गृहपृष्ठ नेप्से ३२ अंकले बढ्यो, ८७ करोडको कारोबार

नेप्से ३२ अंकले बढ्यो, ८७ करोडको कारोबार

nepal-stock-sunday8-newskarobar

सेयर बजार परिसूचक नेप्से आइतबार ३२ अंकले बढेको छ । नेप्सेमा सूचीकृत उत्पादनमूलकबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ३२.२४ अंकले बढेर ११९८.१८ अंकमा पुगेको छ ।

निर्जीवन बिमा समूह सबैभन्दा धेरै ५.९७ प्रतिशतले बढेको छ । लघुवित्त ४.८२, जीवन बिमा ४.५७, होटल ३.७४, बैंक २.४३, अन्य २.३८, जलविद्युत २.१८, विकास बैंक १.९५ र वित्त समूह ०.८३ प्रतिशतले उकालो लागेका छन् ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आइतबार १६४ कम्पनीको ८७ करोड ५५ लाखबराबरको २८ लाख १२ हजार २१२ कित्ता सेयर खरिद–बिक्री भएको छ । यो रकम गत साताको अन्तिम कारोबार हुने दिन बिहीबारको भन्दा दोब्बर बढी हो । बिहीबार ४० करोड ११ लाखको सेयर किनबेच भएको थियो ।

आइतबार आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र कालिका लघुवित्तको सेयर १० प्रतिशत बढेको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, सिभिल लघुवित्त, लक्ष्मी लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, ग्लोबल आइएमई लघुवित्तलगायत कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लाग्यो ।

मुद्रा तथा पुँजी बजार अध्ययनका लागि अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै वाणिज्य बैंकहरुले ब्याजदर घटाउन गरेको भद्र सहमति कार्यान्वयनमा ल्याउन थालेपछि लगानीकर्तामा उत्साह छाएको हो । वाणिज्य बैंकहरुसँग विकास बैंक र वित्त कम्पनीहरुले पनि ब्याजदर घटाएका छन् । ब्याजदर र सेयर बजारबीच उल्टो सम्बन्ध हुने भएकाले बजारले सकारात्मक गति लिन सक्ने सेयर विश्लेषकहरु बताउँछन् ।

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु