गृहपृष्ठ पर्यटकको सत्कारका लागि कति तयार छ पोखरा ?

पर्यटकको सत्कारका लागि कति तयार छ पोखरा ?

pokhara-tourism-newskarobar

पोखरा, गण्डकी प्रदेशको राजधानीभन्दा बढी पर्यटकीय नगरी भनेर चिनिन्छ । यसको मुख्य कारण हो- प्रकृतिका अनुपम उपहारले सजिएको यसको भू-वनोट । पोखराका तालतलैया, हिमशृंखला, हावापानी सबै प्रिय लाग्छन् । प्राकृतिक तालतलैयाले भरिपूर्ण पोखराका सेती नदीको खोंचदेखि पातले छाँगोसम्मले रोमाञ्चित बनाउँछन् ।

अब पोखराको महिमा प्राकृतिक मनोरम दृश्यको वर्णनले मात्र पूरा हुँदैन । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदै गर्दा पोखराको सम्भावना अझ उजागर हुँदैछ । विमानस्थल बनिसक्न अझ दुई वर्ष बाँकी छ । पोखरा अहिल्यै विदेशी पर्यटकलाई स्वागत गर्न आतुर छ ।

पोखरामा होटल क्षेत्रको लगानी दिन दुई गुना रात चौगुनाले बढेको छ । दुई वर्षमै ६१ वटा पर्यटक स्तरीय होटल तथा लज थपिएका छन् । ती होटलमा करिब ५५ करोडभन्दा बढी लगानी छ । होटल क्षेत्रमा बढ्दो लगानी गुणस्तरीय पर्यटक लक्षित रहेको पर्यटन कार्यालय पोखराका अधिकृत सालिकराम रेग्मी बताउँछन् । उनका अनुसार पोखरामा अहिले ४३५ वटा पर्यटक स्तरीय होटल तथा लज सञ्चालनमा छन् ।

पोखरामा होटल क्षेत्रको लगानी अर्बौंमा छ । तर, व्यवसायीले कम लगानी देखाउने भएकाले यकिन तथ्यांक थाहा हुन नसक्ने पर्यटन कार्यालय बताउँछ । व्यवसायीले कम राजस्व तिर्नका लागि कम लगानी देखाएका हुन् । पर्यटन कार्यालय पोखराको तथ्यांकमा न्यूनतम १५ लाखदेखि ५ करोड रुपैयाँसम्म लगानीका होटलमात्र देखिन्छन् । तर, पोखरामा एउटै होटलमा अर्बसम्म लगानी भएको पाइन्छ । स्विस इन्टरनेसनल होटलमै एक अर्बभन्दा बढी लगानी भएको छ ।

पोखरामा पर्यटनको उच्च सम्भावना देखेर नै निजी क्षेत्रकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सन् २०२१ देखि अन्तर्राष्ट्रिय उडान सुरु गर्न अहिल्यैदेखि तयारी तीव्र पारेको छ । बुद्ध एयरले चीन र भारतका विभिन्न सहरमा पोखराबाट उडान भर्ने गरी तयारी अघि बढाएको हो । ‘पोखराको पर्यटन सम्भावना उच्च भएर नै हामीले सम्पूर्ण तयारी त्यहाँ केन्द्रित गरेका हौं,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत भन्छन्, ‘बुद्ध एयरले पोखराबाट भारत र चीनका पाँँच-पाँच सहरमा उडान भर्नेछ ।’ पोखराले अब पर्यटकको स्वागत तथा सत्कारका लागि तयार हुन ढिलाइ गर्न नहुने उनी बताउँछन् । प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘दैनिक हजारौं विदेशी पर्यटकको पोखरामा सीधा अवतरण हुन थाल्नुअघि नै पोखरा सबै हिसाबले तयार भइसक्नुपर्छ ।’

पोखरा विमानस्थल निर्माण सम्पन्न हुँदै गर्दा अन्य क्षेत्रीय वायु सेवा कम्पनीले पनि पक्कै पोखरा उडानमा रुची राख्नेछन् । यसले पोखरामा पर्यटक आगमन वृद्धिदर उच्च हुने सहजै अनुमान गर्न सकिन्छ । तर, पोखरामा पर्यटकको बसाइ लम्ब्याउने ठाउँहरु भने छैनन् । एकथरी पर्यटनविदहरु अहिले नै पोखराको पर्यटकीय गतिविधि चरमविन्दुमा पुगिसकेको बताउँछन् । पोखरा वरपरका पर्यटकीय सम्भाव्यताहरुको पहिचान र प्रवर्धन हुन नसक्दा पर्यटकीय गतिविधि साँघुरिँदै गएको छ । पोखरा आउने पर्यटक बढीमा घान्द्रुक वा अन्नपूर्ण पदयात्रा मार्गमा अल्मलिन्छन् । हाल चिनिएका सीमित गन्तव्यलाई विस्तार नगर्ने हो भने अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि आज पर्यटक आएर भोलि फर्कने खतरा पनि उत्तिकै छ ।

प्रदेश सरकारको कस्तो छ तयारी ?
पोखरामा दुई वर्षपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आगमन ठूलो मात्रामा बढ्न सक्ने स्थितिलाई मध्यनजर गरेर प्रदेश सरकारले पनि बलियो तयारी थालेको छ । अहिले वार्षिक ३-४ लाख विदेशी र ७-८ लाख स्वदेशी गरी करिब १०-१२ लाख पर्यटकले पोखरा भ्रमण गर्छन् । प्रदेश सरकारको लक्ष्य त्यसलाई २० लाख पु-याउनेछ ।

गण्डकी सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल गुणस्तरीय पर्यटकको संख्या बढाउन र आएका पर्यटकलाई व्यवस्थित गर्न सरकार गम्भीरता साथ लागेको बताउँछन् । ‘हामीले गण्डकी प्रदेशको पर्यटनलाई उच्च प्राथमिकतामा राखेका छौं,’ उनी भन्छन्, ‘पर्यटन नै समृद्धिको आधार मूल नारा लिएबाट पनि यो प्रस्ट हुन्छ ।’

गण्डकी सरकारले पर्यटक आगमन बढ्दै जाँदा तिनको व्यवस्थापनको क्षमता पनि विस्तार गरिसक्ने मन्त्री लम्सालको भनाइ छ । सन् २०२१ पछि पोखरा सिधै अन्तर्राष्ट्रिय सहरहरुसँग जोडिने भएकाले प्रदेश सरकारले त्यही अनुसार तयारी अघि बढाइसकेको उनले बताए । पर्यटकको बसोबासका लागि होटल, लज तथा होमस्टे, खाद्यान्नका लागि स्थानीय उत्पादन वृद्धि तथा बसाइ लम्ब्याउन पर्यटकीय क्षेत्रहरुको स्तरोन्नतिमा सरकार एकसाथ जुटेको उनले जानकारी गराए ।

स्थानीय कृषि उत्पादन बढाउन प्रदेश सरकारले ७ सय कृषकलाई अनुदान वितरण गरेको छ । कृषकलाई तरकारी उत्पादन, कुखुरापालन, माछापालन, बाख्रापालन, दूध उत्पादनका लागि गाईभैंसीपालनका साथै अन्न तथा गेडागुडी उत्पादनमा केन्द्रित गराउँदै अनुदान प्रदान गरिएको हो । ‘दुई वर्षभित्र गण्डकी प्रदेशमा जतिसुकै पर्यटक भित्रिए पनि आन्तरिक उत्पादनले नै थेग्ने गरी प्रदेश सरकारले काम अघि बढाएको हो,’ पर्यटनमन्त्री लम्साल भन्छन्, ‘यो अवधिमा हामी दैनिक २५ हजार पर्यटक राख्न सक्ने गरी क्षमता विकास गरिसक्छौं ।’

प्रदेश सरकारले पर्यटक स्तरीय होटल तथा लजका साथै ग्रामीण पर्यटन प्रवर्धनका लागि होमस्टेमा पनि विशेष जोड दिएको छ । अहिले पनि गण्डकी प्रदेशभर २७३ वटा होमस्टे सञ्चालनमा छन् । पर्यटक व्यवस्थापनका लागि सरकारले प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहसँग समन्वय गरिरहेको छ । ‘आन्तरिक पर्यटकको चहलपहल बढाउन आउँदो दसैंदेखि नै प्रत्येक स्थानीय तहलाई महोत्सव आयोजना गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘दसैं विशेष महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा उपभोगमा सहजता ल्याउने अपेक्षा छ ।’

प्रदेश सरकारले दुई वर्षपछि गण्डकी प्रदेशमा पर्यटक आगमन संख्यामा उच्च वृद्धि हुने विश्वासका साथ सडक निर्माण तथा स्तरोन्नतिलाई विशेष प्राथमिकता दिएको छ । अहिलेको ३३५ किलोमिटर कालोपत्रे सडकलाई सन् २०२२ भित्रमा ५ हजार किमी पु-याउने प्रदेश सरकारको योजना छ । ‘मध्यपहाडी राजमार्गलगायतका ठूला सडकलाई केन्द्र सरकारले तीव्रता दिन्छ नै,’ पर्यटनमन्त्री लम्सालले भने, ‘हामी ५ हजार किमी सडक कालोपत्रे गर्ने र सबै स्थानीय तहमा मोटरबाटो पु-याउनेमा ध्यान केन्द्रित गर्छौं ।’

२४ लाख ३ हजार जनसंख्या रहेको प्रदेशका सबै घरमा खानेपानी र बिजुली पु–याउन प्रदेश सरकार लागिपरेको छ । ‘कसरी हुन्छ हामी सबै नागरिकलाई उज्यालो दिन्छौं,’ उनले भने, ‘हरेक घरमा पानीका धारा झुन्ड्याउँछौं ।’

पर्यटकलाई घुम्ने स्थलको कुनै अभाव हुन नदिने गरी गण्डकी प्रदेश सरकारले प्याकेजमै पर्यटकीय क्षेत्रको विकास गर्दैछ । गोरखाका मनकामना र गोरखा दरबार, मनाङको तिलिचो ताल र म्याग्दीका तातोपानी कुण्डलाई केन्द्रमा राखेर प्रदेश सरकारले पर्यटन प्रवर्धन गर्नेछ । पर्वतमा बञ्जी र -याफ्टिङ तथा मुस्ताङमा पदमार्ग निर्माण गरी पर्यटकलाई अल्मल्याउने सरकारको तयारी छ । ‘लमजुङलाई होमस्टेको राजधानीको रुपमा विकास गर्छौं,’ मन्त्री लम्साल भन्छन्, ‘नवलपुरको थारु संस्कृति र जंगल सफारीले पर्यटक लोभ्याउँछौं ।’

‘ग्लोरियस गण्डकी’ निर्माण गर्ने अभियानमा जुटेको गण्डकी सरकारको योजना यतिमा सीमित छैन । गण्डकी सरकारले पर्यटन प्रवर्धनकै लागि विश्वका १११ देशमा ‘अवैतनिक राजदूत’ नियुक्त गर्दै छ । ‘ती देशमा रहेका गैरआवासीय नेपालीलाई राजदूत नियुक्त गर्नेछौं,’ मन्त्री लम्साल भन्छन्, ‘सामाजिक जीवनको मूल्य बुझ्ने र मुलुकका लागि योगदान गर्न चाहने गैरआवासीय नेपालीलाई अवैतनिक राजदूत नियुक्त गर्नेछौं, जसबाट बाह्य पर्यटन प्रवर्धनमा राम्रो भूमिका निर्वाह होस् ।’

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु