गृहपृष्ठ १० प्रतिशत नेपाली बिमाको पहुँचमा !

१० प्रतिशत नेपाली बिमाको पहुँचमा !

तीन वर्षभित्र २५ प्रतिशत पुर्याउने लक्ष्य

chiranjibi chapagain_pokhara_newskarobar

नेपालीहरुमा बिमाको पहुँच बढेको बिमा कम्पनीहरुको नियामक बिमा समितिले दाबी गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा थप ४ प्रतिशत नागरिक बिमाको पहुँचमा आएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।

बिमा समितिको आयोजना, नेपाल पत्रकार महासंघ कास्की शाखा र नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरको सहकार्यमा शुक्रबार आयोजित बिमा साक्षरता तथा अन्तरक्रियामा अध्यक्ष चापागाईंले यस्तो बताएका हुन् । यसअघि करिब ७ प्रतिशत नागरिक बिमाको पहुँचमा रहेको बताइएको थियो । ‘आर्थिक बर्ष २०७४/०७५ मा हामीले करिब चार प्रतिशतले बिमाको पहुँचमा बृद्धि गरायौँ,’ उनले भने, ‘सात प्रतिशतबाट हाल नेपालमा बिमाको पहुँच १०.५ प्रतिशतमा पुगेको छ ।’

यद्यपि, यो अपेक्षा गरेभन्दा कम भएको उनको भनाइ छ । ‘बिमासम्बन्धी चेतनामा कमी भएकाले पनि अपेक्षाअनुरुप बिमाको पहुँच बढाउन सकिएन ।’आगामी तीन वर्षभित्र २५ प्रतिशत नेपालीलाई बिमाको पहुँचमा पुर्याउने बिमा समितिको लक्ष्य रहेको उनले बताए । बिमितको आर्थिक अबस्थालाई मध्यनजर गरी क्षमता अनुसारको बिमा गर्न गराउन उनले बिमा कम्पनीहरुलाई निर्देशन पनि दिए ।

ल्याप्स समस्या हटाउन गृहकार्य
चापागाईंले बिमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो)बारे सुधार गर्न गृहकार्य थालेको जानकारी दिए । ‘बिमामा ल्याप्स रेसियोको मुद्दा गम्भीर समस्या हो, उनले भने, ‘जीवन बिमामा रहेको ल्याप्स रेसियो हटाउने गरी गृहकार्य अघि बढाएका छौँ ।’

आफ्नो क्षमताभन्दा बढीको बिमा गर्ने गरेकाले पनि बिमा ल्याप्स रेसियो बढ्न गएको उनको भनाइ छ । ‘अब यसको समस्या समाधानको लागि हामीले केही नियम तथा कानुन बनाउँदैछौँ ।’ उनले भने । बिमासम्बन्धी चेतनामा कमी भएकाले पनि अपेक्षाअनुरुप बिमाको पहुँच बढाउन नसकिएको उनले बताए ।

chiranjibi chapagain_pokhara_newskarobar

कार्यक्रममा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले नेपालमा बिमाको इतिहास करिब ७ दशकको भए पनि त्यसको आधारमा प्रगति उत्साहजनक नरहेको बताए । उनका अनुसार बिमा क्षेत्रमा हाल करिब ७३ अर्बको पुँजी छ ।

बिमा विज्ञ भोजराज शर्माले बिमा गर्दा राम्रोसँग बुझेर गर्न सबैलाई सुझाव दिए । ‘आर्थिक अवस्था हेरेर ल्याप्स नहुने किसिमले बिमा गरी र आफ्नो जोखिमलाइ न्यूनिकरण गर्नुपर्छ ।’ उनले भने ।

प्रकाशित समय ०९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु