थ्य संस्था एवं सामाजिक संस्थाहरूसँगको सम्झौतालार्इ व्यापकता दिएको छ । मेडिसिटीले स्थापनाको १० महिनामै ५० वटा संस्थासँग सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । यसबाहेक मेडिसिटीले १० वटा यातायात कम्पनीहरू र विभिन्न टोल सुधार समिति, धार्मिक संस्थाहरूसँग पनि सहकार्य गरेको छ ।
मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल नेपालीहरू उपचारका लागि विदेश जानु नपरोस् भन्ने उद्देश्यसहित देशव्यापी अभियान नै सञ्चालन गरिएको बताउँछन् । ‘उपचारमा नेपालीहरूको सर्वसुलभ पहुँच स्थापित गर्न देशव्यापी अभियानमा जुटेका हौं,’ उनले भने, ‘हामी काठमाडौंका सुविधा सम्पन्न अस्पतालले दिने सेवा देशका कुना-कुनाबाट प्रदान गर्न चाहन्छौं ।’
त्यसका लागि मेडिसिटी अस्पतालले अन्य अस्पतालहरूलार्इ प्राविधिक, व्यवस्थापकीय एवं जनशक्तिमा समेत सहयोग गरिरहेको छ । नेपालबाट बर्सेनि उपचारका लागि करिब दुर्इ लाख नेपालीसँगै बिदेसिने २६ अर्ब रूपैयाँ रोक्नु हामी सबैको मुख्य दायित्व भएको महाप्रबन्धक रिमालले बताए । ‘त्यो उद्देश्य पूरा गर्न हामी एक्लैले नसक्ने भएकाले सबै सरोकारवालासँग सहकार्यको हात अघि बढाएका हौं,’ उनले भने, ‘सबैको प्रयासबाट मात्र स्वास्थ्यमा सम्पूर्ण नेपालीको पहुँच सम्भव छ ।’
मेडिसिटीले सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नागरिक सामुदायिक अस्पताल, प्राइम बैंक, महालक्ष्मी विकास बैंक, ट्राभहिल, हिमालयन बैंक, फोर सिजन, राउन्ड टेबल नेपाललगायतसँग सहकार्य गरिसकेको छ । आगामी दिनमा थप संघ–संस्थासँग हातेमालो गर्दै जाने अस्पतालको तयारी छ ।
सनराइज बैंकले पनि सेवा विस्तारका लागि निजी अस्पतालसँगको सहकार्यमा जोड दिएको छ । स्वास्थ्य बिमा योजनामा केन्द्रित रहेर सनराइज बैंकले देशभरका ८४ भन्दा बढी निजी अस्पतालसँग सम्झौता गरिसकेको छ । बिरामीलार्इ स्वास्थ्य बिमा योजनामा जोड्न अस्पतालसँगको सहकार्यलार्इ प्राथमिकता दिएको बैंकले जनाएको छ ।
बैंकका ग्राहकले अस्पतालहरूमा स्वास्थ्य परीक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म विशेष छुट पाउने गरी सम्झौता गरेको छ । तोकिएका अस्पतालमा छुट पाउनका लागि ग्राहकले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनुपर्नेछ ।
सम्झौता भएका अस्पतालमा भर्ना भई औषधोपचार गर्दा सनराइज बैंकका ग्राहकले बैंकबाट एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाउनेछन् । सनराइज बैंकले मनमोहन मेमोरियल अस्पताललगायतसँग सेवा आदानप्रदान सम्झौता गरेको छ ।
त्यस्तै, बल्खुको वयोधा अस्पताल, थापाथलीको नर्भिक अस्पताललगायतले पनि विभिन्न संघ-संस्थासँग सहकार्य गरिरहेका छन् ।
प्रकाशित समय १२:५१ बजे

















