गृहपृष्ठ सेयर बजार : चैतसम्म अफसिजन, वैशाखदेखि सिजन

सेयर बजार : चैतसम्म अफसिजन, वैशाखदेखि सिजन

bull-bear-newskarobar

सेयर बजारको सबैभन्दा जटिलता भनेकै कहिले बजार प्रवेश गर्ने र कहिले निस्किने भन्ने हो । हरेक पटक सेयर धेरै बढेपछि लगानीकर्तालाई लाग्छ– ओहो ! त्यसबेला किन्न पाएको भए त मालामाल पो हुने रहेछ ! तर, विभिन्न कारण हरेक पटक नेप्सेका न्यून र उच्च विन्दु उम्किरहेका हुन्छन् ।

सामान्यतः सेयर बजारको नियमित अध्ययन गर्ने र तथ्य–तथ्यांक सुरक्षित राख्नेहरूले भने सेयरको सिजन पहिल्याउन सक्छन् । नेपालको सेयर बजारको पनि सिजन छ– चैतसम्म अफसिजन, वैशाखदेखि सिजन । तथ्यांकले यसलाई पुष्टि गर्छ । नेपालको सेयर बजारको इतिहासमा २०५८/५९ देखि हालसम्मको तथ्यांक अध्ययन गर्दा अधिकांश वर्ष सेयर बजारले वैशाखपछिका महिनाम उच्च विन्दु बनाएको पाइन्छ ।

२०७३ साउन १२ गते सेयर बजारले इतिहासकै उच्च विन्दु १८८१ को रेकर्ड बनाएको थियो । यसअघिका वर्षहरूमा २०५८ साउन १ गते, २०५९ भदौ १० गते, २०६१ असार २२ गते, २०६२ वैशाख २१ गते, २०६३ जेठ १ गते, २०६५ भदौ १५ गते, २०६६ साउन ५ गते, २०६७ साउन ५ गते, २०६९ वैशाख २६ गते र २०७१ साउन ५ गते बजार उच्च विन्दुमा पुगेका छन् । दुईवटा वर्षमात्र अफ सिजनमा २०६४ पुस २ गते र २०६९ फागुन ६ गते बजारले उचाइ लिएको उदाहरण छ ।

 

वैशाखदेखि किन बढ्छ बजार ?

वैशाखदेखि बजार बढ्नुको मुख्य कारण कम्पनीहरूको वित्तीय विवरण हो । तेस्रो त्रैमास (चैत) सम्मको वित्तीय विवरणको आधारमा कम्पनीको प्रतिफल दिनसक्ने अवस्था आंकलन गरी लगानीकर्ता बजार प्रवेश गर्ने गरेको पाइन्छ ।

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई वैशाखदेखि बजार बढ्नुको मुख्य कारण वित्तीय विवरण नै भएको बताउँछन् । कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको वित्तीय स्थिति वैशाखमा सार्वजनिक गर्ने र ९ महिनाको विवरणबाट कम्पनीको नाफा–नोक्सान तथा सम्भावित प्रतिफलको अनुमान लगाउन सकिने भएकाले वैशाखदेखि बजार बढ्ने उनको विश्लेषण छ । ‘असार मसान्त नजिकिँदै जाँदा कम्पनीबाट नाफा पाउने समय पनि नजिकिँदै जान्छ,’ उनी भन्छन्, ‘छोटो समयमा नाफा खान पाउने भएकाले पनि लगानीकर्ताले यो समयमा लगानी बढाउँदै जान्छन्, त्यसकारण वैशाखपछि सेयरको मूल्य बढ्ने गर्छ ।’

सेयर बजारमा माघदेखि चैतसम्मको समयलाई भने अफ सिजनको रूपमा लिइन्छ । राम्रा कम्पनीहरूले पुसभरमा साधारण सभा गरिसक्छन् । त्यसबेलासम्म लाभांश वितरण पनि भइसक्ने भएकाले बजार शिथिल बन्दै जान्छ । शिथिल बजारमा लगानीकर्ताको आकर्षण रहँदैन, फलतः माघ, फागुन र चैतमा बजार ओरालो लाग्छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार प्रवेश गर्न ‘गोल्डेन अवसर’

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु