गृहपृष्ठ सेयर बजार : राष्ट्र बैंकको अस्थिरताको सिकार
सेयर बजार : राष्ट्र बैंकको अस्थिरताको सिकार
मौद्रिक नीति समीक्षामा मार्जिन लेन्डिङ सीमा पुनरावलोकनको चर्चा नै 'बेमौसमी बाजा'
नेपालको सेयर बजार पटक‑पटक राष्ट्र बैंकको अस्थिरताको सिकार बन्ने गरेको छ । यसपटक पनि मौद्रिक नीति समीक्षाका क्रममा ‘सेयर धितो कर्जामा पुनरावलोकन गर्ने‘ बताएपछि सेयर बजार एकैदिन १२३ अंकले मात्र घटेन, साताभर बजारमा निरासा देखियो भने कारोबार रकममा पनि उल्लेख्य गिरावट आयो । साताभरमा सेयर बजार ९१ अंकले घट्यो भने कारोबार रकम ३०.५ प्रतिशतले ओरालो लाग्यो ।
२०७३ साल साउनदेखि लगातारजसो ओरालो लागेको बजारले आशाको सञ्चार गरिरहेका बेला राष्ट्र बैंकको मौद्रिक समीक्षामा आएको ‘मार्जिन लेन्डिङ पुनरावलोकन‘को हतारोले लगानीकर्ता अल्मलिए । अत्यन्तै संवेदनशील मानिने सेयर बजार मौद्रिक नीतिमाथिको समीक्षासँगै ठूलो अंकमा ओरालो लागेपछि लगानीकर्ता आक्रोशित बने । उनीहरुले राष्ट्र बैंकका गभर्नरलाई पत्र नै लेखेर विरोध जनाए ।
राष्ट्र बैंकले आजै वा भोलि नै पुनरावलोकन गर्ने नभनेको र वित्तीय स्थायित्वमा असर पर्न गएमा मात्र पुनरावलोकन गर्ने भनेको भन्दै लगानीकर्तालाई आश्वस्त बनाउन खोज्यो । सेयर बजार अस्वाभाविक रूपमा घट्दा वा बढ्दा वित्तीय स्थायित्वमा असर पर्न सक्ने र त्यस्तो स्थिति आएमा मार्जिन लेन्डिङको सीमा परिवर्तन गर्नुपर्ने हुन्छ मात्र भनिएको राष्ट्र बैंकको प्रतिक्रिया छ ।
राष्ट्र बैंकले तीन महिनाअघि मात्रै सेयर धितो ऋण ६५ प्रतिशतबाट ७० प्रतिशतसम्म पाइने व्यवस्था गरेको छ । कोरोनाभाइरस महामारीका कारण लगानीका सबै क्षेत्र संकुचित भएपछि बैंकहरूलाई सहज बनाउन पनि मार्जिन लेन्डिङ सीमा बढाइएको थियो । विश्लेषकहरूले मौद्रिक समीक्षामा मार्जिन लेन्डिङ सीमा पुनरावलोकनको चर्चा गर्नु नै ‘बेमौसमी बाजा‘ भएको बताएका छन् ।
साताको पहिलो दिन आइतबार २०५५.४५ अंकबाट कारोबार सुरु भएको सेयर बजार बिहीबार १९६४.०२ अंकमा झरेको छ । गत साता १६२ अंक बढेको बजार यो साता ९१.४३ अंकले घटेको हो । कतिपयले भने यसलाई करेक्सन भनेका छन् ।
लगातार बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेकाले बजार घटेको उनीहरूको टिप्पणी छ । राष्ट्र बैंकले मौद्रिक समीक्षामा ‘पुनरावलोकन‘को चर्चा नगरेको भए बजारमा एकैपटक पहिरो नजानेमा भने उनीहरू सहमत छन् ।
त्यस्तै, गत साता ४० अर्ब ९८ करोड रुपैयाँबराबरको सेयर खरिद‑बिक्री भएको बजारमा यो साता २८ अर्ब ४८ करोड रुपैयाँबराबरको सेयर खरिद‑बिक्री भएको छ । कारोबार रकम गत साताको तुलनामा ३०.५ प्रतिशत अर्थात् १२ अर्ब ५० करोड रुपैयाँ कम हो । बिहीबार नेप्सेको कुल बजार पुँजीकरण पनि १ खर्ब २२ अर्ब रुपैयाँ घटेर २७ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ ।
जरुरी थियो ?
लगानीका अन्य क्षेत्र संकुचित भएका बेला बैंकहरूले मार्जिन कर्जा प्रवाह गरेर भए पनि व्यवसाय गर्न खोजेका छन् । नबिल, एनआईसी एसियालगायतका बैंकहरू पनि ब्याजदरमा प्रतिस्पर्धा नै गरेर सेयर लगानीकर्ता आकर्षित गरिरहेका छन् । बैंकहरूले ब्रोकर कार्यालयमा कर्मचारी पठाएर ठूला लगानीकर्तालाई पठाइदिन आग्रह गरिरहेका छन् । यस्तो परिस्थितिमा मार्जिन कर्जा सीमा पुनरावलोकनको चर्चा गर्नु नै बेकार भएको एक बैंकर बताउँछन् ।
सेयर बजार विश्लेषक रविन्द्र भट्टराई संसारमा नियामक कहिल्यै हल्ला गरेर नहिँड्ने बताउँछन् । ‘अझ सेयर बजार अति संवेदनशील हुन भएकाले पहिल्यै विचार गरेर नीतिगत निर्णय बाहिर ल्याइन्छ,‘ उनी भन्छन्, ‘तर हामीकहाँ हल्ला गर्दै हिँड्ने परिपाटी छ, यो धेरै खराब प्रवृत्ति हो ।‘
बजार बढ्यो भने घटाइहाल्न खोज्ने अनि घट्यो र रुवाबासी गर्दै गयो भने बढाइदिने नीति सेयर बजारका लागि घातक रहेको उनले बताए । अहिले बैंकहरूले सीमाभित्रै रहेर पनि ठूलो भोल्युममा मार्जिन कर्जा प्रवाह गर्न सक्ने विश्लेषक भट्टराईको भनाइ छ । ‘बैंकहरूले अहिले पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै कममात्र सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्,‘ उनी भन्छन्, ‘हतारमा ७० प्रतिशतको सीमा पुनरावलोकन गर्छु भन्नु लगानीकर्तालाई आतंकित पार्न खोज्नुमात्र हो ।‘
अर्को कुरा ऋणको सीमा घटाउन पनि समय दिनुपर्ने भएकाले हतारमा पुनरावलोकन हुनै नसक्ने उनको टिप्पणी छ । ‘नयाँ ऋणको लागि समस्या भएन तर पुरानो ऋणको लागि त समय सीमा चाहियो, पुरानो लोनको सीमा पुनरावलोकनका लागि कम्तीमा एक वर्ष समय हुनुपर्छ,‘ उनी भन्छन्, ‘नियामकले बजारको अवस्था नबुझी हल्ला गरिदिँदा धेरै समस्या हुने गरेको छ ।‘
यो पनि पढ्नुहोस्
सेयर बजार ह्वात्तै बजार बढ्नुको कारण के ? कहाँबाट आयो पैसा ?
प्रकाशित समय ०७:५९ बजे

















