गृहपृष्ठ एक वर्षदेखि ‘कोमा’मा सेयर बजार, लगानीकर्ताले के गर्ने ?
एक वर्षदेखि ‘कोमा’मा सेयर बजार, लगानीकर्ताले के गर्ने ?
नेपालको सेयर बजार करिब एक वर्षदेखि कोमामा छ । बजारमा ४० प्रतिशतभन्दा ठूलो गिरावट आएपछि थलिएको बजार अझै उठ्न सकेको छैन ।
सुरुवाती दिनमा नेप्सेमा सूचीकृत कम्पनीहरुको पुँजी वृद्धि नीतिका कारण हकप्रद सेयरको बाढी आएसँगै बजारमा सेयरको माग र आपूर्तिमा असन्तुलन आई ओरालो लाग्न थालेको बजार करिब दुई वर्ष घटिरह्यो । २०७३ साउनमा १८८१ अंकमा पुगेर बजारले यू-टर्न लिएको थियो ।
त्यसयता लगातार घटेको नेप्से परिसूचक ११०० अंकसम्म झ¥यो । गत फागुनमा केही आशा देखिएको बजारमा अहिले फेरि सुस्तता छाएको छ । बजार तत्काल बढ्न सक्ने कुनै छाँटकाँट छैन ।
कुनै बेला दैनिक २ अर्बभन्दा बढीको कारोबार हुने बजार साताभरमा पनि १ अर्बमात्रै नाघ्ने अवस्थामा छ । यो साता पनि बजार निकै सुस्त रह्यो । साताभरको कारोबार ९३ करोड रुपैयाँमा सीमित भएको छ । यो भनेको औसत करिब १८ करोड रुपैयाँ हो । अघिल्ला हप्ताहरुको अवस्था पनि यस्तै दयनीय छ ।
अनलाइन कारोबारको औपचारिक सुरुवात गर्दै गत वर्ष कात्तिकमा नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले नेपालको सेयर बजारको आकार दैनिक ५ अर्ब रुपैयाँबराबरको भइसकेको बताएका थिए । अनलाइन कारोबार सुरु भएको एक वर्ष बित्दै गर्दा न पूर्ण अनलाइन कारोबार सञ्चालनमा आउन सक्यो न त बजारले कुनै रुप फेर्न सक्यो ।
मुख्य कारण ब्याजदर
सेयर बजार लामो समय ‘प्यानिक’ हुनुको कुनै ठूलो कारण भने छैन । हकप्रद सेयरको भारी सेटल भइसकेको छ । यसबीचमा वाणिज्य बैंकहरुले जारी गरेको करिब ६० अर्बको ऋणपत्रको केही प्रभाव बजारमा परे पनि त्यो क्षणिक मात्र हो । तर बजार उठ्ने छाँटकाँट देखिँदैन ।
सेयर विश्लेषकहरु बजार उठ्न नसक्नुको मूल कारण बैंकको ब्याजदर ठान्छन् । अहिले पनि बैंकको ब्याजदर १५ प्रतिशतभन्दा माथि छ । दसैंपछि बैंकिङ क्षेत्रले उच्च तरलता अभावको समस्या झेल्न थालिसकेको छ । त्यसको सीधा असर ब्याजदरमा पर्ने र उच्च ब्याजदरको सीधा प्रभाव सेयर बजारमा पर्छ । यसकारण पनि जबसम्म तरलता अभावको समस्या समाधान हुँदैन, सेयर बजारले सकारात्मक गति समात्दैन ।
के छ तरलताको स्थिति ?
बैंकहरु दसैंअघि देखि नै तरलताको चपेटामा परिसकेका थिए । अहिले यो अवस्था झन् जटिल बन्दै गएको छ । तलरता संकट गहिरिँदै जानुको मुख्य कारण पुँजीगत बजेट खर्च नहुनु हो । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश अर्याल तरलता संकट तत्काल समाधान हुने गुन्जायस नै देख्दैनन् । ‘पुँजीगत बजेट खर्चको अवस्था दयनीय छ,’ उनले भने, ‘तीन तहका सरकारले पुँजीगत बजेट खर्चमा उच्च सुधार नगरी तरलता संकट समाधान हुने देखिँदैन ।’
गत वर्ष विभिन्न कारण देखाउँदै न्यून पुँजीगत खर्चको विगतदेखिको सिलसिलालाई कायम राखेको वर्तमान दुई तिहाइ सरकारले चालू आवमा पनि खर्च बढाउन संकेत देखिएको छैन । चालू वर्षको सुरुवाती महिनाको खर्च स्थितिले यसलाई स्पष्ट पारिसकेको छ । प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि खर्च गर्न सकेका छैनन् । खर्च नबढी तरलता संकट समाधान नहुने भएकाले ब्याजदरमा उच्च दरमा रहिरहने निश्चित छ ।
सेयर लगानीकर्ताले के गर्ने त ?
लामो समयदेखिको बजारको स्थितिले लगानीकर्ता निराश भइसकेका छन् । बजार बढ्ला र ऋण तिरौंला भन्दा भन्दै ब्याजदरले किचेर धेरै लगानीकर्ता ‘डेट ट्रयाप’को अवस्थामा छन् । उच्च ब्याजदरका कारण ठूला र संस्थागत लगानीकर्ता बजारमा प्रवेश गर्ने आँट गरिरहेका छैनन् ।
तर, यो आत्तिने समय होइन । अहिले नेप्सेमा सूचीकृत कम्पनीहरुको मूल्य अत्यन्तै तल छ । कतिपय कम्पनीको मूल्य आईपीओको मूल्यआसपास झरिसकेको छ । अधिकांश हाइड्रोपावर कम्पनीको मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा तल छ । बजारका लिडर कम्पनीहरु एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्डड, नेपाल लाइफ इन्स्योरेन्सलगायतको मूल्य ८०–८५ प्रतिशतसम्म ओर्लिएको छ । यस्तो अवस्थामा आफूसँग भएको बचतको उच्च सदुपयोग गर्दै सस्तो मूल्यमा सेयर उठाउनु नै हितकर हुनेछ, चाहे थोरै थोरै कित्ता नै किन नहोस् ।
सेयर बजार जहिल्यै उतारचढावको स्थितिमा रहन्छ । यो बजारको विशेषता नै हो । त्यसैले बजार उच्च विन्दुमा हुँदा मात्तिने र न्यून विन्दुमा हुँदा आत्तिने गर्नु हुँदैन । स्वास्थ्यका दृष्टिले पनि यो राम्रो होइन । तसर्थ लगानीकर्ताले बजारको हल्लाभन्दा कम्पनीका वित्तीय विवरण अध्ययन गरी राम्रो प्रगति गरेका कम्पनीको सस्तोमा सेयर खरिद गर्ने अवसर नगुमाउनु नै अहिलेको लागि श्रेयष्कर हुनेछ ।
प्रकाशित समय १७:१२ बजे

















