गृहपृष्ठ अर्थमन्त्री भन्छन्– लगानीका लागि कुनै व्यवधान छैन

अर्थमन्त्री भन्छन्– लगानीका लागि कुनै व्यवधान छैन

उद्योगी व्यवसायी भन्छन्– समस्यै–समस्या छ

arthamantri-khatiwada-newskarobar

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार एक्लैको चाहनाले देश विकास नहुने बताएका छन् । देश विकासका लागि निजी क्षेत्र र सरकारको बीचमा हातेमालो आवश्यक भएको भन्दै अर्थमन्त्रीले निजी क्षेत्रसँग सहकार्यका लागि सरकार सधैं तयार रहेको बताए ।

बुटवल उद्योग वाणिज्य संघको ६५औं वार्षिक साधारण सभाको सोमबार बुटवलमा उद्घाटन गदैं अर्थमन्त्री खतिवडाले व्यवसाय गरेर आम्दानी गर्नेले र राज्यबाट सेवा लिनेहरुले सरकारलाई कर तिर्नुपर्ने प्रस्ट पारे । संघीयताले मुलुकमा खर्च बढाएको र त्यसको परिपूर्तिका लागि करको दर बढाउनु बाध्यता रहेको अर्थमन्त्रीको भनाइ छ । अहिले संघीय सरकार नयाँ भएका कारण थिति बस्न अझै केही समय लाग्ने उनको तर्क छ ।

‘मुलुकको चालू खर्च आफ्नै आम्दानीबाट सञ्चालन गर्नका लागि पनि करको दर केही बढाउन जरुरी छ,’ अर्थमन्त्रीले भने । व्यवसाय गर्नेले आयकर र मूल्य अभिवृद्धि कर तिर्नैपर्ने भन्दै उनले त्यो दोहोरो कर नभएको स्पष्ट पारे । ‘कर तिर्ने वातावरण सरकारले सहज रुपमा निर्माण गर्नुपर्छ, त्यो वातावरण बनाउन हामी तयार छौं,’ उनले भने ।

अर्थमन्त्री खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताउँदै मुलुकमा लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुन दुई महिनाभित्र संशोधन भइसक्ने जानकारी गराए । ‘अब के गर्नुपर्यो लगानीमैत्री वातावरणका लागि ? स्थिर सरकार छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा छौं,’ उनले भने, ‘कानुनहरु संशोधनको अवस्थामा छन् । एक दुई महिनामा संसदले पास गर्छ ।’

लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानुन, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवर्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानुन संशोधन भएर लगानीमैत्री वातावरणमा मुलुक जाने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता व्यवक्त गरे । ‘बहुवर्षीय आयोजनामा सरकारको अनुगमन गर्ने परिपाटी कमजोर छ,’ उनले भने, ‘यसमा निजी क्षेत्रले सरकारलाई ताकेता गर्नुपर्छ ।’

प्रदेश ५ का उद्योग, वन, वातावरणमन्त्री लीला गिरीले प्रदेश सरकारलाई उद्योगी व्यवसायीले महत्वपूर्ण योगदान दिएको बताए । संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल तथा केन्द्रीय सदस्य सुरेन्द्र श्रेष्ठ, संघका महासचिव दिनेश श्रेष्ठसहित विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले उद्योग, पेसा व्यवसाय गर्ने वातावरण नहुँदा समस्या विकराल भएको बताएका थिए ।

प्रकाशित समय १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु