गृहपृष्ठ चार सामुदायिक वनलाई समेटेर राइनो पार्क बनाइँदै
चार सामुदायिक वनलाई समेटेर राइनो पार्क बनाइँदै
पश्चिम चितवनका चार मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनो पार्कका रूपमा विकास गरिने भएको छ । प्रदेश ३ को एक जिल्ला एक पर्यटकीय गन्तव्यमा समेटिएको मेघौली पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।
राप्ती र नारायणी नदीको संगमस्थलसँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मेघौलीमा दुर्लभ वन्यजन्तु बाघ र गैँडा अवलोकनका लागि पर्यटक आउने गर्छन् । हात्ती चढेर दुर्लभ वन्यजन्तु अवलोकनका लागि बढी पर्यटक आउने गर्छन् । क्षेत्र नं ३ का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलका अनुसार प्रदेश सभाले जिल्लामा मेघौलीलाई पर्यटकीय गन्तव्यका रूपमा छानेको छ ।
यससँगै यहाँको पर्यटकीय प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट प्राप्त हुने उनले जानकारी दिए । भुर्तेलका अनुसार मेघौलीको सदाभार, मालिका, राधाकृष्ण र हरियाली राप्ती तथा बेतरी मध्यवर्ती सामुदायिक वनलाई समेटेर मेघौली राइनो पार्कका रूपमा विकास गर्न लागिएको छ ।
मेघौली विमानस्थल नजिकै राइनो पार्क क्षेत्रको प्रवेशद्वारमा ३० फिट अग्लो गैँडाको मूर्ति बनाइँदै छ । मूर्तिभित्र दुई तला हुनेछन् । तिनमा पर्यटन सूचना केन्द्र र संग्रहालय रहने उनले जानकारी दिए । यसै महिनाको ३० गते शिलान्यास गरेर काम अघि बढाइँदै छ । २ करोड ५० लाख रुपैयाँ खर्च गरी मूर्ति र भित्री संरचना निर्माण गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार राइनो पार्क झन्डै ५५० बिघा क्षेत्रमा फैलनेछ । पार्कमा थारू संग्रहालय, जैविक विविधता सूचना केन्द्र, वन्यजन्तु उद्वार केन्द्र, हात्तीसार, निकुञ्ज प्रवेश टिकट घर, बेतरी खोलामा ५ सय मिटरसम्मको डुंगा सयर, बाघ, गैँडा र चरा हेर्न दृश्यावलोकन स्तम्भ रहेका छन् । यससँगै १५ फिट अग्लो र चार फिट चौडाको क्यानोपिक वाक निर्माण गरिँदै छ । सुवेदीका अनुसार फलामको फ्रेममाथि काठ राखेर बार्दलीजस्तो बनाएर क्यानोपिक वाक निर्माण गरिनेछ ।
झन्डै एक किलोमिटर लामो त्यसै ठाउँमा हिँडेर पर्यटकले दुर्लभ वन्यजन्तु अवलोकन गर्न सक्नेछन् । सोका कारण वन्यजन्तुबाट कुनै दुर्घटना नहुने र पर्यटक रमाउने अपेक्षा गरिएको छ । सुवेदीले यो नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको जानकारी दिए । पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र भएर पनि प्रचारप्रसारको अभावमा मेघौली पछि परेको छ । मेघौलीमा ठूला-साना १० पर्यटकीय होटलमा २७३ को क्षमता रहेको छ ।
सुवेदीका अनुसार गत वर्षको तथ्यांकलाई हेर्दा मेघौलीमा वार्षिक ११ हजार विदेशी र सात हजार हाराहारी नेपाली पर्यटक आउने गरेका छन् । निकुञ्जभित्रको होटल टाइगरटप्स बन्द भएसँगै बाहिरको हात्तीपोलो खेल पनि बन्द भएको छ । यससँगै मेघौली थप ओझेलमा परेको हो । पछिल्लो समय मेघौलीमा नयाँपन दिन स्थानीयवासी लागिपरेका छन् । (रासस)
प्रकाशित समय १५:४६ बजे

















