गृहपृष्ठ सेयर बजार पहुँच ७७ जिल्लामा, साधारण सेयर निष्कासनमा ६७ प्रतिशत वृद्धि

सेयर बजार पहुँच ७७ जिल्लामा, साधारण सेयर निष्कासनमा ६७ प्रतिशत वृद्धि

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम

dhitopatra-board-newskarobar

चालू आर्थिक वर्षको जेठसम्ममा गत वर्षको सोही अवधिको तुलनामा साधारण सेयर निष्कासनमा ६७ प्रतिशतले वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६/७७ को धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी नीति तथा कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो ।

११ महिनामा प्राथमिक निष्कासन र ऋणपत्रको सार्वजनिक निष्कासनले फड्को मारेका कारण प्राथमिक बजारमा गत वर्षको तुलनामा केही सुधार आएको बोर्डले जनाएको छ । समीक्षा अवधिमा ५३ संगठित संस्थाले करिब ३५ अर्बबराबर पुँजी परिचालन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १६ प्रतिशतले कम हो ।

चालू आवमा सूचीकृत संगठित संस्थाले हकप्रदमार्फत गर्ने पुँजी परिचालनमा ८० प्रतिशतले कमी आएको छ । यसर्थ गत वर्ष प्राथमिक बजारमार्फत ४२ अर्ब बराबरको पुँजी परिचालन भएकोमा प्राथमिक बजारमार्फत परिचालित रकममा यो वर्ष कमी आएको दखिन्छ । यद्यपि, विगतमा निकै न्यून मात्रामा जारी हुने गरेको ऋणपत्रमा यस चालू आवमा ऋणपत्र निष्कासनमार्फत परिचालित रकममा उलेख्य वृद्धि भएकाले धितोपत्रको प्राथमिक बजारबाट हुने पुँजी परिचालन केही हदसम्म विस्तारित हुन पुगेको बोर्डले जनाएको छ ।

कुल पुँजी परिचालनमा सबैभन्दा बढी हिस्सा ५५.८६ प्रतिशत ऋणपत्र निष्कासनको छ । यस्तै यो वर्ष पनि चार म्युचुअल फन्डका चार योजनाका इकाइ निष्कासन भए पनि निष्कासन रकममा भने करिब १९ प्रतिशतको गिरावट आएको छ ।

आव २०७५/७६ को जेठसम्ममा नेप्से सूचकांक १२६९.६ अंक कायम भएको छ, जुन गत वर्षको सोही अवधिकोे तुलनामा १.७९ प्रतिशतले बढी हो । सूचीकृत कम्पनीको संख्यामा ७.१८ प्रतिशतको वृद्धि आई नेपाल स्टक एक्सचेन्जमा कुल सूचीकृत कम्पनी संख्या २०९ पुगेको छ । समीक्षा अवधिमा ९६ अर्ब ९९ करोडबराबरको धितोपत्र कारोबार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा करिब १५.८५ प्रतिशत कमी हो । हाल नेप्सेमा औसत दैनिक कारोबार रकम ४३ करोड ८९ लाख छ, यो पनि गत वर्षको तुलनामा १९.६ प्रशितले कम हो ।

समीक्षा अवधिमा दोस्रो बजारको बजार पुँजीकरण १५ खर्ब ७९ अर्ब पुगेको छ, जुन गत वर्षको तुलनामा २४.३३ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा दोस्रो बजारको बजार पुँजीकरण १२ खर्ब ७० अर्ब थियो ।

सेयर बजार पहुँच ७७ जिल्लामा
धितोपत्र तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा बोर्डले हालका वर्षहरुमा सशक्त नियमन तथा सुपरिवेक्षण भूमिका निभाउँदै आएको छ । प्राथमिक बजारमा आस्वा र सि आस्वा प्रणाली लागू गरेपश्चात ७७ जिल्लाका साथै अधिकांश स्थानीय निकायमा पनि प्राथमिक बजारको पहुँचमात्र पुगेको छैन, यो सुविधालाई लगानीकर्ताले प्रयोगसमेत गरेका छन् ।

सार्वजनिक निष्कासनमा १० कित्ता आवेदन दिन पाउने व्यवस्थाका साथै उपलब्ध भएसम्म सबै आवेदकलाई १० कित्ता सेयर पुग्ने समावेशी वितरण प्रणाली लागू गरेपश्चात काठमाडौंमा केन्द्रित लगानीकर्ता नेपालभर विस्तार हुँदै संख्या पनि बढ्दै गएको छ । अर्कोतर्फ सूचीकरणदेखि कारोबारसम्म ६ महिनाको अवधिलाई ४० दिनमा झरेकाले लागतसमेत घटन गएको छ ।

धितोपत्र बजारको सुपरिवेक्षणलाई सशक्त बनाउँदै लैजाने क्रममा धितोपत्र धितोपत्र दलाल व्यवसायी, निक्षेप सदस्य, योजना व्यवस्थापकलाई कानुनी कारबाही, धितोपत्रको सार्वजनिक निष्कासन प्रक्रियालाई थप व्यवस्थित गर्ने र धितोपत्र बजारमा हुन सक्ने सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यलाई रोक्नलाई निर्देशन जारी गर्ने जस्ता महत्वपूर्ण सुधारहरु भई धितोपत्र बजार क्रमशः आधुनिकीकरणको चरणमा प्रवेश गरेको धितोपत्र बोर्डले जनाएको छ ।

समीक्षा वर्ष २०७५/७६ मा प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्ड जस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टीकृत लगानी कोष नियमावली २०७५ लागू गरिएको, जनताको जलविद्युत कार्यक्रमको लागि विशेष कानुनी व्यवस्था, एक नेपाली एक डिम्याट खाता अभियानको सुरुवात, आयोजना प्रभावित स्थानीय व्यक्तिलाई पनि आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था, बोर्ड कार्यालयमा नियमित लगानीकर्ता प्रशिक्षण कार्यक्रम तथा रेडियो कार्यक्रमहरुको आरम्भलगायत काम भएको बोर्डले जनाएको छ ।

त्यस्तै, बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने तथा प्रदेशमा स्थानीय ब्रोकरको व्यवस्था, १० कित्ता आवेदन दिन पाउने व्यवस्था, सार्वजनिक निष्कासनमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई समेत आस्वा सुविधा प्रदान गरिएको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ जारी, धितोपत्र मार्जिन कारोबारसम्बन्धी व्यवस्था, खुलामुखी सामूहिक लगानी कोषको सुरुवात, ओईसीडीसँगको वित्तीय साक्षरतासम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन, प्रदेश १ मा प्रथम प्रादेशिक पुँजी बजार प्रदर्शनीलगायतका कामलाई बोर्डले महत्वपूर्णको सूचीमा राखेको छ ।

चार योजना व्यवस्थापकलाई कारबाही
धितोपत्र बोर्डले चार योजना व्यवस्थापकलाई पहिलो पटक कानुनी कारबाही गरेको जनाएको छ । एकपटकमा ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्बर (पान) अनिवार्य गरिएको छ ।

बजार पूर्वाधारमा १२ प्रगति
१. काठमाडौंबाहिर देशका विभिन्न आठ स्थानमा धितोपत्र दलाल व्यवसायीको सेवा विस्तार ।
२. दुई वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई मर्चेन्ट बैंकरलाई अनुमति प्रदान गर्ने ।
३. बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा प्रक्रिया अगाडि वढिरहेको ।
४. संघीय संरचना अनुसार धितोपत्र दलाल व्यवसायी थप गर्न नेप्सेलाई निर्देशन दिएको ।
५. सूचना प्रवाह सुदृढ गर्ने र स्टक डेरिभेटिभ मार्केटको विकास गर्ने नेप्सेलाई निर्देशन दिएको ।
६. अभौतिक धितोपत्रको घरायसी र मृत्यु नामसारीमा निक्षेप सदस्यहरुमार्पmत सम्भव हुने व्यवस्था गरिएको छ ।
७. २०७५ साउनबाट सार्वजनिक निष्कासनमा उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई समेत आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था गरिएको छ ।
८. २०७५ चैत ३७ देखि सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता सेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।
९. धितोपत्र बजारमा खुलामुखी सामूहिक लगानी कोषको सुरुवात ।
१०. दुई वस्तु विनिमय बजार सञ्चालन गर्ने नीतिगत व्यवस्था र नयाँ आवेदन माग ।
११. सर्किट ब्रेकरसम्बन्धी व्यस्थामा सुधार ।
१२. म्युचुअल फन्डको छुट्टै परिसूचकको गणना सुरुवात ।

आगामी वर्ष के गर्दै छ धितोपत्र बोर्ड ?
१. धितोपत्रको दोस्रो बजार कारोवारलाई विश्वसनीय बनाउन भित्री कारोवार बन्देज नियमावली बनाई लागू गर्ने कार्य अन्तिम चरणमा रहेको ।
२. वस्तु विनिमय बजारको नियमन जिम्मेवारी सहित बड्दो जिम्मेवारीलाई दृष्टिगत गरी बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन बोर्डको नयाँ संरचनाका लागि ओ एन्ड एम सर्भे भइरहेको ।
३. बोर्डको सूचना प्रविधि नीतिको स्वीकृतिको अन्तिम चरणमा रहेको र आगामी आव देखि लागू गर्ने ।
४. बैंक सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनेवारे नेराबैबाट स्वीकृत भई नेप्सेको सिफारिस प्रक्रियामा रहेको ।
५. देशको संघीय संरचना अन्र्तगत बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्दै जाने नीति अन्र्तगत बोर्डको प्रादेशिक कार्यालय स्थापनाका सम्बन्धमा बोर्डका ओ एन्ड एम सर्भे भइरहेकाले आव २०७६÷७७ मा प्रादेशिक कार्यालयको शीघ्र स्थापना गर्ने योजना रहेको ।
६. धितोपत्र व्यवसायीहरुको आन्तरिक तथ्याकं व्यवस्थापनलाई प्रभावकारी बनाउन तथ्याकं व्यवस्थापन प्रणाली खरिद गर्ने तथा धितोपत्र कारोवार सुपरिवेक्षण प्रणालीको लागि अध्ययन कार्य अगाडि बढाउने कार्य भइरहेको ।
७. म्युनिसिपल बोन्ड निष्कासनसम्बन्धी आवश्यक व्यवस्था तथा ऋणपत्र र अग्राधिकार सेयर बजार विकासको लागि अवलम्वन गरिनुपर्ने प्रोत्साहनमूलक नीतिका सम्बन्धमा अध्ययन कार्य भइरहेको ।

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु