गृहपृष्ठ जनकपुरका पिछडिएका वस्तीमा सेनाले बनाइदियो शौचालय र खानेपानी

जनकपुरका पिछडिएका वस्तीमा सेनाले बनाइदियो शौचालय र खानेपानी

खुल्ला दिसामुक्त क्षेत्रका लागि सेनाको सहयोग

nepal_army_made_toylet

जनकपुरधाम उपमहानगरपालिका-७ का अति पिछडिएका ५ सय दलित घरपरिवारका लागि नेपाली सेनाले सार्वजानिक शौचालय निर्माण र खानेपानीको व्यवस्था गरिदिएको छ ।

निकै नै पिछडिएकामध्ये मुसहर, डोम, दुसाध, मेस्तरहरुको वस्ती रहेकाले शौचालय अभावका कारण खुल्ला चौरमा शौच हुँदै आएको थियो । नेपाली सेनाले उनीहरुकै वस्तीमै गएर गुठीको जग्गामा सार्वजानिक शौचालय र खानेपानी बनाई दिएपछि स्थानीय खुशी भएका छन् ।

स्थानीय ४५ वर्षीय विनोद सादा भन्छन्- ‘हामीलाई शितलहर र वर्षातमा शौचका लागि निकै समस्या हुँदै आएको थियो । पुरुषहरु जसो तसो शौच गर्न खुल्ला स्थानमा टाढा टाढा गए पनि महिला र बालबालिकाहरु वस्ती वरिपरी नै शौच बस्न बाध्य थिए । नेपाली सेनाले शौचालय र खानेपानीको व्यवस्था गरिदिएपछि खुशी लागेको छ ।’

मेस्तरको काम गर्दै आएकी लक्ष्मीनियाँ सादा शौचालय निर्माण गर्नुपर्छ भन्ने थाह हुँदाहुँदै पनि आर्थिक अवस्थाका कारण निर्माण गर्न नसकेको बताउँछिन् । ‘हामीलाई थाहा छ दिसापिसाव शौचालयमै गर्नुपर्छ,’ उनले भनिन्, ‘तर, बस्ने ठाउँको अभावका साथै आर्थिक अवस्था कमजोर भएकाले बस्ने घर बनाउने कि शौचालय बनाउने ? त्यसैले बुझेर पनि बाध्यताले खुल्ला ठाउँमा शौच गरि रहनुपरेको थियो ।’

नेपाली सेनाले शौचालय निर्माण गरिदिएपछि उनी पनि दंग छिन् । सेनाले आफ्नै वस्तीको सार्वजानिक जग्गामा शौचालय र खानेपानी निमार्ण गरिदिएपछि शौच गर्न सजिलो हुने उनले बताइन् । गाउँमा ५ सय घरपरिवार भए पनि कसैको घरमा शौचालय नभएको उनले बताइन् ।

वडा अध्यक्षलाई खानेपानीसहितको शौचालय हस्तान्तरण

जनकपुरधाम उपमहानगरपालिका-७ का दलित वस्तीमा सार्वजानिक शौचालय र खानेपानी निमार्ण गरी नेपाली सेनाले आइतबार हस्तान्तरण गरेको छ । जनकपुरधाम-७ का वडा अध्यक्ष जानकी राम साहलाई गोरखनाथ गण महेन्द्रनगरका गणपति भोला पाण्डेले शौचालयको चाँसो हस्तान्तरण गरेका हुन् ।

नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटरको २ लाख ३० हजारको आर्थिक सहयोगमा गोरखनाथ गणको प्रयासमा सार्वजानिक शौचालय र खानेपानीको निमार्ण गरी दलित वस्तीका लागि हस्तान्तरण गरिएको हो ।

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु