गृहपृष्ठ अरुण तेस्रोको प्रसारण लाइनमा भारतको १९ अर्ब लगानी स्वीकृत

अरुण तेस्रोको प्रसारण लाइनमा भारतको १९ अर्ब लगानी स्वीकृत

Arun3_NewsKarobar

बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन बनाउनका लागि भारत सरकारले थप १९ अर्ब ७७ करोढ ८८ लाख रुपैयाँ (१२ अर्ब, ३६ करोड १३ करोड भारु) लगानी गर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षमा बसेको आर्थिक मामिलासम्बन्धी आर्थिक समितिले सतलज जलविद्युत् निगम लिमिटेड (एसजेवीएनलएल)लाई उक्त लगानीका लागि स्वीकृति दिएको हो । भारतीय सरकारले सन् २०१७ को मूल्यस्तरका आधारमा यो लगानीका लागि स्वीकृति लिएको हो ।

यो रकमबाट अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ४०० केभीको प्रसारण लाइनबाट नेपालको डिडिङबाट ढल्केवर हुँदै भारतको बथनाहसम्म विद्युत् आपूर्ति हुने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत् ढल्केबरबाट मुज्जफपुर हुँदै भारतलाई निर्यात गर्ने योजना छ ।
संखुवासभा, भोजपुर, खोटाङलगायत जिल्ला हुँदै प्रसारण लाइन महोत्तरीको ढल्केवरस्थित ४ सय केभीको राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ।

नेपालले पाउने २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ मेगावाट विद्युत् ढल्केवरस्थित ४०० केभी प्रसारण लाइनमार्फत वितरण हुनेछ। भारततर्फ लाने विद्युत पनि मुजफ्फरपुर प्रसारण लाइनमा जोडिनेछ।

नेपाल सरकार र भारतीय कम्पनी सतलजबीच सन् २००८ को मार्च २ मा अरुण ३ मा आयोजना विकास सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । यस आयोजनाको लागत सन् २०१५ को मूल्य तहअनुसार ९१ अर्ब ५७ करोड रूपैयाँ (भारु ५७ अर्ब २३ करोड) रहेकोमा हालका मूल्यअनुसार विद्युत् उत्पादन गर्न एक खर्ब २० अर्ब र प्रसारण लाइन निर्माणमा २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

लगानी बोर्ड र सतलजबीच भएको पीडीए अनुसार आयोजनाबाट नेपालले २१ दशमलव ९ प्रतिशत विद्युत निःशुल्क पाउने छ । सम्झौताअनुसार अरुण तेस्रो आयोजनाको काम सन् २०२२ सम्म निर्माण सम्पन्न गर्नुपर्नेछ। दस वर्षअघि नै भारतीय कम्पनीले अन्तरराष्ट्रिय बोलकबोलमार्फत यो आयोजनाको लाइसेन्स पाए पनि लगानी र सुरक्षाजन्य कारणले यसका निर्माण अवधि लम्बिएको छ ।
आयोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य सुरु भइसकेको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निः शुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ ।

केही समयअघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले परियोजनाको पावर हाउस निर्माणस्थलमा बम पड्काएको थियो। त्यसपछि त्यहाँको सुरक्षामा डेडिकेटेड सुरक्षा टोली खटाइएको छ ।
संखुवासभा जिल्लाको अरुण नदीमा बन्ने यो आयोजना रन अफ रिभर (नदी बहाव)मा यो आधारित योजना हो । गत वर्ष प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका बेला समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको सिलान्यास गरेका थिए । आयोजना निर्माणको क्रममा साढे ३ स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर दिइने दाबी गरिएको छ ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु